नेभिगेशन
साहित्य

नेपाली भाषा बच्ला ?

कुनै पनि भाषाको ऐतिहासिक पृष्ठभूमि बुझ्नका लागि त्यसको मूल स्रोत के हो; यो कहाँबाट आयो र कसरी यसको जन्म भयो ? भन्ने कुरालाई हामीले हेर्नुपर्ने हुन्छ । यसरी हेर्दा के देखिन्छ भने नेपाली भाषा संस्कृत भाषाबाटै विकसित भएको देखिन्छ । संस्कृत भाषा पनि सुरुमा वैदिक भाषा, त्यसपछि लौकिक संस्कृत भाषा, त्यसपछि प्राकृत भाषा, अपभ्रंश भाषा हुँदै एघारौं शताब्दीमा खस साम्राज्यको स्थापनासँगै कर्णाली प्रदेशबाट नेपाली भाषाको उद्भव भएको देखिन्छ । विशेष गरेर चौधौं शताब्दीदेखि यसका विभिन्न अभिलेखहरू पनि प्राप्त गरिन्छन् । जस्तै १३१२ को ताघवाई गुम्बाको ‘हाम्रा आली अटली अटल करी...’ जस्ता अभिलेखहरूबाट नेपाली भाषाको विकासक्रमलाई हेर्न सक्छौं । र विभिन्न अभिलेख हुँदै पछि केही समयपछि खण्डखाद्य जस्ता ग्रन्थहरू यसमा आउँछन्, भास्वती जस्ता ग्रन्थहरू लेखिन थाल्छन् । यो  सुरुमा बोलीका रूपमा, त्यसपछि अभिलेखका रूपमा, त्यसपछि विभिन्न ग्रन्थका रूपमा अगाडि बढ्दै गयो । र, १६औं शताब्दीमा जुन राजा ‘गगन राजको यात्रा’ भन्ने जुन पुस्तक आयो, त्यसले एउटा निबन्धात्मक साहित्यको स्वरूपमा पनि विकास भयो । र त्यसै क्रममा जब नेपालमा खस साम्राज्यमा रहेका जो नेपालीहरू हुन् र तिनीहरूको क्रमशः पूर्वतिर बढ्दै गए, यात्रा बढ्दै गयो र नेपाली भाषा कर्णाली प्रदेशबाट अगाडि बढ्दै गयो । कर्णाली प्रदेशमा हुँदा यसलाई खस भाषाका रूपमा मानियो । खस जातिले खस साम्राज्यको जो स्थापना गरिसकेपछि त्यहीँबाट विकसित भएको हुनाले प्रारम्भमा यसलाई खस भाषा भनेर भनियो । र ती खसहरू क्रमशः अगाडि बढ्दै जाने क्रममा नेपालको विशेष गरेर गण्डकी प्रदेश, त्यसपछि कोसी क्षेत्र हुँदै नेपालको सिमानाभन्दा पूर्व भारत, म्यानमार, भुटान, हङकङ आदि देशहरूसम्म पुग्यो र आज त विश्वभरि यो नेपाली भाषा पुगिरहेको छ । नेपालको एकीकरण गोरखाका राजा पृथ्वीनारायण शाहले गर्ने क्रममा काठमाडौंलाई विजय गरेपछि विसं. १८२५ मा गोरखाबाट राज्य काठमाडौंमा सरिसकेपछि त्यहाँको राजकाजको भाषाका रूपमा त्यतिबेला गोरखाली भाषा भनेर चिनिन्थ्यो ।
