नेभिगेशन
उपत्यका

ढल निकासको क्षमता नपुगेर वर्षामा डुबान

काठमाडौं । वर्षा सुरु हुनासाथ काठमाडौंको जमल किन तालजस्तै बन्छ? वर्षौंदेखि ‘ढल सफा नगरेकाले डुबान भयो’ भन्ने चर्चा चलिरहँदा अब त्यसको वास्तविक कारण सार्वजनिक भएको छ । समस्या फोहोर होइन, पानीको निकास प्रणाली नै हो । चारैतिरबाट अत्यधिक पानी एउटै साँघुरो ढलमा खन्याइँदा जमल हरेक वर्ष डुब्ने गरेको तथ्य स्थलगत अध्ययनबाट खुलेको छ ।
साउन १५ गते काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागको नेतृत्वमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, महानगर प्रहरी र स्थानीयबासीको टोली जमल पुगेको थियो । टोलीले ढल प्रणालीको प्रत्यक्ष अध्ययन गरेपछि डुबानको मुख्य कारण क्षमताविहीन निकास भएको निष्कर्ष निकालेको हो ।
अध्ययनका क्रममा देखिएको तथ्य झन् चकित पार्ने खालको छ । ज्याठाबाट ६० सेन्टिमिटर, निर्वाचन आयोगतर्फबाट ९० सेन्टिमिटर, यल्लो प्यागोडातर्फबाट ४५ सेन्टिमिटर र जनप्रशासन क्याम्पसतर्फबाट २० सेन्टिमिटर व्यासका ढलमार्फत पानी जमलमा आइपुग्छ । अर्थात् चारैतिरबाट २१५ सेन्टिमिटर क्षमताको पानी जम्मा हुन्छ । तर, त्यसलाई बाहिर लैजाने मुख्य निकास भने जम्मा ६० सेन्टिमिटरको पाइप मात्रै छ ।
डिभिजन सडक कार्यालय काठमाडौंकी इञ्जिनियर श्रीयंका रौनियारका अनुसार यति धेरै पानी एउटै सानो पाइपबाट एकैचोटि बग्न नसक्ने भएकाले जमल डुब्नु स्वाभाविक हो ।
डुबानको कारण ढलमा फोहोर थुप्रिएको हो भन्ने आम बुझाइलाई पनि अध्ययनले अस्वीकार गरेको छ । जमल, त्रिचन्द्र क्याम्पस अगाडि र टुकुचामा ढलका ढकन खोलेर गरिएको निरीक्षणमा ढलभित्र कुनै ठूलो अवरोध वा फोहोर भेटिएन । प्राविधिकहरूका अनुसार यदि ढल फोहोरले थुनिएको भए पानी लामो समयसम्म नघट्ने थियो । तर अहिले केही समयपछि पानी आफैं घट्ने भएकाले समस्या अवरोध होइन, क्षमताको भएको उनीहरूको निष्कर्ष छ ।
यद्यपि जमलको पानी बगाउन बनाइएको ढलमा अन्य क्षेत्रका ढलसमेत जोडिएको भेटिएको छ । यसले जमलका लागि छुट्याइएको निकास क्षमतासमेत बाँडिनुपर्ने अवस्था सिर्जना भएको छ, जसका कारण पानी ढिलो निकास हुने देखिएको छ ।
स्थानीय ७० वर्षीय पुरुषोत्तम श्रेष्ठले पनि अहिलेको समस्या मानवीय निर्णयकै परिणाम भएको बताए । उनका अनुसार पाँच वर्षअघि सडक विभागले नयाँ ढल बनाउँदा दुई–तीन वर्षसम्म जमल डुबेको थिएन । पछि ज्याठा र निर्वाचन आयोगतर्फको ढल पनि यही प्रणालीमा जोडिएपछि समस्या फेरि सुरु भएको हो ।
उनका अनुसार पहिले जनप्रशासन क्याम्पस, उडल्याण्ड होटल र महेन्द्र शालिक हुँदै टुकुचातर्फ छुट्टै निकास थियो । तर त्यस क्षेत्रमा ठूला संरचना बनेपछि पुरानो ढल प्रणाली नै अवरुद्ध भयो । नयाँ संरचना बने, तर त्यसअनुसार ढलको क्षमता विस्तार गरिएन । त्यसको परिणाम अहिले जमलले भोगिरहेको छ ।
यसको अर्को प्रमाण ल्हाकु वही (जमः वहाः) बनेको छ । त्यहाँको प्राङ्गणमा पानी जमेर सानो पोखरीजस्तै बनेको छ । पानीमा हरियो लेउसमेत जम्न थालेको छ, जसले पानी लामो समयसम्म निकास नपाएको देखाउँछ ।
समस्या जमलमा मात्रै सीमित छैन । दरबारमार्ग क्षेत्रमा पनि उस्तै अवस्था रहेको स्थानीय चित्राशोभा तुलाधर बताउँछिन् । उनका अनुसार ठूलो वर्षा हुँदा ढलको मुखबाट पानी भुकभुक गर्दै माथि आउँछ र केहीबेरमै ढलको ढकन नै उचाल्ने अवस्था पुग्छ ।
काठमाडौं महानगरपालिकाका विपद् व्यवस्थापन विभाग प्रमुख अनिरुद्र नेपालका अनुसार माइतीघर मण्डला र अहिलेको जमल तथा दरबारमार्गको अवस्थाले एउटै निष्कर्ष देखाएको छ । काठमाडौं डुब्नुको मुख्य कारण ढल सफा नगर्नु होइन, माथिल्लो भागबाट आउने पानीको मात्रा र तल्लो भागको निकास क्षमताबीचको असन्तुलन भएको उनले बताए ।
उनले अब माइतीघर मण्डलाको प्राविधिक अध्ययन गरेको टोलीले जमल क्षेत्रको पनि विस्तृत अध्ययन गर्ने जानकारी दिए । यस अध्ययनमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयका प्राविधिकसमेत सहभागी हुनेछन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्