विश्वकै प्रतिष्ठित एनिमेसन स्टुडियोमा दुई दशक बिताएका किरणभक्त जोशीले सन् २००८ मा अमेरिकाको सबैभन्दा सुरक्षित जागीर छोडेर नेपाल फर्कने निर्णय गरे ?
जोशीले नेपाल फर्किएपछि धेरैले यही कुरा सोधे तर जीवनका केही निर्णयहरू जागीर, तलब वा पदले मात्र तय गर्दैनन् । ती निर्णय त मानिसले आफूभित्र वर्षौं हुर्काएको अधुरा प्रश्नहरुले तय गर्छन् । उनका मामिलामा पनि यही प्रस्थानबिन्दु बन्यो । उनको मनमा हुटहुटी जाग्थ्यो, अरूका कथा संसारभर पु¥याउन सकिन्छ भने आफ्नै देशका कथा किन सकिँदैन ?
यो प्रश्न अचानक जन्मिएको थिएन । यसको बीउ उनको बाल्यकालमै रोपिएको थियो ।
कथाले भरिएको बाल्यकाल
काठमाडौंको ताहाचलमा हुर्कँदै गर्दा उनले पुस्तकभन्दा पहिले आफ्नी हजुरआमाबाट कथाहरु सुने । भूत, किचकन्नीका कथाले उनको बाल्यकाललाई निकै प्रभावित पा¥यो । त्यो बेला टेलिभिजनको प्रभाव थिएन । इन्द्रजात्रामा लाखे नाच्दा उनी भीडमा उभिएर त्यो अनुहारलाई हेर्थे । पुलुकिसी निस्कँदा जात्रा मात्र हुँदैनथ्यो उनका लागि, त्यो त रहस्यमय संसारको ढोकाजस्तो लाग्थ्यो । बालापनमा सुनेका भूत, नाग, देउता र यक्षका कथाले उनीभित्र अर्को संसार बनाइरहेका थिए ।
उनी विश्वकै ठूलो एनिमेसन स्टुडियोमा पुग्दा बालापनका ती कथाले उनलाई झन् बढी घच्घच्याउन थाले । डिज्नीले युरोपेली लोककथा र अमेरिकी कल्पनालाई विश्वव्यापी बनायो । जापानले आफ्ना मिथक र संवेदनालाई एनिमेमा रूपान्तरण ग¥यो । त्यसो भए नेपालका कथा किन पुस्तौँदेखि आफ्नै सीमाभित्र कैद गरिरहने ?
त्यो प्रश्नको उत्तर खोज्नुअघि उनको जीवनले अर्को ठूलो मोड लिन बाँकी थियो ।
संघर्षले दिएको शिक्षा
उन्नाइस वर्षको उमेरमा उनी अमेरिका पुगे । त्यहाँ गएपछि अन्य सामान्य नेपालीजस्तै उनले पनि सुरक्षा गार्डको जागीर खाए । त्यसपछि प्रिन्टिङ प्रेसमा पनि अनुभव बटुले । कहिलेकाहीँ त दोहोरो जागीर खाएर पनि नयाँ प्रविधि सिक्न समय निकाल्थे । कम्प्युटर ग्राफिक्स र एनिमेसनतर्फ उनको रुचि बढ्दै जाँदा उनले डिज्नेमा सौभाग्यवश काम पाए । त्यो बेला डिजिटल एनिमेसन तीव्र गतिमा विकसित भइरहेको थियो । धेरैले त्यसलाई भविष्यको प्रविधि भनेर हेर्थे, उनले त्यसलाई आफ्नो भविष्य बनाउने निर्णय गरे ।
उनले भने, “विदेशमा बिताएका ती शुरुवाती समयले मलाई एउटा महŒवपूर्ण कुरा सिकाए— प्रतिभाभन्दा निरन्तरता धेरै ठूलो कुरा हो । कुनै सीप एकैपटक आउँदैन । त्यसका लागि दिनहुँ केही न केही सिकिरहनुपर्छ । त्यो बानी नै पछि मेरो सबैभन्दा ठूलो सम्पत्ति बन्यो ।”
