आधुनिक पश्चिमी समाज आज एउटा गम्भीर वैचारिक र सांस्कृतिक संकटबाट गुज्रिरहेको छ । आप्रवासन, बहुसांस्कृतिकता, विविधता र लैंगिक पहिचानजस्ता विषयलाई आधुनिक लोकतन्त्रको सबैभन्दा ठूलो उपलब्धि मान्नेहरूको यहाँ कमी छैन । तर, मेरो स्पष्ट मान्यता छ—यिनै नीति र विचारहरूले पश्चिमी सभ्यतालाई भित्रभित्रै खोक्रो र कमजोर बनाइरहेका छन् । मेरो भर्खरै प्रकाशित पुस्तक ‘सुसाइडल इम्प्याथीः डाइङ टु बी काइन्ड’ (आत्मघाती सहानुभूति) मा मैले यसै विषयलाई गहिराइबाट केलाउने प्रयास गरेको छु । मेरो निष्कर्ष प्रस्ट छः आजको पश्चिमी समाज ‘आत्मघाती सहानुभूति’को सिकार भएको छ । अत्यधिक र विवेकहीन सहानुभूति कुनै ठूलो मानवीय गुण होइन, बरु यसले सिंगो समाजलाई आत्मविनाशतर्फ धकेल्न सक्छ । यही सत्यलाई आत्मसात् गर्दै म अहिले क्यानडा छोडेर संयुक्त राज्य अमेरिकाको मिसिसिपी विश्वविद्यालयमा प्राध्यापन गर्न जाँदैछु । अमेरिकी उदारवादीहरू रिपब्लिकन नेता राष्ट्रपति बने क्यानडा सर्ने धम्की दिन्छन्, तर म भने आफ्ना मूल्य र मान्यताको खोजीमा क्यानडाबाट अमेरिका सर्दैछु । यो मेरो व्यक्तिगत बसाइँसराइ मात्र होइन, वैचारिक स्वतन्त्रताको खोजी पनि हो ।
मैले क्यानडा छोड्नुको मुख्य कारण त्यहाँको बिग्रँदो राजनीतिक र शैक्षिक वातावरण हो । आज त्यहाँ विविधता (डाइभर्सिटी), समावेशिता (इन्क्लुजन) र समानता (इक्विटी) जस्ता शब्दलाई चाहिनेभन्दा बढी महŒव दिइएको छ । म यी तीन शब्दलाई व्यंग्यात्मक रूपमा ‘डीआईई’ (मर्नु) भन्न रुचाउँछु । क्यानडाका विश्वविद्यालय, सरकारी कार्यालय र सार्वजनिक जीवनमा यस्ता नीतिहरूलाई यति धेरै प्राथमिकता दिइएको छ कि अहिले त्यहाँ खुला बहस र वैचारिक स्वतन्त्रता लगभग समाप्त भएको छ । विश्वविद्यालयहरू, जुन कुनै बेला स्वतन्त्र विचारका मन्दिर हुन्थे, आज फरक विचार राख्ने प्राध्यापक वा विद्यार्थीलाई सामाजिक रूपमा बहिष्कार गर्ने थलो बनेका छन् । एउटा बौद्धिक व्यक्तिका लागि योभन्दा निसासिँदो अवस्था अरू केही हुन सक्दैन ।
क्यानडा छोड्नुको अर्को गम्भीर कारण त्यहाँ बढ्दै गएको यहूदीविरोधी भावना हो । अक्टोबर ७ को घटनापछि क्यानडामा यहूदी समुदायमाथि हुने घृणाजन्य अपराधहरू निकै बढेका छन् । तर, त्यहाँको सरकारको मौनता र प्रतिक्रिया निकै निराशाजनक छ । वास्तविक पीडितको सुरक्षा गर्नुको साटो त्यहाँका नेताहरू आफूलाई नैतिक रूपमा महान् र उदार देखाउन तल्लीन छन् । उनीहरू यहूदीमाथिको आक्रमणलाई भन्दा इस्लामोफोबियालाई बढी प्राथमिकता दिन्छन् । यही नै ‘आत्मघाती सहानुभूति’को सबैभन्दा ज्वलन्त उदाहरण हो, जहाँ सत्यलाई भन्दा राजनीतिक रूपमा सही देखिने कुरालाई महŒव दिइन्छ ।
