नेभिगेशन
नेपाल

'कता छ सरकार, कता छन् ठेकेदार ?'

प्रवेशकुमार मिश्र, सप्तरी, २६ साउन ।  

सप्तरीको‌ प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिर जाने मुख्य मार्ग लामो समयदेखि जीर्ण छ । सदरमुकाम राजविराजदेखि सखडा हुँदै गोविन्दपुरसम्मको उक्त सडक अविलम्ब निर्माण हुनुपर्ने माग गर्दै सोमबार स्थानीयबासीले प्रदर्शन गरेका छन् । 

पूर्वमन्त्री तथा संविधानसभा सदस्य उमेश यादवको नेतृत्वमा प्रदर्शन भएको हो ।  सडक निर्माणमा सरकारले उदासीनता देखाएको भन्दै स्थानीयले पैदल मार्चसंगै मैनबत्ती बालेर प्रदर्शन गरेका हुन् । 

उनीहरूले ‘कता छ सरकार, कता छ ठेकेदार ?’ भन्दै नाराबाजी गरे । सरकार र ठेकेदारले जिम्मेवारी पूरा नगर्दा जनताले दुःख पाएको स्थानीयको गुनासो छ ।  ठेकेदारले काम अलपत्र छाडेपछि राजविराज–हनुमाननगर–पातो–कठौना, राजविराज–तिलाठी–रम्पुरा मल्हनिया लगायतका मार्गहरू निर्माणको काम वर्षौंदेखि अलपत्र छ । यसले सर्वसाधारणलाई दैनिक आवागमनमा कष्टकर छ ।

‘सरकारमा बसेकाहरूले यहाँ ध्यान नदिदा सडक नबनेको हो,’ यादवले भने, ‘हामी बाध्यता भएर प्रदर्शनमा निकस्नुपरेको हो ।’ काम नगर्ने ठेकेदारलाई हटाएर सरकारले निर्माणको विकल्प दिनुपर्ने उनले बताए । प्रदर्शनपछि यादवले सार्वजनिक खरिद ऐनमा व्यापक सुधारको आवश्यकता औंल्याए ।

लापरवाही गर्ने ठेकेदारलाई सरकारले कारबाहीको सट्टा म्यादमाथि म्याद थप मात्र गर्ने गरेको आरोप यादवले लगाए । ‘नटेर्ने ठेकेदारलाई सरकारले कारबाही गर्नै सकेको छैन,’ उनले भने, ‘त्यसैले त हामी सरकारलाई खोज्दै आयौं, ठेकेदारलाई‌ खोज्दै आयौं । सरकार बनाउने ती जनप्रतिनिधिलाई खोज्दै आयौं ।’ काम नगर्ने ठेकेदारलाई नै जिम्मेवारी दिइरहनु भ्रष्टाचार भएको उनले बताए । 

स्थानीय स्तरमा सडक खण्ड मर्मतका लागि पटक–पटक उठिरहेका आवाजलाई सरकारले नजरअन्दाज गर्न नहुने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्