बारा, ३ असोज - बारामा तीन महिनाको अवधिमा चार जनाको ज्यान लिने नरभक्षी बाघ अन्ततः दुई सातापछि नियन्त्रणमा आएको छ । बाघ नियन्त्रणमा आएसँगै त्रसित बनेका स्थानीयले राहतको अनुभूति गरेका छन् ।
नरभक्षी बाघलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी र प्राविधिक टोलीले विभिन्न तीन स्थानमा राँगो बाँधेर निगरानी गरिरहेका थिए । तीमध्ये जीतपुर–सिमरा उपमहानगरपालिका–२१ को जंगलमा बाँधिएको राँगोलाई बाघले गएराति करिब ११ बजे आक्रमण गरेपछि टोली सक्रिय बनेको हो ।
विहीबार राँगोलाई बाघले आक्रमण गरेलगत्तै पर्सा राष्ट्रिय निकुञ्जका हात्तीसहितका प्राविधिक टोली, सुरक्षाकर्मी र डार्ट प्राविधिकहरू परिचालन गरियो । शुक्रबार बिहान करिब ८ः११ बजे अमलेखगन्ज क्षेत्रमा पर्ने मझैना फायरलाइनमा बाघलाई डार्ट हानेर नियन्त्रणमा लिइएको जीतपुर–सिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिए । उनका अनुसार, बाघले राँगोलाई आक्रमण गरेलगत्तै खोजतलास सुरु भएको थियो ।
पहिलो डार्टमै बाघ बेहोस भयो र नियन्त्रणमा लिन सफल भएको हो । पर्सा राष्ट्रिय निकुञ्जले निरन्तर आक्रमणपछि करिब दुई सातादेखि बाघको निगरानी गरिरहेको थियो । हात्ती प्रयोग गरेर सुरक्षाकर्मी तैनाथ गरिएका थिए भने विभिन्न प्राविधिक टोलीलाई जंगल क्षेत्रमा परिचालन गरिएको थियो ।
यस क्रममा निकुञ्जका कर्मचारीसँगै डिभिजन वन कार्यालय बारा, चितवनबाट आएका राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रका प्राविधिक टोली, नेपाल प्रहरी र नेपाल आर्मी सक्रिय रूपमा संलग्न थिए ।
डिभिजन वन कार्यालय बारा प्रमुख राजीव झाका अनुसार, बाघलाई हात्ती प्रयोग गरेर डार्टमार्फत बेहोस पारिएको हो । उनले भने, ‘स्थानीय बासिन्दा त्रासमुक्त बनाउन बाघ नियन्त्रणमा लिनुपरेको हो । मानिसमाथि निरन्तर आक्रमण गर्दै आएको बाघलाई निकुञ्जको चिडियाखानामा राखिएको छ ।’
गत तीन महिनामा सो बाघको आक्रमणमा परी बाराका विभिन्न ठाउँमा चारजनाको मृत्यु भएको थियो । यस घटनाले स्थानीयमा गहिरो त्रास फैलिएको थियो । साँझपख खेतबारी जान, जंगल पस्न वा दैनिक आवतजावतमै कठिनाइ भएको थियो । त्यसैले बाघ नियन्त्रणमा लिन सरोकारवाला निकायमाथि दबाब बढ्दै गएको थियो ।
स्थानीय बासिन्दाले बाघ नियन्त्रणमा आएको खबरसँगै राहतको अनुभूति गरेका छन् तर उनीहरूले दीगो व्यवस्थापनका लागि सरकार र निकुञ्जलाई थप सजग रहन आग्रह गरेका छन् । उनीहरूको भनाइमा त्रास उत्पन्न गर्ने बाघ त नियन्त्रणमा आयो, तर भविष्यमा यस्ता घटना दोहोरिन नदिन निकुञ्जबाट दीगो समाधान चाहिन्छ ।
नियन्त्रणमा लिइएको बाघको शरीरमा केही चोटपटक देखिएको छ । डार्ट हानेर नियन्त्रणमा लिएपछि उपचार र आवश्यक परीक्षणका लागि चिडियाखानामा राखिएको जनाइएको छ ।