नेभिगेशन
प्रदेश

प्रमुख प्रशासकीय अधिकृत फिर्ता गर्न पत्र

सप्तरी, ३० भदौ - जेनजी आन्दोलनले भ्रष्टाचार तथा बेथितिविरुद्ध आवाज बुलन्द गरेको भए पनि स्थानीय सरकारमा काम गर्ने शैलीमा परिवर्तन नआएको झल्को सप्तरीको शम्भुनाथ नगरपालिकामा एक घटनाले देखाएको छ । नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतलाई नपठाउन कार्यवाहक नगरप्रमुखले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई लेखिएको पत्रले चर्चा पाइरहेको छ ।

२०७९ सालको निर्वाचनलगत्तै भ्रष्टचार मुदामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा गरेपछि सप्तरीको शम्भुनाथ नगरपालिकाको नगरप्रमुख जितेन्द्र कुमार गुप्ता निलम्बनमा रहेका छन् । सोही समयदेखि कार्यवाहक नगरप्रमुखको जिम्मेवारी उपप्रमुख अनिता चौधरीले सम्हाल्दै आएकी छन्। हाल शम्भुनाथ नगरपालिकामा पठाइएका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर भण्डारीलाई कार्यालयमा हाजिर नहुँदै रोक्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको नाममा उनले हस्ताक्षर गरेको पत्र सार्वजनिक भएपछि उनी चर्चामा छिन् ।

मन्त्रालयले देशैभरिको नगरपालिकामा उपसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृतलाई पठाएर निमित्तविहीन बनाएपछि शम्भुनाथ नगरपालिकामा पनि हाल रहेको अधिकृत स्तरका प्रमुख प्रशासकीय भन्दा माथिल्लो नगरपालिकाका दरबन्दी अनुसारका उपसचिव भण्डारीको सरुवा गरेको हो । तर भदौ २९ गते उनले मन्त्रालयलाई सम्बोधन गरी लेखेको पत्रमा प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर भण्डारीलाई अनुभवहीन भन्दै फिर्ता गर्न भनेकी छन् ।

उनको यस कदमलाई स्थानीयले विरोध गरेका छन् । स्थानीय बासिन्दा जयप्रकाश साहले नगरप्रमुखले आफू अनुकूल प्रमुख प्रशासकीय अधिकृत राखेर भ्रष्टाचार गर्न खोजेको आरोप लगाउने गरेका छन् ।

सार्वजनिक पत्रमा कार्यवाहक नगरप्रमुखको हस्ताक्षर भए पनि चलानी नम्बर रहेको छैन । २९ गते शम्भुनाथ नगरपालिकाले जितिया पर्वको स्थानीय बिदा दिएकै दिन सो पत्र लेखिएको छ । स्थानीयले नयाँ आउने प्रमुख प्रशासकीय अधिकृतलाई यहाँ काम गर्न सहज वातावरण नहुने सूचना दिई उनलाई आउनबाट रोक्न प्रयास गरेको हुन सक्ने अनुमान छ। स्थानीयले यस पत्रबारे प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराएको स्थानीय कैलाश यादवले बताए ।

सार्वजनिक पत्रमा स्थानीय तहको अनुभव भएको प्रमुख प्रशासकीय अधिकृत पठाउन वा हालको अधिकृत हरिमोहन सुतिहारलाई नै कायम राख्न भनिएको छ । जनप्रतिनिधिको बैठकले यस्तो निर्णय भएको पत्रमा उल्लेख छ । 

अधिकृत सुतिहारले यस पत्रबारे आफूलाई जानकारी नरहेको बताउछन् । उनले आफू आजै कार्यालय आएको र पत्रमा चलानी समेत नरहेकाले जानकारी नरहेको बताउँछन् । यसबारे जानकारीका लागि सोध्न खोज्दा कार्यवाहक नगरप्रमुख चौधरीसँग सम्पर्क हुन सकेन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्