काठमाडौं, ३१ भदौ - जेनजी समूहले गरेको आन्दोलनका क्रममा भदौ २४ गते देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र र बाहिरका धेरै सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड भयो । सिंहदरबारभित्रको प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालयलगायतमा आगजनीबाट सबैभन्दा बढी क्षति पुग्यो । बबरमहलको सडक विभाग पनि सबैभन्दा बढी क्षति हुने सरकारी कार्यालयमा पर्छ । तर, सडक विभाग नजिकैको भर्खरै निर्माण भई सञ्चालनमा आएको नेपाल आयल निगमको केन्द्रीय कार्यालय भवन भने सुरक्षा गार्डका कारण तोडफोड र आगजनीबाट जोगिएको छ ।
कार्यालयको गेटमा खटिएका तीन जना सुरक्षा गार्डले आगजनी र तोडफोड गर्न आएको आन्दोलनकारीको ठूलो समूहसमक्ष अनुनय–विनय गरेपछि भवन आगजनी हुनबाट जोगिएको निगमले जनाएको छ । सुरक्षा गार्डकै कार्यकौशलले कार्यालयको नवनिर्मित भवन जोगिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । सुरक्षा गार्डको समूह आन्दोलनकारीलाई तल नै रोक्न सफल भएको थियो ।
‘आन्दोलनकारीको समूह निगम कार्यालयमा पनि तोडफोड र आगजनी गर्न भनेर आएको थियो,’ उनले भने, ‘कार्यालयका कुर्सी र कम्प्युटर लुटेर लैजानेबाहेक निगम कार्यालयमा ठूलो क्षति भएको छैन ।’ उनले निगमको टेकुस्थित कार्यालयमा मात्रै आगजनी भएको र ६ वटा गाडी जलाइएको बताए । ठाकुरका अनुसार निगमको टेकु कार्यालयमा भएको क्षतिको विवरण संकलन गर्न समिति गठन गरिएको छ ।
आन्दोलनकारी निगम कार्यालयमा आगनजी र तोडफोडका लागि आउँदा सुरक्षा गार्ड विक्रम पाण्डे र मनिराम थारु गेटमा तैनाथ थिए । पाण्डेले आगजनी र तोडफोड गर्न आएको समूह कार्यालय परिसरभित्र प्रवेश गरेपछि ड्युटी सकेर गएका अर्का सुरक्षा गार्ड रणबहादुर चन्दलाई पनि बोलाए ।
आन्दोलनकारी समूह कार्यालय प्रवेश गरी सबैभन्दा पहिले आफूले लगाएको टोपी खोसेको मुख्य सुरक्षा गार्ड पाण्डेले बताए । ‘आन्दोलनकारीको हुलमध्येबाट २ जना महिलाले मेरो शिरबाट टोपी खोसे । फेरि लगाएको लुगा खोल्न भने, मैले उनीहरूले भनेअनुसार नै लुगा खोलें । मैले खोलेको लुगा उनीहरूले नै लगे,’ उनले भने, ‘नाङ्गो बनाएपछि हातपात गर्न खोजे, मैले हातपात नगर्नु भनेर उनीहरूसामु हात जोडें ।’
आन्दोलनकारीले निगम कार्यालयमा भौतिक क्षति नगर्न भन्दा पाण्डेलाई नै आगो लगाइदिने धम्की दिएका थिए । त्यहाँ आएको भिड निकै अराजक थियो । ‘निगममा आएको भिड निकै अराजक र रिसाएको थियो । भिडले मेरो शरिरमा नै आगो लगाइदिने कुरा गरिरहेको थियो । तर, धेरै तरिकाले सम्झाएपछि उनीहरूको भौतिक आक्रमणबाट म जोगिएँ,’ उनले भने ।
आफू सिभिल ड्रेस लगाएर आउँदै गर्दा आन्दोलकारीको एउटा समूह निगमको पहिलो तलामा भएका कर्मचारीका कार्यकक्षमा प्रवेश गरी लुटपाट गरेको बताए । आन्दोलनकारीको समूहले पहिलो तलामा रहेको नायव कार्यकारी निर्देशक (अर्थ/प्रशासन) नागेन्द्र साहको कार्यकक्षबाट कम्प्युटर लुटेर लगेका छन् । सोही तलाको अन्य कर्मचारीको कार्यकक्षबाट समेत गरी ५ वटा कम्प्युटर र ५ वटा कुर्सी लिएर बाहिर निस्केको पाण्डेले बताए ।
आन्दोलनकारीले बाहिर पार्किङ गरी राखेको निगमको अनुगमनका लागि उपयोग हुने गाडीमा तोडफोड गरेका छन् । आन्दोलनकारीलाई निगमको कार्यलय पनि जनताले तिरेको करको पैसाबाटै बनाएको भनेर धेरैबेर सम्झाएको पाण्डेले बताए ।
‘म नेपाली सेनामा काम गरेर अवकास प्राप्त सैनिक हुँ । मैले शैनिक सेवामा रहँदा लिएको तालिमअनुसार नै भिड नियन्त्रण गरेर आन्दोलनकारीलाई सम्झाएर सम्भव भएसम्म कार्यालयलाई आगजनी हुनबाट जोगाउन प्रयास गरें,’ उनले भने, ‘जनताकै करको पैसाले बनेको भवन हो । तपाईंहरूकै सम्पत्ति हो । आज क्षति पु¥याए भोलि फेरि बनाउनुपर्छ ।’
नजिकै सडक विभाग जलिरहेका बेला आक्रोशमा आएको भिडबाट निगम कार्यालयमा आगजनी हुनबाट जोगाउन सफल भएकोमा गर्व लागेको उनले बताए । निगमले सडक विभागमा आगजनी भएका कारण आगो निभाउनका लागि दमकल ल्याउने प्रयास गरेको थियो ।
तर, आन्दोलनकारीले दमकललाई बाटोमै रोकेका थिए । आन्दोलनकारीले नयाँ बानेश्वर आइपुगेको दमकल सडक विभागसम्म आउन नदिएकाले बेलैमा आगो निभाउन नसकिएको प्रवत्ता ठाकुरले बताए ।
आन्दोलनकारी कम्प्युटर, कुर्सी र केही गमला लुटेर हिँडेपछि सडक विभागको भवनमा लागेको आगो निगमको भवनसम्म आइपुग्न नदिन सुरक्षाको विधि अपनाएको पाण्डेले बताए ।
११ बजे राति विभाग कार्यालयको आगो सल्किएर निगम कार्यालयसँग जोडिएको घरसम्म आइपुगेको थियो । सुरक्षा गार्डहरूले निगमको चौथो तलाबाट पानीको फोहोरा हानी आयो नियन्त्रण गरेर निगम कार्यालयसम्म आउनबाट रोकेको निगमले जनाएको छ ।