नेभिगेशन
प्रवास

चीनका लागि गुप्तचरी आरोपित अमेरिकी पत्रकारलाई दुई वर्ष जेल

वाशिङ्टन (एजेन्सीहरू) – चीनको गुप्तचर संयन्त्रका लागि अमेरिकामा स्रोत खोज्ने, संवेदनशील सूचना संकलन गर्ने र सम्भावित सूचनादातालाई परिचालन गर्ने काम गरेको अभियोगमा अमेरिकी पत्रकार थोमस वेयर पाउकेन द्वितीयलाई दुई वर्ष जेल सजाय सुनाइएको छ ।
५१ वर्षीय पाउकेनलाई मंगलबार भर्जिनियाको संघीय अदालतले सजाय सुनाएको हो । अदालतले जेल सजायपछि ३६ महिना निगरानीमा राख्ने र उक्त अवधिमा विदेश यात्रा गर्न नपाउने आदेशसमेत दिएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । पाउकेनले यसअघि नै आफू दोषी रहेको स्वीकार गरिसकेका थिए र उनका वकिल चाल्र्स बर्नह्यामका अनुसार उनले फैसलाविरुद्ध पुनरावेदन गर्ने छैनन् ।
पाउकेन सन् २०१० मा चीन गएपछि विभिन्न चिनियाँ सञ्चारमाध्यममा पत्रकार, लेखक तथा सम्पादकका रूपमा काम गरेका थिए । उनले चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीमा काम गरे भने सन् २०२४ देखि चीनको सरकारी समाचार संस्था सिन्ह्वामा सम्पादक थिए ।
तर अमेरिकी अभियोजनकर्ताका अनुसार उनको पत्रकारिताको आवरणमा अर्को गतिविधि पनि चलिरहेको थियो । अदालतका कागजातअनुसार कम्तीमा सन् २०१९ देखि फेब्रुअरी २०२६ सम्म उनले चिनियाँ सरकारसँग सम्बन्धित व्यक्तिहरूको निर्देशनमा काम गरेका थिए । तीमध्ये ‘क्याथी’ नामले चिनिएकी एक महिलासँग उनको सन् २०१७ मा भेट भएको थियो । पछि पाउकेनलाई अमेरिकामा सम्भावित सूचनादाता खोज्ने, उनीहरूबाट सूचना संकलन गर्ने र रिपोर्ट चीन पठाउने जिम्मेवारी दिइएको थियो । ‘क्याथी’ले आफूलाई दिएको रिपोर्ट चिनियाँ राष्ट्रपति सी चिनफिङसम्म पुग्ने बताउने गरेको एफबीआईको आरोपपत्रमा उल्लेख छ ।
यस कामबापत पाउकेनले कम्तीमा एक लाख अमेरिकी डलर पाएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । उनका अमेरिका यात्राको खर्चसमेत ‘क्याथी’ले बेहोर्ने र रकममध्ये केही उनकी पत्नीको बैंक खातामा पठाउने गरेको अनुसन्धानबाट खुलेको थियो । अभियोजन पक्षका अनुसार पाउकेन र उनकी पत्नीले चीनमा करिब ४ लाख डलर मूल्यका दुईवटा अपार्टमेन्टसमेत किनेका थिए ।
सबैभन्दा गम्भीर आरोप भने संवेदनशील वा गोप्य सूचना दिन सक्ने व्यक्तिको खोजी र परिचालनसँग जोडिएको थियो । ‘क्याथी’को निर्देशनमा पाउकेनले एक सम्भावित स्रोतलाई सामसङ फोन, कम्प्युटर र सिग्नल तथा टेलिग्रामका पासवर्ड उपलब्ध गराएका थिए । उक्त व्यक्ति तत्कालीन ट्रम्प प्रशासनमा जागिर खोजिरहेका थिए र उनले चीनलाई गोप्य सूचना दिन सक्नेमा आफू ‘८० प्रतिशत निश्चित’ रहेको पाउकेनले अनुसन्धानकर्तालाई बताएका थिए ।
अझ, अभियोजन पक्षका अनुसार गत फेब्रुअरीमा पाउकेनले ती व्यक्तिलाई पुनः सूचना उपलब्ध गराउन मनाउन र त्यसबापत १० हजार डलर दिनेसमेत प्रस्ताव गरेका थिए । उनी त्यसको केही दिनमै पक्राउ परेका थिए ।
पाउकेनका वकिल बर्नह्यामले भने उनका क्लाइन्टले कुनै वर्गीकृत सूचना चीनलाई नदिएको स्पष्ट पारे । ‘श्री पाउकेनले आफ्नो जिम्मेवारी स्वीकार गरेका छन् र अदालतको सजायको सम्मान गर्छन्,’ उनले भने । उनका अनुसार पाउकेनले चीन–अमेरिका सम्बन्ध सुधार्ने र सम्भावित द्वन्द्व रोक्ने उद्देश्यले आफूले काम गरिरहेको भन्ने ‘भोलि र गलत तर इमानदार विश्वास’ राखेका थिए ।
अमेरिकी न्याय मन्त्रालयका राष्ट्रिय सुरक्षा सहायक महान्यायाधिवक्ता जोन ए. आइसनबर्गले भने पाउकेनले आर्थिक लाभका लागि आफ्नो देशलाई धोका दिएको आरोप लगाए । ‘उनले चिनियाँ मन्त्रालय अफ स्टेट सेक्युरिटीका गतिविधि, भर्ती र संवेदनशील सूचना संकलनमा सहयोग गरे,’ उनले भने ।
टेक्ससका पाउकेनले आफ्ना बुबाको आग्रहमा चीनसम्बन्धी काम गर्दा ‘टम म्याकग्रेगर’ उपनाम पनि प्रयोग गरेका थिए । उनका बुबा १९९० को दशकमा टेक्सस रिपब्लिकन पार्टीका अध्यक्ष थिए र पछि राज्यको गभर्नर पदका लागि समेत उम्मेदवार बनेका थिए ।
यो मुद्दा पछिल्लो समय चीनका लागि अमेरिकामा गोप्य वा संवेदनशील सूचना जुटाउने आरोपमा भएका संघीय कारबाहीको शृंखलामध्येको पछिल्लो घटना हो । चीन र अमेरिकाबीच रणनीतिक तथा सुरक्षा तनाव बढिरहेका बेला वाशिङ्टनले यस्ता गतिविधिमाथि निगरानी र कानुनी कारबाही तीव्र बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्