उनलाई अमेरिकाले सिकाएको सबैभन्दा महŒवपूर्ण पाठ भन्नु नै अनुशासन, धैर्य र अवसरको मूल्य हो ।
डिज्नीको ढोका
एक दिन उनले वाल्ट डिज्नी स्टुडियोमा आवेदन दिए । विश्वभरका प्रतिभाशाली कलाकारसँग प्रतिस्पर्धा गरेर कम्प्युटर प्रोग्रामरका रुपमा डिज्नीमा प्रवेश पाए ।
डिज्नीमा उनको पहिलो परियोजना ‘ब्युटी एन्ड द बिस्ट’ थियो । त्यसपछि ‘अलादिन’, ‘द लायन किङ’, ‘द हन्चब्याक अफ नोट्रे डाम’ र ‘एटलान्टिस’ जस्ता चर्चित चलचित्रमा काम गर्ने अवसर पाए । समयसँगै उनी नेतृत्वदायी भूमिकामा पुगे ।
दर्शकले पर्दामा केही मिनेट देख्ने एउटा दृश्यका लागि उनले महिनौँसम्म मिहिनेत गर्थे । एउटा पात्रको अनुहारको भाव, एउटा जनावरको दौडाइ, प्रकाशको दिशा वा क्यामेराको गति— यी सबै कुरा कथा भन्ने भाषाका हिस्सा थिए । एनिमेसन चित्र कोर्ने काम मात्र होइन, भावनालाई दृश्यमा अनुवाद गर्ने कला पनि रहेछ भन्ने कुरा उनले त्यहीँ बुझ्दै गए । डिज्नीमा पहिला एनिमेटेड फिल्ममा भिडभाड हुँदैनथे, सीमित पात्र हुन्थे तर उनले काठमाडौँको जात्रामा भिडभाड देखेको हुनाले एनिमेशनमा पनि भिडभाड प्रयोग गरे र डिज्नीले उनको यो शैली ज्यादै रुचायो । खासगरी ‘द लायन किङ’को जंगलको दृश्य विशेष अनुभव बन्यो उनका लागि । सीमित समय र प्रविधिमा उनले हजारौँ जनावरलाई स्वाभाविक रूपमा एउटै दृश्यमा दौडाउनुपर्ने चुनौती थियो । त्यसका लागि कलाकारहरूको टोलीले असंख्य प्रयोग ग¥यो । अन्ततः त्यो दृश्य चलचित्र इतिहासकै स्मरणीय दृश्यहरूमध्ये एक बन्यो ।
डिज्नीमा बिताएका वर्षहरूले किरणभक्त जोशीलाई विश्वस्तरको सर्जकको परिचय दियो । तर त्यहीँ बसेर उनले अर्को कुरा पनि बुझे— चलचित्र उद्योगमा प्रविधि महŒवपूर्ण हुन्छ, तर त्योभन्दा महŒवपूर्ण कथा हुन्छ । दर्शकले कुनै चलचित्र सम्झँदा पात्र, भावना र कथा सम्झन्छन् ।
त्यो अनुभूतिले उनलाई बारम्बार आफ्नै देशतिर फर्काइरहन्थ्यो ।
डिज्नीले युरोपेली लोककथालाई विश्वव्यापी बनायो । जापानले आफ्ना मिथक र संस्कृतिलाई एनिमेमार्फत संसारभर पु¥यायो । दक्षिण कोरियाले चलचित्र, संगीत र धारावाहिकमार्फत आफ्नो सांस्कृतिक प्रभाव विस्तार ग¥यो । किरणलाई पनि लाग्यो, नेपालसँग पनि त्यत्तिकै समृद्ध सांस्कृतिक सम्पदा छ तर त्यसलाई प्रस्तुत गर्ने भाषा र उद्योग भने निर्माण हुन बाँकी छ ।
यही सोच विस्तारै एउटा व्यक्तिगत आकांक्षाबाट जिम्मेवारीमा बदलिन थाल्यो ।
