नेभिगेशन
प्रवास

‘ल्हेन्दे प्रलय’ले झस्कियो संसार

‘यो बाढीमात्रै नभई चेतावनी हो’

काठमाडौं । चिनियाँ भूभागको ल्हेन्दे खोलाबाट सुरु भएर भोटेकोशी–त्रिशूली करिडोर हुँदै तलतिर बगेको भदौ १० गतेको विनाशकारी बाढीले नेपाललाई मात्र होइन, संसारलाई झस्कायो । केही मिनेटमै बस्ती, पुल, सडक, जलविद्युत् आयोजना र सयौं परिवारको जीवन तहसनहस पार्ने यो विपत्ति अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समेत प्रमुख विषय बन्न पुग्यो ।
विदेशी सञ्चारमाध्यमले यसलाई ‘नेपाल–तिब्बत फ्ल्यास फ्लड’, ‘भोटेकोशी बाढी’ वा ‘हिमनदी–चट्टान स्खलनपछि आएको बाढी’का रूपमा प्रस्तुत गरे । तर उनीहरूको कभरेजलाई एकै ठाउँमा राखेर हेर्दा विश्वले यो घटनालाई केवल एउटा बाढीका रूपमा नहेरेको स्पष्ट हुन्छ । यसलाई मानवीय त्रासदी, जलवायु संकट, हिमाली अस्थिरता, कमजोर पूर्वसूचना प्रणाली र सीमापार विपद् व्यवस्थापनको चुनौतीसँग जोडेर हेरिएको छ ।
जल तथा मौसम विज्ञ ङमिन्द्र दाहाल भन्छन्, ‘नेपालको यो निजी प्राकृतिक विपत्तिका रूपमा मात्र रहेन । हिमालको काखमा केही मिनेटमै बस्ती, पुल, सडक, जलविद्युत् आयोजना र सयौं परिवारको जीवन बगाएको घटनाले विश्वका प्रमुख सञ्चारमाध्यमको ध्यान तान्यो ।’
उनका अनुसार उच्च हिमाली क्षेत्रसँग जोडिएका विषयमा अन्तर्राष्ट्रिय चासो स्वाभाविक रूपमा बढी हुन्छ । त्यसमा तिब्बत र चीनसमेत प्रभावित भएको, घटनाको भिजुअल रेकर्ड उपलब्ध भएको र मानवीय क्षति व्यापक भएकाले विश्वको ध्यान अझ बढेको हो ।

बेलायतको ‘द गार्डियन’ र ‘द अब्जर्भर’ले विपत्तिलाई तथ्यांकभन्दा बढी मानवीय अनुहारबाट प्रस्तुत गरे । ‘गार्डियन विक्ली’को सेप्टेम्बर ४ को आवरणमा ‘बाढीले सबै बगायो’ भन्ने भावको मुख्य कथा थियो । त्यसले प्राविधिक बहसबाट होइन, एक नेपाली महिलाको पीडा र उनको अनुहारमा देखिएको त्रासबाट विपत्तिको कथा सुरु गरेको थियो ।
यसअघि अगस्ट २८ मा विदुरबाट गरिएको गार्डियनको विस्तृत रिपोर्ट ‘द फ्लड टूक एभ्रिथिङ आई ह्याभ’ (बाढीले मेरो सबै कुरा लग्यो) शीर्षकमा प्रकाशित भएको थियो । उद्धार शिविरमा रोइरहेका महिला, आफन्त खोजिरहेका परिवार र केही मिनेटमै घरबारविहीन बनेका मानिसहरूको कथाले तथ्यांकलाई मानिसको अनुहारसँग जोडेको थियो ।
