जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री सतीशकुमार सिंहको राजीनामालाई लिएर जनमत पार्टीभित्रको विवाद चुलिएको छ । जसको असर पार्टी अध्यक्ष सीके राउतसम्म पुगेको छ ।
पार्टीभित्र उत्पन्न विवाद र असन्तुष्टिका कारण ६ जना नेताले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले सामाजिक सञ्जालमा अध्यक्ष राउतको राजीनामा माग गर्दै पोस्ट गरेपछि राउतले पनि उनीहरूलाई पार्टी छोड्न चुनौती दिएका थिए ।
मुख्यमन्त्री सिंहलाई पार्टीले सोध्यो स्पष्टीकरण
मुख्यमन्त्री सतीशकुमार सिंहले जेन–जी आन्दोलनका कारण सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरे पनि पछि आफ्नो अडानबाट पछि हटे । उनको यस कदमले पार्टीभित्र असन्तुष्टि बढाएको छ भने जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले सरकारबाट समर्थन फिर्ता लिने र मुख्यमन्त्रीसहित सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरे ।
संसदीय दलका नेता यादवले यससम्बन्धी पत्र सभामुख र प्रदेश प्रमुखको कार्यालयमा पठाए पनि मुख्यमन्त्री सिंहले उक्त दबाबलाई बेवास्ता गर्दै प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । यसैबीच, संसदीय दलका नेता यादवले मुख्यमन्त्री सिंहलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेका छन् ।
पार्टीको केन्द्रीय अनुशासन विभागले मुख्यमन्त्री सिंहलाई पार्टीको निर्णयविपरीत गतिविधि गरेको भन्दै तीन दिनभित्र लिखित जवाफ दिन स्पष्टीकरण सोधेको छ ।
अनुशासन समितिका संयोजक नरेन्द्र प्रसाद चौधरीले जारी गरेको स्पष्टीकरणमा भनिएको छ, 'जनमत पार्टी मधेस प्रदेश संसदीय दलले सरकारमाथि विश्वास नरहेको भन्दै पार्टी सरकारबाट बाहिरिने र आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्दा पनि तपाईंले पद नछाडी पार्टीको हितविपरीत काम गर्नुभएको छ ।’
पार्टी अध्यक्षको राजीनामा माग्दै सामूहिक राजीनामा
जनमत पार्टीभित्रको आन्तरिक कलहका कारण अध्यक्ष सीके राउतको राजीनामा माग्दै पार्टीका उपाध्यक्ष अब्दुल खाँको नेतृत्वमा ६ जना नेताले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले अध्यक्ष राउतका दाजु तथा संगठन विभाग प्रमुख जयकान्त राउतलाई नेतृत्व परिवर्तनसम्बन्धी पत्र बुझाएका थिए ।
राजीनामा दिने नेताहरूले पछिल्लो समय पार्टी नेतृत्वको कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र जनभावनाविपरीतका गतिविधिले पार्टीलाई कमजोर बनाएको आरोप लगाएका छन् । राजीनामा दिनेमा पार्टीका केन्द्रीय प्रवक्ता डा. शरतसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेशका इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बम रहेका छन् ।
नेताहरूले राजीनामा माग गरेपछि अध्यक्ष सीके राउतले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, 'यो पार्टी छोड्ने राम्रो मौका हो । यदि कसैलाई पार्टीमा उकुसमुकुस लागेको छ, अनुशासनमा बस्न सकिँदैन वा नयाँ पार्टी खोल्न चाहनुहुन्छ भने योभन्दा राम्रो मौका आउँदैन ।’
उनले पार्टीलाई स्वच्छ, बफादार र इमानदार सदस्यहरूको पार्टी बनाउनका लागि शुद्धीकरण अभियानमा सहयोग गर्न पनि आग्रह गरेका छन् । यसअघि, अध्यक्ष राउतको आलोचना गर्ने वरिष्ठ उपाध्यक्ष ई. दीपक साहलगायत दर्जनौं नेतालाई पार्टीबाट निष्कासन गरिएको थियो ।
जनमत पार्टीमा देखिएको यो विवाद 'जेनजी आन्दोलन’पछि अन्य प्रमुख दलहरूमा पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने दबाब बढिरहेका बेला आएको छ ।