भाषा भनेको निरन्तर परिवर्तनशील हुन्छ । एकचोटी ‘हाम्रा आली अटली अटल करी...’ बाट सुरु भएको जुन भाषा हो, परिवर्तन हुँदै ‘एक दिन नारद सत्यलोक पुगी गया’ भनेर भानुभक्तले बोलेको भाषा एक किसिमको भयो । र, त्यसैक्रममा जब नेपाली भाषामा यो खुट्टा काट्ने प्रचलन बढ्दै गयो, त्यसपछि हलन्त बहिष्कारको एउटा क्रम पनि सुरु भयो । र, त्यसैक्रममा भाषाको स्थिरीकरणका लागि चन्द्रिका व्याकरण रचना गरियो । फेरि झार्रोवादी आन्दोलन पनि आयो । यसरी समय–समयमा भाषाको परिष्कार परिमार्जन हुँदै जाने क्रममा पछिल्लो समयमा पनि यसमा केही कुराहरू आएका छन् । यसलाई अझ सरलीकरण गर्ने भन्ने नाममा वि.सं. २०६७ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानमा गोष्ठी भएको थियो । त्यसले अलिकति सरलीकरण गर्ने भन्ने जुन कुरा आयो र त्यसमा विशेष गरेर तत्सम शब्दहरूबाहेकका अरू शब्दलाई अलि ह्रस्वीकरणतर्फ जाने, उच्चारणअनुसार प्रयोग गर्ने, लेखनमा पनि पहिले कलमले हातले लेख्ने चलन थियो । अहिले प्रविधिमा लेखन गयो । त्यो प्रविधिमैत्री बनाउने नाममा अलिकति नयाँपन ल्याइयो र त्यसमा अलिकति विवाद पनि भयो ।

वर्तमानमा भाषाको समृद्धि कस्तो छ भनेर हेर्दाखेरि के देखिन्छ भने यसले हाम्रो जीवनलाई, हाम्रो ज्ञानलाई, हाम्रो प्रविधिलाई कत्तिको समेट्छ भन्ने कुरा हो । त्यो हेर्दाखेरि के छ भने साहित्यिक रचनाहरू निर्माण गर्न पनि यो सक्षम छ । विभिन्न किसिमका ज्ञानमूलक अन्य ग्रन्थहरू पनि नेपाली भाषामा आइरहेको छन् । यो पठनपाठनको माध्यमका रूपमा पनि प्रयोग भएको छ । तल्लो तहदेखि माथिल्लो तहसम्मै नेपाली भाषामै पठनपाठन हुँदै आएको छ । र, अर्को कुरा नेपाल भनेको विभिन्न जातजाति र विभिन्न भाषाभाषीहरूको देश हो । यहाँ विभिन्न किसिमका भाषाहरू प्रयोग हुन्छन् । तीमध्येमा सबै भाषाभाषीहरूका लागि एक सूत्रमा बाँध्ने भाषाका रूपमा यो नेपाली भाषा रहेको छ । भाषालाई सरलीकरणतिर पनि जोड दिइएको छ । यसले दुइटै किसिमको असर पारेको छ । एउटा सकारात्मक पनि मान्नुपर्छ हामीले बीचमा बसेर हेर्नुपर्ने हुन्छ । एउटा कुरा के छ भने हाम्रो पहिले जुन उच्चारण र लेखाइमा फरक प्रयोग पहिले थियो । पहिले जस्तै ‘ठूलो’ लेखिन्थ्यो भने, अहिले ठुलो भन्दा ह्रस्व नै उच्चारण गरिने भएकाले ह्रस्व नै लेख्न थालियो । पहिले ‘शहीद’ भनेर लेखिने शब्द अहिले ह्रस्व उच्चारणमा बोल्ने हुँदा पातलो स नै प्रयोग गर्न थालियो । कम्प्युटरमा टंकणका गर्दाखेरि जस्तै ‘द्वन्द्व, विद्यालय’ जस्ता शब्दलाई सहजीकरण गरिएको छ । कम्प्युटरमा अथवा मोबाइल आदिमा सरर लेख्न खोज्दा त्यसमा ती लिपिहरूको पर्याप्तता नहुनाले अप्ठ्यारो पर्ने हुनाले त्यसलाई सहजीकरण गरियो । तैपनि, यसले केही सकारात्मक प्रभाव पारेको छ । केही पुरानै प्रविधिमा पनि यो आएको छ । नेपाली भाषा अहिले आएर सबै नेपालीहरूको