नेभिगेशन
प्रदेश

‘शून्यबाट उठ्नेछ वीरगञ्ज’

वीरगञ्ज, १ असोज - जेनजी विद्रोहको क्रममा नेपालको प्रमुख व्यापारिक शहरको रुपमा चिनिने पर्साको वीरगञ्ज महानगरपालिका कार्यालय पूर्ण रुपमा ध्वस्त भएको छ । आगजनीका कारण महानगरका महत्वपूर्ण कागजात खरानी बनेका छन् भने उक्त विध्वंशले महानगरलाई १ अर्ब भन्दाबढीको नोक्सानी भएको प्राारम्भिक अनुमान छ । 

प्रदर्शनकारीहरूको निशानामा नगर प्रमुख राजेशमान सिंहको निजी घर पनि पर्‍यो । साँझपख अराजक भिडले नगर प्रमुख सिंहको २ वटा घरमा आगो लगाई सम्पूर्ण सामान लुटपाट गरे । प्रमुख सिंह आन्दोलनको एक दिनअघि मात्रै जापानबाट वीरगञ्ज आइपुगेका थिए ।

नगर प्रमुख सिंहले जेनजी विद्रोह व्यक्तिगत रिस साध्नका लागि उपयोग भएको बताए । ‘यो काम जेनजीले गरेकै होइन । कसैलाई मदेखि रिस थियो । घर जलायो । तर महानगरको के दोष ? आफ्नै सम्पत्ति जलाउँदा उनीहरूका हात कापेन ?’ उनले प्रश्न गरे ।

नगर प्रमुख सिंहले अराजक समूहले भौतिक संरचनामा आक्रमण गरे पनि आफूहरूको आत्मबल नडग्मगाएको बताए । उनले आफूलाई कमजोर र असफल बनाउने षडयन्त्र भइरहेको बताउँदै आफू कुनै पनि हालतमा नझुक्ने प्रतिबद्धता जाहेर गरे ।

उनले महानगर शीघ्र सुचारु हुने र पुरानै लयमा फर्कने प्रतिबद्धता जाहेर गरे । उनले आफ्नो घर र महानगर कार्यालय जलाउन खोज्ने व्यक्तिहरू को हुन् भन्ने पत्ता लागिसकेको हुँदा यथाशीघ्र कारबाहीको दायरामा ल्याइने बताए । उनले आफ्नो ज्यानको पर्वाह नगरी अन्तिमसम्म महानगरपालिकालाई क्षतिबाट जोगाउन प्रयास गर्ने नगर प्रहरीलाई पनि धन्यवाद दिए । 

अहिले महानगरपालिकाको कार्यालय सफाईको काम भइरहेको छ भने मर्मतसम्भारको काम पनि सुरु भएको छ । लुटपाट गर्नेको पहिचान गरी लुटिएका सामान नियन्त्रणमा लिने काम पनि जारी छ । हालसम्म महानगरका ३० ट्रयाक्टर नियन्त्रणमा आइसकेको छ भने अन्य सामान खोजी गर्ने कार्य भइरहेको नगर प्रहरी प्रमुख हरि भुसालले बताए ।

मंगलबार बसेको वीरगञ्ज महानगरपालिकाको नगर परिषद्को बैठकले आन्दोलनमा सहादत प्राप्त गरेका प्रति शोक प्रस्ताव पारित गर्दै आर्थिक वर्ष २०८२-८३ मा विनीयोजित बजेटलाई संशोधन गरी पुनःनिर्माणलाई प्राथमिकता दिने निर्णय गरेको छ । 

प्रदर्शनका कारण महानगरलाई १ सय ११ करोडको नोक्सानी भएको र थप विवरण संकलन गर्ने कार्य भइरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्