नेभिगेशन
साहित्य

भाषिक विविधताको स्वर्णयुग कसरी आयो र हरायो ?

अहिले संसारभर करिब ७ हजार ५०० भाषा बोलिन्छन् वा सांकेतिक भाषाका रूपमा प्रयोग हुन्छन् । झट्ट हेर्दा यो संख्या निकै ठूलो लाग्छ । तर, केही हजार वर्षअघि संसारमा अहिलेभन्दा १० गुणासम्म बढी भाषा रहेको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ ।
येल विश्वविद्यालयकी भाषाविद् क्लेयर बोवर्न भन्छिन्, ‘त्यो भाषिक विविधताको स्वर्णयुग थियो ।’ साइन्स न्यूजका अनुसार, यतिबेला भने संसारका करिब आधा भाषा लोप हुने जोखिममा छन् । हरेक वर्ष झण्डै चारवटा भाषा हराउँदै छन् । त्यसैले वैज्ञानिकहरू लोप हुन लागेका भाषाको अभिलेख राख्ने र तिनलाई सकेसम्म जोगाउने प्रयास गरिरहेका छन् ।

पुराना भाषा कति थिए ?
मानिसले संसारलाई कसरी बुझ्छ र त्यसबारे कसरी सोच्दछ भन्ने कुरा बुझ्न भाषाको अध्ययन निकै महŒवपूर्ण छ । हरेक भाषामा संसारलाई हेर्ने र बुझ्ने आफ्नै तरिका हुन सक्छ ।
तर विगतमा कति भाषा थिए भन्ने पत्ता लगाउन सजिलो छैन । भाषाले जीवाश्मजस्तो कुनै अवशेष छाड्दैन । लेखन प्रणाली पनि करिब ६ हजार वर्षअघि मात्र विकास भएको हो । त्यसमाथि, त्यसबेला पनि सबै भाषाको लिखित रूप थिएन ।
त्यसैले बोवर्न र उनका सहकर्मीहरूले एउटा नमूना बनाएर विगत १२ हजार वर्षमा संसारका भाषाको संख्या कसरी बदलियो होला भन्ने अनुमान गरे ।

एउटा समूह, एउटा भाषा
अनुसन्धानकर्ताहरूले अहिले पनि सिकार र संकलनमा निर्भर रहेका १७० भन्दा बढी मानव समूहको अध्ययन गरे । उनीहरूले यी समूहलाई हजारौं वर्षअघिका मानव समुदायको प्रतिनिधिका रूपमा लिए ।
यस्ता समूहको सामाजिक संरचना समयसँगै केही बदलिए पनि धेरै कुरा अझै उस्तै छन् । सामान्यतया एउटा समूहमा केही सयदेखि एक हजारभन्दा बढी मानिस हुन्छन् र एउटा समूहले प्रायः एउटै भाषा बोल्छ ।
यस आधारमा अनुसन्धानकर्ताहरूले कृषिको विकास हुनुअघि, अर्थात् करिब १२ हजार वर्षअघि, मानिसको समूह जति थिए, लगभग त्यति नै भाषा पनि थिए भन्ने अनुमान गरे ।
त्यतिबेला संसारको जनसंख्या करिब ४४ लाखदेखि ७० लाखसम्म थियो । त्यस आधारमा विश्वमा करिब ४ हजार ५०० देखि ६ हजार २०० भाषा रहेको हुन सक्ने अनुमान गरिएको छ ।

कृषिले बदल्यो भाषाको संसार
कृषिको सुरुवातले भने मानव जीवनमा ठूलो परिवर्तन आयो । कृषिले मानिसलाई पर्याप्त खाद्यान्न उपलब्ध गरायो । जनसंख्या बढ्न थाल्यो । एउटै भाषा बोल्ने मानिसको संख्या पनि बढ्दै गयो ।
जनसंख्या बढ्दै जाँदा नयाँ भाषा पनि बन्न थाले । उदाहरणका लागि, एउटै भाषा बोल्ने मानिसको ठूलो समूह दुई भागमा छुट्टियो भने समयसँगै उनीहरूको भाषा पनि फरक हुन सक्छ ।
तर यस्तो परिवर्तन तुरुन्तै हुँदैन । अनुसन्धानकर्ताहरूका अनुसार दुई समूहका भाषा पूर्ण रूपमा अलग भाषा बन्न ५०० देखि १ हजार वर्ष लाग्न सक्छ ।
यसको अर्थ जनसंख्या धेरै छिटो बढ्दा भाषाको संख्या भने त्यही गतिमा बढ्न सक्दैन ।

भाषा ७५ हजारसम्म 
अनुसन्धानकर्ताहरूले जनसंख्या, रोग र अन्य परिस्थितिलाई समेटेर विभिन्न सम्भावित अवस्था बनाएर अध्ययन गरे । अचम्मको कुरा के थियो भने, सबै अवस्थाबाट लगभग एउटै निष्कर्ष आयो ।
करिब १ हजारदेखि ३ हजार वर्षअघि संसारमा भाषाको संख्या सबैभन्दा धेरै थियो । त्यतिबेला विश्वमा २० हजारदेखि ७५ हजारसम्म भाषा रहेको हुन सक्ने अनुमान गरियो । तर त्यसपछि भाषाको संख्या तीव्र रूपमा घट्न थाल्यो ।
अनुसन्धानकर्ताहरूका अनुसार यसको एउटा प्रमुख कारण कृषिको विस्तार र ठूला साम्राज्यहरूको उदय हुन सक्छ । ठूला राजनीतिक शक्तिहरू विस्तार हुँदै जाँदा साना समुदाय र तिनका भाषामाथि दबाब बढ्यो । धेरै भाषा हराउँदै गए ।

औपनिवेशिक युगभन्दा धेरै पुरानो समस्या
यो निष्कर्षले भाषाको इतिहासबारे भइरहेका पुराना बहसलाई नयाँ दिशा दिएको छ । यसअघि केही वैज्ञानिकले कृषि सुरु हुनुअघि नै भाषिक विविधता सबैभन्दा धेरै रहेको हुन सक्ने बताएका थिए । अर्को एउटा विचारअनुसार आज देखिएको भाषिक लोपको मुख्य कारण करिब ५०० वर्षअघि सुरु भएको औपनिवेशिक विस्तार हो ।
तर नयाँ अध्ययनले यी दुवै धारणालाई चुनौती दिएको छ । यसको निष्कर्षअनुसार भाषाको ठूलो क्षय कृषि र साम्राज्यको विस्तारसँगै हजारौं वर्षअघि नै सुरु भएको हुन सक्छ ।
इटालीको काग्लियारी विश्वविद्यालयमा भाषिक विविधताको अध्ययन गर्ने आनुवंशिकीविद् चियारा बार्बिएरीका अनुसार यो अध्ययनले भाषाको इतिहासलाई हेर्ने नयाँ दृष्टिकोण दिएको छ ।
आज बाँकी रहेका भाषामै पनि ठूलो विविधता छ । त्यसैले हजारौं वर्षअघि हराइसकेका भाषामा कस्ता विशेषता थिए होला भन्ने प्रश्न उठ्छ । बार्बिएरी भन्छिन्, ‘के त्यस्ता भाषा थिए, जसका केही विशेषता आज हामीलाई कल्पना गर्न पनि गाह्रो हुन्छन् ? यस्तो सोच्दा त दिमाग नै घुम्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्