त्यसैबीच सन् २००७ मा उनी नेपाल आए । त्यो बेला उनले केही आफन्त गुमाए । अचानक आएको त्यो शोकले उनलाई जीवनलाई नयाँ दृष्टिले हेर्न बाध्य बनायो । यसपछि सफलता र समयको अर्थ बदलियो । मानिससँग पैसा कमाउने, पद बढाउने वा अर्को उपलब्धि हासिल गर्ने अवसर फेरि आउन सक्छ । तर जीवनमा केही कुरा ‘पछि गरौँला’ भनेर राख्ने सुविधा हुँदैन । आफूले साँच्चै गर्न चाहेको कामलाई धेरै वर्षसम्म स्थगित गरिरहनु भनेको कहिलेकाहीँ त्यसलाई सधैँका लागि गुमाउनु पनि हुन सक्छ ।
नेपाल बसाइका क्रममा उनले धेरै युवा कलाकारसँग पनि भेटघाट गरे । उनीहरूमा उत्साह थियो, प्रतिभा थियो तर दिशानिर्देश गर्ने संस्था थिएन । विश्वस्तरको काम गर्न सक्ने क्षमता भएका युवाहरू अवसर नपाएर अन्य क्षेत्रमा भौँतारिइरहेका थिए ।
सन् २००८ मा उनी स्थायी रूपमा नेपाल फर्किए । त्यो बेला नेपालमा फिल्म तथा टेलिभिजनका लागि एनिमेशन फिल्म बनाउने कम्पनी खोल्नु सजिलो थिएन । दक्ष जनशक्ति सीमित थियो । विद्युत् आपूर्ति नियमित थिएन । इन्टरनेटको गति कमजोर थियो । विदेशी ग्राहकलाई नेपालमा बसेर विश्वस्तरको काम गर्न सकिन्छ भन्ने विश्वास दिलाउनु आफैँमा चुनौती थियो तर उनी चुनौती देखेर फर्किएका थिएनन् । उनी सम्भावना र जिम्मेवारी देखेर फर्किएका थिए । यसैलाई आकार दिन उनले स्थापना गरे— इनसेस्यान्ट रेन स्टुडियो ।
सुरुमा टोली सानो थियो, केही कम्प्युटर थिए, सीमित स्रोत थियो तर ठूलो सपना थियो । उनी कम्पनीको प्रमुख मात्र थिएनन्, नवप्रतिभाका प्रशिक्षक पनि थिए । डिज्नीमा सिकेका कार्यशैली, गुणस्तर र अनुशासन नेपाली युवालाई सिकाउन थाले । एउटा दृश्य बनाउँदा किन धैर्य चाहिन्छ, एउटा पात्रको अनुहारमा भावना कसरी ल्याइन्छ, कथा र प्रविधिबीच सन्तुलन कसरी कायम गरिन्छ— यी सबै कुरा उनी प्रत्यक्ष रूपमा सिकाउँथे ।
आज इनसेस्यान्ट रेनमा काम गरिरहेका धेरै कलाकारले आफ्नो व्यावसायिक यात्रामा फड्को मारेका छन् । हजारभन्दा बढीले त स्वदेशी तथा विदेशी कम्पनीमा काम पाएका छन् । केहीले ससाना स्टुडियो बनाएर एनिमेशनको साँघुरो क्षेत्रलाई फराकिलो राजमार्ग बनाउन भूमिका खेलिरहेका छन् । उनीहरूमध्ये कतिपयले अन्तर्राष्ट्रिय परियोजनामा काम गरिरहेका छन् । किरणका लागि सायद तिनको उपलब्धि कुनै पुरस्कारभन्दा ठूलो बन्न पुगेको छ । उनी हलिउडबाट एक्लै नेपाल फर्किएका थिए तर सफल एनिमेटरहरुको नयाँ पुस्ता तयार पारिसके ।
आफ्नै कथा सुनाउने समय
इनसेस्यान्ट रेन स्टुडियो स्थापना गरेपछि किरणका सामू दुईवटा बाटा थिए । एउटा, विदेशी कम्पनीका परियोजना गर्दै व्यवसायबाट कमाउने । अर्को, आर्थिक हिसाबले जोखिमपूर्ण भए पनि आफ्नै मौलिक कथा निर्माण गर्ने । उनले दुवै बाटा सँगसँगै रोजे । उनलाई थाहा थियो, आफ्नै चलचित्र बनाउनुअघि विश्वस्तरको काम गर्ने संस्थागत क्षमता निर्माण गर्न आवश्यक छ ।
