नेभिगेशन
नेपाल

सुदन गुरुङमाथि आक्रमण प्रयास भएको दाबी

काठमाडौँ, १ असोज - गैरसरकारी संस्था हामी नेपाल का अध्यक्ष सुदन गुरुङले आफूमाथि अज्ञात व्यक्तिहरूले पच्छ्याउँदै आक्रमणको प्रयास गरेको दाबी गरेका छन् ।

गुरुङले बुधबार बिहान रानीबारीबाट बानेश्वरतर्फ जाँदै गर्दा मोटरसाइकल र गाडीमा आएका व्यक्तिहरूले आफूलाई लगातार पछ्याएको बताए । उनका अनुसार निलो पल्सर मोटरसाइकलमा दुई जना र त्यसपछि थप गाडीहरू समेत देखिएका थिए ।

गुरुङले सुरक्षा टोलीको उपस्थितिका कारण घटना हुन नपाएको उल्लेख गर्दै, करिब एक घण्टासम्म पछ्याइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सेनाको सहारा लिनु परेको बताए । उनले पछ्याउने व्यक्तिहरूको उद्देश्य आक्रमणमै केन्द्रित भएको आशंका व्यक्त गरेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकारीले भने यसबारे प्रहरीलाई कुनै आधिकारिक जानकारी नआएको बताए ।

हालै सम्पन्न जेन–जी आन्दोलनका गतिविधिपछि चर्चामा आएका गुरुङ अन्तरिम सरकार निर्माणको प्रक्रियामा समेत सक्रिय देखिएका थिए । प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण कार्यक्रममा उनको उपस्थिति र उनले कार्कीलाई गरेको सम्मानले सामाजिक सञ्जालमा चर्चा पाएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्