‘मृत्यु र करबाहेक संसारमा केही कुरा निश्चित छैन’ भन्ने अमिरिकी नेता बेन्जामिन फ्य्रांकलिनको भनाइमा उतिबेलै कसैले नेपाल वा दक्षिण एसिया जोडेको भए पक्कै नयाँ वाक्य थपिने थियो, असारको मनसुन !
विगतका सयौं वर्षदेखि मनसुन हाम्रा लागि मौसम मात्र थिएन । यो त हाम्रा पुर्खाको जीवनको लय थियो । जेठको अन्तिमतिर कालो बादल मडारिँदा हाम्रा गाउँमा असारे गीत गुञ्जिन थाल्थे, बाउसे र रोपार खेतमा पस्थे । साउनमा कुलोमा सुसाइरहने पानी र असोज–कार्तिकमा सुनौलो भएर झुलिने धानका बालाहरू हाम्रा बाउ–बाजेका पसिनाका साक्षी थिए ।
तर, हिजोआज यो लय बिग्रिएको छ । बेलायती पत्रिका ‘द इकोनोमिस्ट’को एउटा लेखमा भनिएको छ, ‘मनसुन झन्–झन् अनौठो र अनियन्त्रित बन्दै गएको छ ।’
उक्त लेखमा भारतको मुम्बई, गुजरात, बिहार र असमको उदाहरण दिँदै भनिएको छ‑ कतै महिनाभरिको पानी केही दिनमै ओसारेर बाढी ल्याउँछ, त कतै असार–साउनमा पनि आकाशतिर हेरेर बस्नुपर्ने गरी खडेरी पर्छ । भारतमा देखिएको यो त्रासदी आज हाम्रा नेपाली गाउँ–घरमा अझ टड्कारो रूपमा भित्रिइसकेको छ ।
आकाश तिनै, तर ताल फेरियो
हामी सोच्छौं, मौसम त हो, कहिले अलि बढी पर्ला, कहिले कम । तर, कुरा त्यतिमै सीमित छैन । द इकोनोमिस्टका अनुसार समग्र मनसुनको औसत पानीको मात्रामा धेरै ठूलो फेरबदल नदेखिए पनि पानी पर्ने ढाँचा पूरै बिग्रिएको छ ।
पहिले–पहिले मनसुन सुरु भएपछि असारदेखि भदौसम्म मीठो, लगातारको झरी पथ्र्यो । माटोले बिस्तारै पानी चुस्थ्यो, पोखरी र कुवाहरू भरिन्थे र मूल फुट्थे । तर अहिले ? अहिले कि त महिनौंसम्म खडेरी पर्छ, कि त दुई–तीन दिनमै वर्षभरिको पानी बज्रिन्छ । जलवायु परिवर्तनका कारण प्रशान्त महासागर र हिन्द महासागरको पानी अस्वाभाविक रूपमा तात्दै गएको छ । तातो हावाले बढी ओस वा सापेक्षित आद्र्रता सोसेर राख्छ । अनि जब त्यो हावा पहाडमा ठोकिन्छ, सम्हाल्नै नसकिने गरी भेल भएर खस्छ ।
हाम्रै नेपालको कुरा गरौं न, असार बित्नै लाग्दा पनि मधेशका फाँटहरूमा धान रोप्न नपाएर चिन्तित किसानका अनुहार हामीले देखेकै छौं । उता, पहाडमा भने एकै रातमा खसेको भीषण पहिरोले सिंगो गाउँ नै बगाएका समाचार दिनहुँ सुन्नुपर्छ । भदौ–असोजमा धान पाकेर घर भिœयाउनेबेला परेको अनपेक्षित बेमौसमी झरीले किसानको वर्षभरिको गाँस खोसेका दृश्यहरू अब हाम्रा लागि नयाँ रहेनन् ।
कुलो, माटो र सुक्दै गएका मूल
उक्त लेखमा एउटा महŒवपूर्ण कुरा उठाइएको छ, छोटो समयमा हुने भीषण वर्षाले जमिनलाई फाइदा होइन, उल्टै नोक्सान गर्छ । लगातार खडेरी परेर कडा भएको माटोले एक्कासि परेको ठूलो पानी सोस्नै पाउँदैन । पानी जमिनमुनि छिर्नुको सट्टा माथिल्लो मलिलो माटो बगाउँदै भेल बनेर नदीमा मिसिन्छ । यसको प्रत्यक्ष असर हाम्रा डाँडाकाँडामा देखिन थालेको छ । वर्षातमा घरअगाडिको खोला बौलाएर आउँछ तर हिउँद लाग्नेबित्तिकै पिउने पानीको मूल सुक्छ । तराईमा चापाकल सुकेर मानिसहरू एक बाल्टी पानीका लागि रातभर जाग्राम बस्न बाध्य छन् ।
हामी सोच्छौं, वर्षा धेरै भयो भने पानीको समस्या समाधान हुन्छ तर यथार्थ उल्टो भइरहेको छ‑ बर्खामा डुबान र बाढी, हिउँदमा काककुल अवस्था ।