त्यसैले सुरुका वर्षहरूमा स्टुडियोले अन्तर्राष्ट्रिय कम्पनीका लागि पनि काम ग¥यो । यसले नेपाली कलाकारलाई विश्वस्तरको काम गर्ने संस्कृति सिक्ने अवसर दियो । एउटै दृश्यमा महिनौँ समय खर्च गर्नुपर्ने धैर्य, गुणस्तरमा कुनै सम्झौता नगर्ने बानी र समयसीमालाई कडाइका साथ पालना गर्ने संस्कार बिस्तारै संस्थाको पहिचान बन्दै गयो ।
तर यी सबै प्रयासको पछाडि एउटा ठूलो सपना निरन्तर बाँचेको थियो—नेपालको आफ्नै कथा भन्ने ।
किरणलाई लाग्थ्यो, नेपाललाई संसारले प्रायः हिमाल, बुद्ध र प्राकृतिक सौन्दर्यका आधारमा चिन्छ । त्यो गलत होइन, तर अपूरो परिचय हो । नेपालसँग पनि मिथक, लोककथा र संस्कृतिका यस्ता पात्रहरु छन्, जसले विश्वका कुनै पनि काल्पनिक संसारसँग प्रतिस्पर्धा गर्न सक्छन् । तिनलाई आधुनिक माध्यममा पुनव्र्याख्या गर्न मात्र बाँकी छ । त्यही सोचबाट जन्मिन पुग्यो— ‘द लस्ट मण्डला’ ।
उनी सुपरहिरो कथा बनाउन चाहँदैनन् । उनी त करुणाको कथा कहन चाहन्छन्, बदलाको साटो आत्मबोध बुझाउन चाहन्छन् । नेपालले संसारलाई गौतम बुद्ध दियो, नेपालीले करुण र आत्मबोधको कथा फेरि पुनर्कथनमार्फत पुनः दिन सक्छ ।
त्यसैले ‘द लस्ट मण्डला’मा उनले बौद्ध सांस्कृतिक प्रतीक, हिमाली सभ्यताका मिथक र स्थानीय कल्पनाशक्तिलाई आधुनिक सिनेमाको भाषामा रूपान्तरण गर्ने प्रयास गरेका छन् ।
उनी भन्छन्, “विदेशी दर्शकलाई नेपाल देखाउन हिमालको पोस्टकार्ड पर्याप्त हुँदैन । उनीहरूलाई यहाँका मानिस, विश्वास, द्वन्द्व र सपनासँग पनि परिचित गराउनुपर्छ । चलचित्रले त्यही काम गर्न सक्छ ।”
प्रविधि बदलिन्छ, कल्पना होइन
पछिल्ला केही वर्षयता कृत्रिम बुद्धिमत्ता अर्थात् एआईले सिर्जनात्मक उद्योगलाई नयाँ बहसमा ल्याइदिएको छ । धेरै कलाकारलाई लागिरहेको छ, अब चित्र र चलचित्र पनि मेसिनले बनाउनेछ र कलाकारको आवश्यकता घट्नेछ ।
किरणभक्त जोशी यो बहसलाई अलि फरक दृष्टिले हेर्छन् । उनी सम्झन्छन्, कम्प्युटर पहिलो पटक एनिमेसन क्षेत्रमा प्रवेश गर्दा पनि यस्तै डर थियो । धेरैले हातले चित्र कोर्ने कलाकारको युग सकिएको ठानेका थिए । तर भयो ठीक उल्टो । कम्प्युटरले कलाकारलाई विस्थापित गरेन; उसको काम गर्ने तरिका बदलिदियो । आज एआईले पनि त्यही गर्ने उनको विश्वास छ । प्रविधिले गति दिन सक्छ, तर कल्पना दिन सक्दैन । एउटा सफ्टवेयरले हजारौँ चित्र बनाउन सक्छ, तर कुन कथा भन्नु आवश्यक छ भन्ने निर्णय अझै पनि मानिसले नै गर्छ । मौलिक विचार, सांस्कृतिक अनुभव र भावनात्मक गहिराइ कुनै एल्गोरिदमले सिर्जना गर्दैन भन्ने उनलाई लाग्छ ।