र नेपालीभन्दा बाहिरकाहरूको पनि एउटा सम्पर्क भाषाका रूपमा विकास हुँदै गइरहेको छ । अर्को विज्ञान र प्रविधिका क्षेत्रमा अहिले नयाँ–नयाँ ज्ञानका कुराहरू आएका छन्, विकासका कुराहरू भइरहेका छन्, नयाँ–नयाँ वस्तुहरू बनिरहेका छन्, शब्दहरू बनिरहेका छन् । यसले पनि भाषालाई समृद्ध बनाएको छ । वर्णविन्यासमा देखिएका केही परिवर्तनले विगतका लेखकहरूद्वारा लेखिएका अथवा प्रयोग गरिएका शब्दको आशयमा पनि प्रभाव परेको देखिन्छ । कतिपय अवस्थामा अझै भाषामा एकरूपता जरुरी छ । 
नेपाली भाषा अब नेपालको भौगोलिक सीमाभित्र मात्र सीमित छैन; यो विश्वव्यापी हुँदै गएको छ । रोजगारी, अध्ययन र बसाइँसराइको क्रममा विश्वभर छरिएर रहेका नेपालीहरूले यस भाषालाई आफूसँगै विश्वका कुना–कुनामा पु¥याएका छन् । विदेशमा मनाइने भानु जयन्ती जस्ता कार्यक्रमहरूले हाम्रो भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउनुका साथै, प्रवासमा रहेका नेपालीहरूलाई एउटै सांस्कृतिक सूत्रमा बाँध्ने महŒवपूर्ण काम गरेका छन् । अन्तर्राष्ट्रिय मान्यता र विस्तारको कुरा गर्दा, छिमेकी राष्ट्र भारतमा नेपाली भाषाले प्राप्त गरेको स्थान निकै गौरवपूर्ण छ । भारतको संविधानको आठौं अनुसूचीमा समावेश भई यसले त्यहाँ कानुनी र संवैधानिक मान्यता नै पाइसकेको छ । दार्जिलिङ, सिक्किम, आसाम, खरसाङ र देहरादुनजस्ता क्षेत्रहरूमा नेपाली भाषा जनजिब्रोको भाषा मात्र नभई, विद्यालयदेखि विश्वविद्यालयसम्म पठनपाठन र प्राज्ञिक अनुसन्धानको विषय बनेको छ । यसका अतिरिक्त, पछिल्लो समयमा इन्टरनेट, अनलाइन सञ्चारमाध्यम कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता नवीन प्रविधिको बढ्दो प्रयोगले नेपाली भाषाको पहुँच र उचाइलाई अझ फराकिलो बनाइदिएको छ । यो भाषिक विकासको दृष्टिकोणले निकै सकारात्मक र आशलाग्दो पक्ष हो ।
यद्यपि, अन्तर्राष्ट्रिय स्तरमा भाषा फैलिरहँदा हामीले नेपालभित्रै भने केही गम्भीर र चिन्ताजनक चुनौतीहरू सामना गरिरहेका छौं । विशेषगरी, नेपाली भाषालाई टुक्राउने र यसको शक्तिलाई कमजोर पार्ने केही गलत भाष्यहरू निर्माण गरिँदैछन् । ऐतिहासिक रूपमा कर्णालीको सिञ्जा उपत्यकालाई उद्गम स्थल मानेर पूर्व–पश्चिम फैलिएको यो भाषाका विभिन्न क्षेत्रीय भाषिकाहरू छन् । तर, जुम्ली, डोटेली, अछामी वा डडेलधुरीजस्ता भाषिकाहरूलाई पूर्णरूपमा छुट्टै भाषाको दर्जा दिएर समग्र नेपाली भाषाको हाँगा नै छिमल्ने र यसलाई खण्डित गर्ने प्रयास भइरहेको छ । अझ दुःखद