‘द अब्जर्भर’ले अगस्ट ३० को आफ्नो आवरणमा ‘त्यहाँ केही पनि बाँकी थिएन’ भन्ने भावको शीर्षकमा विपत्तिको भयावहता प्रस्तुत ग¥यो । प्रमुख अन्तर्राष्ट्रिय संवाददाता इसाबेल कोल्सले नेपालमै आएर गरेको रिपोर्टमा रसुवाको सीमा नाकाका कर्मचारी राजेन्द्र ढुंगानाले सुरुमा भूकम्पजस्तो कम्पन महसुस गरेको र केही क्षणमै धुलोको बादलले सबै दृश्य ढाकेको विवरण समेटिएको छ । तल हेर्दा ‘केही पनि बाँकी थिएन’ भन्ने उनको अनुभूति नै रिपोर्टको शक्तिशाली केन्द्र बनेको थियो ।
कोल्सको रिपोर्टमा विदेशमा सात वर्ष काम गरेर फर्किएका एक नेपालीको पीडा पनि थियो । विदेशमा कमाएको पैसाले बनाएको चार कोठे घर केही मिनेटमै हरायो, परिवारका सदस्य बेपत्ता भए । ‘मैले ती वर्षमा गरेको सबै मेहनत गयो,’ उनको भनाइले विपत्तिले बगाएको केवल घर मात्र नभई वर्षौंको श्रम र सपना पनि भएको देखाउँछ ।
अमेरिकाको ‘द वासिङ्टन पोस्ट’ले भने विपत्तिको अर्को भयावह पाटो धेरै शव र त्यसको सामूहिक व्यवस्थापनलाई केन्द्रमा राख्यो । अगस्ट ३० मा प्रकाशित रिपोर्ट ‘इन वन नेपाल डिस्ट्रिक्ट, फ्लड क्याटास्ट्रफी इज मेजर्ड इन बडिज एन्ड बरियल ट्रेन्चेस’ अर्थात् ‘नेपालको एउटा जिल्लामा बाढीको विनाश शव र दफनका खाडलले मापन भइरहेको छ’ भन्ने भावमा थियो ।
चितवन केन्द्रित उक्त रिपोर्टले सयौं किलोमिटर तलसम्म बगेर आएका शव, पहिचानको समस्या र शव राख्ने ठाउँ अभाव भएपछि अस्थायी खाडलमा गाड्नुपरेको अवस्थालाई मानवीय तथा सांस्कृतिक संकटका रूपमा प्रस्तुत गरेको थियो । पोस्टले विपत्तिको गहिराइ पानीको बहावले होइन, मृत्यु व्यवस्थापन गर्न नसक्ने अवस्थाले देखाएको थियो ।
बेलायतको ‘फाइनान्सियल टाइम्स’ले भने यो विपत्तिलाई मानवीय संकटसँगै आर्थिक संकटका रूपमा हे¥यो । उद्धार, जलविद्युत् आयोजना, सीमा क्षेत्र, चीनसँगको सम्पर्क र पुनर्निर्माणलाई जोड्दै उसले भोटेकोशी–त्रिशूली क्षेत्र नेपालको ऊर्जा, पर्यटन र उत्तरतर्फको व्यापारिक जीवनरेखासमेत भएको पक्ष उठायो। यस क्षेत्रमा भएको क्षतिले पुनर्निर्माणको चुनौती कति ठूलो हुनेछ भन्ने प्रश्न उसको कभरेजको केन्द्रमा थियो ।
रोयटर्सले भने सबैभन्दा गम्भीर प्रश्न उठायो – ‘पूर्वसूचना कहाँ थियो ?’ अगस्ट ३० को अनुसन्धानात्मक रिपोर्टले विपत्तिभन्दा तीन महिनाअघि नेपाल र चीनका अधिकारीबीच हिमाली जोखिमबारे छलफल भएको उल्लेख गर्दै सूचना आदानप्रदानको कमजोरीमाथि प्रश्न उठायो ।
बाढीको मुख्य बहाव सीमा क्षेत्रबाट तल आइपुग्न करिब २६ मिनेट लागेको, तर केही मापन केन्द्रले समयमा सूचना पठाउन नसकेको विवरणले सीमापार वास्तविक समयको सूचना प्रणालीको आवश्यकता उजागर ग¥यो । यदि त्यस्तो प्रणाली प्रभावकारी भएको भए कति मानिसलाई बचाउन सकिन्थ्यो भन्ने प्रश्न रोयटर्सको रिपोर्टले उठाएको थियो ।
