नेभिगेशन
स्वास्थ्य

साउनाले साँच्चै स्वास्थ्य सुधार्छ ?

फिनल्याण्डलाई साउना संस्कृतिको राजधानी मानिन्छ । यहाँ करिब १.६ जनामा एक साउना पर्ने तथ्यांक छ । हजारौं वर्ष पुरानो यो संस्कृतिले अहिले विश्वभर विस्तार पाउँदै गएको छ । बेलायतमा केही वर्षमा साउनाको संख्या दोब्बर भएको छ । के साउना वास्तवमै स्वास्थ्यका लागि लाभदायी छ त ?

क्यानाडाको म्यानिटोबास्थित कार्डियोलोजिस्ट सेटर कुनुत्सोरका अनुसार साउना शरीरलाई नियन्त्रित र हल्का तनाव दिने अभ्यास हो । छोटो समयमा तातो बाफले शरीरमा पसिना आउने अवस्थासम्म पुर्‍याउँछ, मुटु छिटो धड्किन्छ, रगतका नलीहरू फराकिला हुन्छन् । यो प्रभाव मध्यम व्यायाम जस्तै हुन्छ ।

‘सामान्य १५ मिनेटको सौना सेसनले मुटुको गति बढाउँछ, रक्त सञ्चारलाई सक्रिय बनाउँछ । यसले शरीरलाई तनावसँग जुध्ने क्षमता दिन सक्छ, सुन्निएका अंग घट्न सक्छ र मस्तिष्क तथा रक्तनलीलाई सुरक्षित राख्न सक्छ,’ कुनुत्सोर भन्छन् । यसलाई उनले पसिना व्यायामको नाम दिएका छन् ।

फिनल्याण्डमा करिब २,३०० मध्यम उमेरका पुरुषमाथि गरिएको अनुसन्धानमा हप्तामा दुईदेखि तीनपटक साउना गर्ने व्यक्तिहरूमा हृदयाघात वा हृदय रोगका कारण मृत्यु हुने सम्भावना २७ प्रतिशतले घटेको पाइएको थियो । हप्तामा चारदेखि सातपटक साउना गर्नेहरूको मृत्युको सम्भावना आधा अर्थात् ५० प्रतिशतसम्म कम भएको देखियो ।

पछिल्ला अध्ययनहरूले त साउना प्रयोगलाई मानसिक स्वास्थ्यसँग पनि जोडिदिएका छन् । हप्तामा बारम्बार साउना गर्नेहरूमा मानसिक रोग हुने सम्भावना ८० प्रतिशतले घटेको र डिमेन्सिया हुने खतरा दुई–तिहाइले घटेको छ ।

वैज्ञानिकहरूले अझै स्पष्ट निष्कर्ष निकाल्न सकिरहेका छैनन् । कारण के भने, अध्ययनमा समावेश गरिएका मानिसहरू प्रायः फिनल्याण्डका मध्यम उमेरका श्वेत पुरुष थिए । उनीहरू आर्थिकरूपमा सम्पन्न, शारीरिकरूपमा सक्रिय र सामाजिकरूपमा सचेत छन् । त्यसैले नतिजा अरू जनसांख्यिक समूहमा अनिवार्यरूपमा लागू हुन्छ भन्ने निश्चित छैन ।

कोपेनहेगनस्थित बिस्पेबेर्ग अस्पतालकी चिकित्सक एभा प्रेस्कट भन्छिन्, ‘महिला, युवा, वा गैर–युरोपेली समुदायका मानिसमा साउना प्रयोगको प्रभाव कस्तो हुन्छ भन्नेबारे पर्याप्त अध्ययन भएको छैन । त्यसैले विश्वव्यापीरूपमा सामान्यीकरण गर्न सकिँदैन ।’

बेलायतमा साउना संस्कृतिको माग बढिरहेको भए पनि यसले फिनल्याण्डजस्तै परिणाम दिन्छ वा दिंदैन भन्नेबारे विशेषज्ञहरू सजग छन् । ब्रिटिश साउना सोसाइटीकी निर्देशक ग्याब्रिएल रिजन भन्छिन्, ‘साउना प्रयोग बेलायतमा लोकप्रिय हुँदैछ । तर हामीसँग अझै ठोस प्रमाण छैन कि यसले फिनल्याण्डमा देखिएका फाइदा नै यहाँ पनि दिन्छ ।’

स्वास्थ्यसम्बन्धी अध्ययनमा विश्वसनीय प्रमाण पाउन रेन्डमाइज्ड कन्ट्रोल्ड ट्रायल्स (आरसीटी) लाई ‘सुनौलो मापदण्ड’ मानिन्छ । यसमा सहभागीहरूलाई दुई समूहमा विभाजन गरी एक समूहलाई उपचार दिइन्छ, अर्को समूहलाई दिइँदैन, जसले पूर्वाग्रह हटाउँछ । साउना प्रयोगबारे अनुसन्धानहरू भएका छन्, तर नतिजा अझै मिश्रित छन् ।

सन् २०२२ मा डा. लाउक्कानेन र कुनुत्सोरले गरेको एउटा आरसीटीमा व्यायामसँगै साउना गर्नेहरूमा रक्तचाप घट्ने र श्वासप्रश्वास सुधारिने देखियो । अझ धेरै र ठूलो अनुसन्धान नभएसम्म निश्चित निष्कर्ष निकाल्न सकिँदैन । साउना संस्कृतिको इतिहास लामो छ र यसका फाइदा अनुभव गर्नेहरू असंख्य छन् । तर आधुनिक चिकित्सा विज्ञान अझै यो मान्न तयार छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्