प्रवृत्ति त के छ भने, नेपाली भाषालाई एउटा निश्चित समुदाय—विशेषतः ‘खस–आर्य’ वा बाहुन–क्षेत्रीको मात्र भाषा हो भनेर संकुचित घेरामा राख्ने र होच्याउने काम भइरहेको छ । यो नितान्त गलत बुझाइ हो । नेपाली भाषा हिमालका शेर्पा, पहाडका राई, मगर, गुरुङ, लिम्बूदेखि तराई–मधेसका सम्पूर्ण नागरिकहरूलाई आपसमा जोड्ने एउटा बलियो साझा ‘सम्पर्क भाषा’ हो । त्यसैले, यसलाई अन्तर्राष्ट्रिय स्तरमा अझै प्रवर्धन गर्न सबैभन्दा पहिले हामीले देशभित्रै यसप्रतिको संकुचित सोचलाई चिर्नुपर्छ । प्रविधिको अधिकतम प्रयोग गर्दै भाषालाई आधुनिकीकरण गर्ने, स्तरीय साहित्यको विभिन्न भाषामा अनुवाद गरेर विश्व बजारमा पु¥याउने र नेपाली भाषा सम्पूर्ण नेपालीहरूको साझा सम्पत्ति र पहिचान हो भन्ने यथार्थलाई स्थापित गर्न सके मात्र यसको संरक्षण र थप विस्तार सम्भव छ ।
देशको विकासका लागि भौतिक संरचना मात्र पर्याप्त हुँदैन, नागरिकहरूबीच भावनाको विकास र एकता हुनु अपरिहार्य छ । त्यो भावनाको अभिव्यक्ति भाषाको माध्यमबाट मात्र सम्भव छ । नेपाली भाषाले समग्र राष्ट्रको नेतृत्व गरिरहेको छ । यसले गर्दा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपालीलाई एउटै भाव र सूत्रमा बाँध्न सम्भव भएको छ । यो हाम्रो राष्ट्रको चिनारी हो, हाम्रो पहिचान हो । नेपालको साहित्य, संस्कृति, राजनीति, कृषि र प्रविधिलाई विश्वसामु चिनाउने मूल ढोका नै नेपाली भाषा हो ।नेपाली भाषाको संरक्षण गर्नुको अर्थ नेपालभित्र बोलिने अन्य मातृभाषाहरूको विकासलाई रोक्नु वा दबाउनु पटक्कै होइन । हरेक नागरिकले आफ्नो मातृभाषाको संरक्षण गर्नुपर्छ, त्यो उनीहरूको पहिचान हो । तर, आफ्नो मातृभाषालाई प्रवर्धन गर्ने नाममा सबैलाई जोड्ने राष्ट्रिय सम्पर्क भाषालाई गौण बनाउने वा बेवास्ता गर्ने नीति किमार्थ सही हुन सक्दैन । मातृभाषा र नेपाली भाषा प्रतिस्पर्धी होइनन्, यी परिपूरक हुन् ।
यदि भोलिका दिनमा नेपाली भाषा कमजोर भयो भने, यसले निर्माण गरेको भावनात्मक एकताको डोरी चुँडिनेछ । हामी नेपाली–नेपालीबीचको संवाद र एकबद्ध भएर अगाडि बढ्ने प्रक्रियामा गम्भीर खलल पुग्नेछ । विदेशी भाषाको अतिक्रमण बढ्दै जाँदा हाम्रो मौलिक पहिचान नै गुम्ने खतरा हुन्छ । तसर्थ, सरकारले नेपाली भाषाको संरक्षण र विकासका लागि स्पष्ट र कडा नीतिहरू अवलम्बन गर्नुपर्छ । 
(प्रा.डा. ध्रुवप्रसाद भट्टराईको जानकारीका आधारमा सम्पादित लेख)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्