वैज्ञानिक जर्नल ‘नेचर’ले यसलाई बदलिँदो हिमालयको चेतावनीका रूपमा हे¥यो । हिमनदी र चट्टानको स्खलन, बढ्दो तापक्रम, पर्माफ्रस्ट अर्थात् जमेको माटो–चट्टानको अस्थिरता र हिमाली ढलानको जोखिमलाई उसले जोडेको थियो। सेप्टेम्बर २ मा प्रकाशित उपग्रह तस्बिर विश्लेषणले घटनाअघि हिमनदी–चट्टान प्रणालीको गति बढेको संकेत देखिएको उल्लेख गरे पनि यस्ता संकेतबाट तत्काल पहिरो जाने निश्चित भविष्यवाणी गर्न नसकिने वैज्ञानिकहरूको भनाइ थियो ।
अलजजिराले भने ‘एक्सप्लेनर’ शैलीमा ल्हेन्देबाट भोटेकोशी हुँदै त्रिशूलीसम्म विनाशकारी बहाव कसरी फैलियो भन्ने बुझाउने प्रयास ग¥यो । त्रिशूलीमा छोटो समयमै पानीको सतह असाधारण रूपमा बढेको विवरणमार्फत उसले बाढीको गति र शक्तिलाई व्याख्या ग¥यो ।
भारतीय सञ्चारमाध्यमले स्वाभाविक रूपमा आफ्ना नागरिक र तीर्थयात्रीको अवस्थालाई पनि प्राथमिकता दिए । ‘टाइम्स अफ इन्डिया’ले हवाई दृश्य, उद्धार र बाढीको वैज्ञानिक कारणमाथि रिपोर्टिङ ग¥यो भने ‘द इन्डियन एक्सप्रेस’ले जलवायु परिवर्तन र हिमाली जोखिमको ठूलो बहस उठायो, नेपालको विपत्ति हिमालयका लागि चेतावनी भएको सन्देशसहित ।
बेलायतको ‘द टाइम्स’ले विनाशबीच जीवन बचाउने मानिसहरूको कथा अगाडि ल्यायो । त्रिशूली माविका प्रधानाध्यापक राजेन्द्र दवाडीले समयमै विद्यार्थीलाई सुरक्षित स्थानमा लैजान सफल भएको घटनाले विपत्तिको बीचमा निर्णय, साहस र मानवीय क्षमताको अर्को पाटो देखायो ।
वरिष्ठ पत्रकार तीर्थ कोइराला यो स्तरको अन्तर्राष्ट्रिय ध्यानाकर्षण हुनुको कारण विषयको व्यापकता र जलवायुसँगै तिब्बतप्रतिको पश्चिमा चासो पनि भएको बताउँछन् । ‘पहिले कोशीदेखि जीरेको बाढी र मेलम्ची नदीको समस्या पनि देखिएकै हो । हुन त यो ठूलै घटना हो, तर पनि यो स्तरको चासो सकारात्मक पक्ष हो,’ उनी भन्छन् ।
जल तथा मौसम विज्ञ दाहालका अनुसार नेपालले संसारको ध्यान त खिच्यो, तर त्यसलाई क्षति परिपूर्ति, अन्तर्राष्ट्रिय सहयोग र भविष्यको जोखिम व्यवस्थापनसँग कसरी जोड्ने भन्ने चुनौती अझै बाँकी छ । ‘यो समस्यालाई कसरी प्याकेजिङ गर्ने, कुन अन्तर्राष्ट्रिय फोरममा प्रस्तुत गर्ने भन्ने हाम्रो क्षमतामा भर पर्छ । त्यो क्षमता अझै पर्याप्त रूपमा बनिसकेको छैन,’ उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्