गाउँदेखि सहरसम्मको दुःख
कृषिमा हाम्रो देशको झण्डै आधा जनसंख्या आश्रित छ, तर हाम्रा अधिकांश खेतबारी अझै पनि आकासे पानीकै भरमा छन् । मनसुन बिग्रनु भनेको सिधै किसानको भान्सा र देशको अर्थतन्त्रमा धक्का लाग्नु हो । यो दुःख गाउँमा मात्र सीमित छैन । हाम्रा सहरहरू पनि उत्तिकै जोखिममा छन् । द इकोनोमिस्टले भनेजस्तै, पहिलेको तुलनामा हाम्रा सहरहरू धेरै बाक्लिएका छन् । जताततै कङ्क्रिट र ढलान छ । काठमाडौं, पोखरा वा विराटनगरजस्ता सहरमा अलिकति ठूलो पानी पर्नेबित्तिकै सडकहरू नदीमा परिणत हुन्छन् । ढलको निकास छैन, खोला मिचेर घर बनाइएका छन् । प्रकृतिले आफ्नो बाटो रोज्दा हाम्रा घर र सडकहरू जलमग्न हुन्छन् ।
अबको बाटोः गुनासो छाडौं, तयारी गरौं
आकाशबाट पर्ने पानीलाई रोक्ने तागत न भारतसँग छ, न नेपालसँग तर यसको मारबाट जोगिने र यसलाई सम्हाल्ने तागत भने पक्कै हामीसँग छ । द इकोनोमिस्टको लेखले हाम्रा लागि एउटा ठूलो पाठ सिकाउँछ, अब केन्द्रीय सरकारको भर परेर मात्र पुग्दैन, स्थानीय तह र समुदाय आफैं जाग्नुपर्छ । नेपालको सन्दर्भमा हामीले तुरुन्तै गर्नुपर्ने केही व्यावहारिक कामहरू यी हुन्ः
१. प्रविधि र पूर्वानुमानमा सुधारः
हाम्रो मौसम विभागले कुन दिन, कुन भूगोलमा कति पानी पर्दैछ भन्ने पूर्वसूचना गाउँ–गाउँका किसानको मोबाइलसम्म पु¥याउने व्यवस्था गर्नुपर्छ । साउनमा कुन दिन भारी वर्षा हुँदैछ वा असोजमा कहिले बेमौसमी झरी पर्छ भन्ने जानकारी पहिले नै पाउँदा किसानले आफ्नो खेती र बाली जोगाउन सक्छन् ।
२. आकासे पानी सञ्चयः
अब आकासे पानीलाई बगेर जान दिनुहुँदैन । गाउँ–गाउँमा साना पोखरी, ‘रिचार्ज पिट’ (जमिनमुनि पानी पठाउने खाडल) र रिचार्ज कुवाहरू बनाउनुपर्छ । यसले बर्खाको भेललाई रोकेर जमिनमुनिको पानीको स्तर बढाउँछ र हिउँदमा सुकेका मुहानलाई फेरि ब्युँताउन मद्दत गर्छ ।
३. जलवायु–सुहाउँदो खेतीपातीः
अहिलेको बदलिँदो मौसमअनुसार हामीले हाम्रा परम्परागत बाली र खेती गर्ने तरिकामा परिवर्तन ल्याउनुपर्छ । धेरै पानी चाहिने धानको साटो कम पानीमा हुने वा खडेरी र बाढी दुवै खप्न सक्ने जातका बाली प्रवर्धन गर्नुपर्छ ।
४. प्रकृतिमैत्री विकासः
गाउँ–गाउँमा डोजर चलाएर जथाभावी बाटो खन्ने काम बन्द गर्नुपर्छ । सहरहरूमा ढलको सही निकास र पानी सोस्ने खाली ठाउँ (खुला क्षेत्र) छाड्नुपर्छ । खोला मिच्ने प्रवृत्तिलाई कडा कानुन बनाएर रोक्नैपर्छ ।
अन्त्यमा, बेन्जमनि फ््रयांकलिनको त्यो पुरानो भनाइलाई आजको सन्दर्भमा थोरै बदलेर भन्नुपर्ने भएको छ— मृत्यु, कर, मनसुन... र मनसुनको अनिश्चितता !
मौसम बदलिसकेको छ र यो अझ अनौठो हुँदै जानेछ । अब प्रकृतिलाई दोष दिने वा असारमा आकाशतिर हेरेर रोएर बस्ने समय छैन । हाम्रा हजुरबा–हजुरआमाले प्रकृतिलाई सम्झेर जसरी जीवनको लय मिलाएका थिए, हामीले पनि प्रविधिलाई पछ्याउँदै, स्थानीय ज्ञानलाई जोगाउँदै र प्रकृतिको नयाँ मिजासलाई बुझेर अघि बढ्नुछ । हामीले मनसुनलाई रोक्न सक्दैनौं तर मनसुनसँगै सुरक्षित रूपमा बाँच्न भने पक्कै सिक्नैपर्छ ।