यसबाहेक, क्यानडाको आर्थिक नीतिले पनि मलाई निराश बनाएको छ । त्यहाँको उच्च कर प्रणाली र विशेषगरी देश छोडेर जाने व्यक्तिमाथि लाग्ने ‘डिपार्चर ट्याक्स’ पूर्ण रूपमा अनुचित छ । स्वतन्त्र समाजमा कुनै पनि नागरिकले आफ्नो रगत र पसिना बगाएर कमाएको सम्पत्तिमाथि यसरी कर लगाउनु र लुट्नु न्यायसंगत होइन । यसले व्यक्तिलाई आफ्नो सफलताको सजाय दिएजस्तो महसुस गराउँछ ।
मेरो आफ्नै जीवन पनि एउटा आप्रवासीको कथा हो । म लेबनानमा जन्मिएको एक यहूदी हुँ । सन् १९७५ मा लेबनानमा भयानक गृहयुद्ध सुरु भएपछि मेरो परिवार आफ्नो ज्यान बचाउन बेरुत छोडेर क्यानडाको क्युबेकमा बसाइँ सरेको थियो । त्यो बेलाको क्युबेक र आजको क्युबेकमा आकाश–जमिनको फरक आइसकेको छ । मेरो बाल्यकालमा मोन्ट्रियलका सडकमा मुस्लिम महिलाले अनुहार छोप्ने बुर्का वा घुम्टो लगाएको देख्न निकै मुस्किल पथ्र्यो । तर, आज त्यहाँका कतिपय क्षेत्रमा आधाभन्दा बढी महिलाले यस्तो धार्मिक पोसाक लगाएको देख्न सकिन्छ । यो परिवर्तन मुख्यतया उत्तर अफ्रिकाबाट भएको ठूलो आप्रवासनको परिणाम हो, जसले क्यानडाको सांस्कृतिक र सामाजिक स्वरूपलाई पूरै बदलिदिएको छ ।
मेरो सिद्धान्तको केन्द्रबिन्दु ‘आत्मघाती सहानुभूति’ हो । सामान्य अवस्थामा सहानुभूति मानव समाजलाई जोड्ने एउटा सुन्दर र आवश्यक गुण हो । यसले हामीलाई अरूको दुःख बुझ्न र सहयोग गर्न सिकाउँछ । तर, जब हामी तथ्य, तर्क र त्यसको दीर्घकालीन असरलाई बेवास्ता गर्दै केवल भावनामा बगेर सहानुभूति देखाउँछौं, तब त्यो समाजकै लागि विष बन्न पुग्छ । महान् दार्शनिक अरिस्टोटलले भनेजस्तै, कुनै पनि राम्रो गुणको अत्यधिक प्रयोग गरियो भने त्यो अन्ततः नराम्रो कुरामा परिणत हुन्छ । आज पश्चिमी समाजले यही गल्ती गरिरहेको छ ।
यसका साथै, मैले ‘विचारका परजीवी’ (आइडिया प्याथोजन्स) को अवधारणा पनि अघि सारेको छु । केही खराब विचारहरू भाइरसजस्तै हुन्छन्, जसले मानिसको सही तर्क गर्ने क्षमता र भावनात्मक सन्तुलनलाई भित्रभित्रै नष्ट गरिदिन्छन् । आज सहानुभूतिलाई एउटा राजनीतिक हतियारका रूपमा प्रयोग गरिएको छ । पश्चिमी समाजका यी वैचारिक समस्याहरूको जरो विश्वविद्यालयहरूमा छ । उत्तरआधुनिकतावाद, सांस्कृतिक सापेक्षवाद, र वस्तुगत सत्यलाई नकार्ने प्रवृत्तिहरू विश्वविद्यालयबाट सुरु भएर आज समाजको हरेक कुनामा फैलिएका छन् । यसैकारण आज लिंग, संस्कृति, राष्ट्र र नैतिकताजस्ता आधारभूत कुराहरूमा पनि समाज विभाजित र अलमलमा परेको छ ।