त्यसैले उनी नेपाली युवालाई एआईसँग डराउन होइन, त्यसलाई नयाँ औजारका रूपमा प्रयोग गर्न आग्रह गर्छन् । जसरी एउटा चित्रकारले ब्रस फेरेर आफ्नो कला छोड्दैन, त्यसरी नै कलाकारले नयाँ प्रविधि आए पनि आफ्नो कल्पनाशक्ति छोड्नु हुँदैन ।
नयाँ पुस्तालाई सन्देश
किरणभक्त जोशीसँग कुरा गर्दा बारम्बार दोहोरिने एउटा शब्द हो— सिकाइ । उनी आफ्नो सफलताको श्रेय कुनै एउटै मात्र अवसरलाई दिँदैनन् । बरु निरन्तर सिक्ने बानीलाई दिन्छन् । सुरक्षा गार्डको काम गर्दागर्दै कम्प्युटर सिकेको समय होस् वा डिज्नीमा पुगेपछि पनि नयाँ प्रविधि आत्मसात् गरेको चरण, उनले आफूलाई कहिल्यै पूर्ण भएको ठानेनन् ।
यही कारणले उनी नयाँ पुस्तालाई एउटा व्यावहारिक सल्लाह दिन्छन् । पढ्नु आवश्यक छ तर सर्टिफिकेटमै अड्किन जरुरी छैन । जागिर गर्नु आवश्यक छ तर जागिरमै सीमित हुनु आवश्यक छैन । हरेक दिन केही समय आफ्नो रुचि र सीप विकासका लागि छुट्याउनुपर्छ । किनभने मानिसको भविष्य प्रायः उसले तलबका लागि गर्ने कामले होइन, जिज्ञासाका लागि गर्ने कामले निर्धारण गर्छ ।
उनी असफलतासँग नडराउन पनि आग्रह गर्छन् । नेपालमा सिर्जनात्मक उद्योग अझै निर्माणकै चरणमा छ । त्यसैले यहाँ सफलता सुनिश्चित छैन । तर कसैले सुरु नगरेसम्म नयाँ उद्योग पनि जन्मिँदैन । उनी आफ्नै जीवनलाई त्यसको उदाहरण मान्छन् । यदि उनले सुरक्षित करियर मात्र रोजेका भए, व्यक्तिगत रूपमा सफल त हुन्थे तर नेपालमा एउटा नयाँ सम्भावनाको ढोका खुल्ने थिएन ।
एउटा निर्णयको अर्थ
किरणभक्त जोशीको कथा डिज्नीसम्म पुगेको एउटा नेपालीको कथा होइन । संसारभर यस्ता नेपाली भेटिन्छन्, जसले आफ्नो क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छन् । उनको कथा फरक बनाउने कुरा त उनले आफ्नो सफलताको परिभाषालाई उनले दिएको नयाँ अर्थ हो । धेरैका लागि सफलता भनेको अवसर पाइरहनु हो । उनका लागि भने सफलता आफूले पाएको अवसर अरूका लागि पनि उपलब्ध गराउनु हो ।
डिज्नीमा उनले विश्वका दर्शकका लागि चलचित्र बनाए । नेपाल फर्किएपछि उनले चित्रकार, एनिमेटर र प्राविधिक बनाउने काम थाले । उनले स्टुडियो मात्र बनाएनन्, एउटा पुस्तालाई विश्वसँग प्रतिस्पर्धा गर्ने आत्मविश्वास पनि दिए । उनले चलचित्रको सपना मात्र देखेनन्, नेपाली कथा विश्वले सुन्न सक्छ भन्ने विश्वास पनि जगाए ।
सायद त्यसैले उनको यात्रा करियर परिवर्तनको कथा मात्र होइन, दृष्टिकोण परिवर्तनको कथा पनि हो ।