नेभिगेशन
प्रदेश

वीरगञ्ज बजारमा चहलपहल सुरु

वीरगञ्ज, ३० भदौ - भ्रष्टाचार विरुद्ध जेनजी पुस्ताका आन्दोलनका कारण बन्द रहेको वीरगञ्ज बजारमा चहलपहल सुरु भएको छ । गत भाद्र २४ गते युवाहरूको आन्दोलनले हिंसत्मक रूप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा तथा कर्फ्यु आदेश जारी गरेको थियो ।

विकसित घटनाक्रमले सृजना गरेको तनावपूर्ण स्थिति नियन्त्रणमा आउन थालेपछि प्रशासनले विभिन्न चरणमा खुकुलो पार्दै निषेधाज्ञा हटाइएको छ भने रातको समयमा कर्फ्यु आदेश जारी गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय पर्साले एक विज्ञप्ति जारी गर्दै स्थिति सामान्य बन्दै गएको हुँदा सर्वसाधारणको दैनिकीलाई सहज बनाउन निषेधाज्ञा हटाइएको र अर्काे सूचना जारी नभएसम्म राति ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु यथावत् रहेको बताएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालयले शान्ति–सुव्यवस्था कायम राख्न र जनताको जीउधन तथा सार्वजनिक सम्पत्तिको संरक्षणका लागि सबै जिल्लावासीलाई आदेशको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरेको छ ।

युवाहरूको आन्दोलन र अनिश्चित बजार बन्दले साना व्यापारी तथा पसलेहरू चिन्तित थिए, तर निषेधाज्ञा हटेको सूचनाले उनीहरूमा खुशियाली छाएको छ । केहीवर्ष यतादेखी बजार चलायमान हुन सकिरहेको बेला चाडवाडमा भने केही आम्दानी हुने आशा उनीहरूले लिएका छन् । यता छोटो तथा लामोदुरीका सवारीसाधनहरू पनि संचालनमा आउन थालेको छ ।

यस्तै मुलुकमा भएको राजनीतिक परिवर्तनका कारण अझैपनि ढुक्क हुने अवस्था नरहेको हुँदा जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । वीरगञ्जको मुख्य सडकहरूमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी खटाइएको छ ।

टेलिकम कार्यालयमा तीन करोडको क्षति

जेनजी पुस्ताको प्रदर्शनमा भएको तोडफोड तथा आगलागीका कारण वीरगञ्जको नेपाल टेलिकम कार्यालयमा ३ कराडको क्षति भएको छ । युवाहरूद्वारा गरिएको भ्रष्टाचारविरुद्धको आन्दोलनमा विभिन्न सरकारी कार्यालयहरूमा ठूलो क्षति पुगेको थियो ।

यस्तै वीरगञ्जमा समेत भएको उनीहरूको आन्दोलनमा टेलिकम कार्यालयमा क्षति पुगेको हो । प्रदर्शनको पहिलो दिन २० जना विधार्थीले ज्यान गुमाएपछि दोस्रो दिन भएको हिंसात्मक प्रदर्शनमा वीरगञ्जको मुख्य सडक घण्टाघरस्थित नेपाल टेलिकमको कार्यालय पहिलो निशाना बनेको थियो ।

आगलागी तथा तोडफोडका कारण कार्यालयका महत्त्वपूर्ण उपकरणहरू जस्तै कम्प्युटर, प्रिन्टर र अन्य संवेदनशील सामग्रीमा क्षति भएको छ । विशेषगरी महसुल काउन्टरमा ठूलो क्षति पुर्‍याउनुका साथै लुटपाटसमेत भएको टेलिकमले जनाएको छ । यसैबिच नेपाल टेलिकमले एक सूचना जारी गर्दै लुटिएको सामग्रीहरू फिर्ता गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्