आप्रवासनको सन्दर्भमा पनि हामीले यथार्थलाई स्वीकार गर्नुपर्छ । संसारका सबै संस्कृतिका मानिसहरू पश्चिमी समाजको लोकतान्त्रिक मूल्य र मान्यतामा सजिलै भिज्न सक्छन् भन्ने सोच्नु एउटा ठूलो भ्रम हो । केही समाजका मानिसहरू यहाँ सजिलै घुलमिल हुन्छन् भने, केहीलाई लोकतान्त्रिक स्वतन्त्रता र मूल्यहरू स्वीकार गर्न निकै गाह्रो हुन्छ । तर, आज यस्तो सत्य बोल्दा तुरुन्तै असहिष्णु वा जातिवादीको बिल्ला लगाइन्छ । जसका कारण पश्चिमी समाजले यथार्थपरक छलफल गर्नै छोडेको छ । म विविधताको विरोधी पटक्कै होइन । विविधता तबसम्म मात्र राम्रो हुन्छ, जबसम्म यसले लोकतन्त्र, व्यक्तिगत स्वतन्त्रता र मानवअधिकारजस्ता हाम्रा साझा मूल्यहरूलाई कमजोर बनाउँदैन । यदि कुनै संस्कृति वा विचारधाराले समलैंगिक, महिला वा धार्मिक अल्पसंख्यकहरूको अधिकारलाई सिधै अस्वीकार गर्छ भने, त्यसलाई ‘सांस्कृतिक विविधता’को नाममा चुपचाप सहेर बस्न सकिँदैन ।
वर्तमान राजनीतिक परिदृश्यमा, म डोनाल्ड ट्रम्पलाई पश्चिमी राजनीतिमा ‘सबैभन्दा कम आत्मघाती सहानुभूति भएको नेता’ मान्छु । उनी वर्तमान समयका लागि एउटा परिवर्तनको अवसर हुन सक्छन्, तर उनी मात्रै हाम्रा सबै समस्याको दीर्घकालीन समाधान होइनन् । जबसम्म पश्चिमी समाजको बौद्धिक र सांस्कृतिक सोचमा गहिरो परिवर्तन आउँदैन, तबसम्म मूल समस्या जस्ताको तस्तै रहनेछ । क्यानडाको अवस्था त झनै नाजुक छ । म भन्छु, क्यानडा अहिले ‘सभ्यतागत सेप्पुकु’ अर्थात् आत्मविनाशको अन्तिम चरणमा पुगिसकेको छ । जापानी परम्परामा जसरी मानिसले आफ्नै हातले आफ्नो ज्यान लिन्छ (सेप्पुकु), त्यसैगरी आज पश्चिमी समाजले आफ्नै हातले आफ्नो मूल्य, पहिचान र सांस्कृतिक आत्मविश्वासलाई मारिरहेको छ ।
अन्त्यमा, ‘आत्मघाती सहानुभूति’ केवल मेरो पुस्तकको नाम मात्र होइन, यो आधुनिक पश्चिमी सभ्यताले कहाँ बाटो बिरायो भनेर सोधिएको एउटा गम्भीर प्रश्न हो । जनसांख्यिक परिवर्तन, राजनीतिक शुद्धताको नाटक र चाहिनेभन्दा बढी आत्मालोचना गर्ने बानीले आज पश्चिमी समाज आफ्नै जरा काट्ने काम गरिरहेको छ । हामीले समयमै आफ्ना कमजोरीहरूलाई स्वीकार गरेर सत्य बोल्ने साहस गरेनौं भने, हामीले निर्माण गरेको यो स्वतन्त्र र लोकतान्त्रिक सभ्यता इतिहासको पानामा मात्र सीमित हुनेछ ।
(ग्याद सादको केही समयअघि ‘सुसाइडल इम्प्याथीः डाइङ टु बी काइन्ड’ पुस्तक बजारमा आएको छ ।)