नेभिगेशन
प्रदेश

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौँ । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ बेलाबेलामा । राहत तथा अन्य अत्यावश्यक सामग्री बोकेर उठेको ड्रोन अकाश फेर्केर हेर्ने मान्छेहरू छक्क पर्छन् । पहिलापहिला मान्छे र घोडा तथा खच्चडले बोक्ने सामग्री आजभोलि ड्रोनले ओसार्दा स्थानीयको नजर त्यसैमा ठक्क अडिन्छ ।
यही भदौ १० गते रसुवा भोटेकोशी बाढीले भत्किएका सडक र पुल अनि अन्य संरचनाको भग्नाशेषहरू जमिनमा र त्यही जमिनमाथि राहत बोकेर उक्त स्थानमा ड्रोन उडिरहेको देखिन्छ । बाढीले जमिनको बाटो बन्द गरिदिएपछि यही आकाश अहिले दुर्गम बस्तीका लागि राहतको बाटो बनेको छ । भोटेकोशीको भेलले गाउँपालिकालाई बाहिरी दुनियाँबाट लगभग अलग पारेपछि खाद्यान्न, औषधि र ग्यासको अभाव बढ्दै गयो । भोकसँग जुधिरहेका परिवारका लागि ड्रोनले ओसारेको राहत प्रभावित क्षेत्रका लागि ठूलो सहारा बनेको छ ।
यही भदौ १० गतेअघि आमाछोदिङमो गाउँपालिका पुग्दा दृश्य बेग्लै थियो । चारैतिर हरियाली, हिमालको काखमा फैलिएका बस्ती, कलकल बग्ने भोटेकोशी र पर्यटकको चहलपहल । रसुवाको उत्तरी भेगमा पर्ने यो गाउँपालिका धार्मिक तथा प्राकृतिक पर्यटनका लागि परिचित थियो ।
पार्वतीकुण्डबाट नामकरण गरिएको यस गाउँपालिकाको पहिचानलाई चिलिमे, सान्जेन र त्रिशूली जलविद्युत् आयोजनाले देशको ऊर्जा विकाससँग जोडेको थियो । हरेक वर्ष हजारौँ नेपाली तथा विदेशी पर्यटक यहाँको प्राकृतिक सौन्दर्य नियाल्न पुग्थे । तर भदौ १० गते आएको भोटेकोशीको बाढीले त्यो परिचय क्षणभरमै बदलिदियो । जहाँ केही दिनअघिसम्म मानिसको चहलपहल थियो, अहिले त्यही ठाउँ उजाड देखिन्छ । सडक छैनन् । विद्युत् सम्पर्क छैन । दुई सयभन्दा बढी नागरिक बेपत्ता छन् ।
यो दृश्य सम्झँदा अझै पनि आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङको मन भक्कानिन्छ । “विपद् भयो । जे हुनु भइसक्यो । अब बाँचेकालाई भोकभोकै राख्नुभएन,” उनी भन्छन् । बाढीपछि गाउँपालिकाको बाहिरी दुनियाँसँगको सडक र विद्युत् सम्पर्क एकाएक टुट्यो । सडक बगेपछि अत्यावश्यक सामग्री गाउँसम्म पु-याउनु सबैभन्दा ठूलो चुनौती बन्यो । खाद्यान्न, औषधि, ग्यासलगायत दैनिक जीवनका अत्यावश्यक सामग्रीको अभाव देखिन थाल्यो ।
एकातिर बाढीले घर, सडक र संरचना बगाएको थियो । अर्कोतिर बाँचेका नागरिकलाई कसरी खाना खुवाउने भन्ने चिन्ताले स्थानीय सरकारलाई सतायो । अध्यक्ष तामाङलाई खाद्यान्न सङ्कटको पिरलोले सताउन थाल्यो । “खाद्यान्न सङ्कट कसरी टार्ने होला भन्ने ठूलो समस्या थियो । केन्द्र सरकारसँग गुहा-यौँ । हेलिकप्टरबाट सामान ल्याउने प्रयास पनि भयो,” उनी सम्झन्छज् ।
सबै सामान हेलिकप्टरबाट ल्याउन सम्भव थिएन । दुर्गम भूगोल, अवरुद्ध सडक र विपद्ले निम्त्याएको कठिन परिस्थितिका कारण अत्यावश्यक सामान गाउँ–गाउँसम्म पु-याउन निकै कठिन भयो । त्यही कठिन घडीमा ड्रोन प्रविधि राहत ढुवानीका लागि सहयोगी प्रविधि बन्यो । “प्रविधिको विकासले कति सजिलो हुने रहेछ भन्ने अहिले महसुस भयो,” अध्यक्ष तामाङ भन्छन्, “नत्र त सामान यहाँ ल्याउन धेरै गाहे भइरहेको थियो ।”
सडकले साथ छाडेको ठाउँमा आकाशबाट सामान पु-याउन सकिने भएपछि राहत वितरणको स्वरूप नै केही सहज भएको बताउँछन् रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दु्रवप्रसाद अधिकारी । “अहिले ड्रोनमार्फत औषधि, ग्यास र खाद्यान्नजस्ता अत्यावश्यक सामग्री ड्रोनमार्फत प्रभावित बस्तीमा पु-याउन थालिएको छ । धेरै सजिलो भइरहेको छ,” उनले भने ।
भोटेकोशी बाढीपछि आमाछोदिङमोमा नाकाबन्दीजस्तै अवस्थामा
भोटेकोशी बाढीपछि आमाछोदिङ्मो गाउँपालिकामा सडक, विद्युत् र नियमित आपूर्ति सेवाबाट बिच्छेद हुँदा नाकाबन्दीजस्तै अवस्थामा पुगेको बताउँछन् गाउँपालिकाका उपाध्यक्ष चण्डिका तामाङ । “भोटेकोशी बाढीपछि हामी त नाकाबन्दीमा नै परेका छौँ । न सडक छ, न विद्युत् । हाम्रो ठाउँ नै अन्धकार बनेको छ,” उनी भन्छन्,  “धन्न ड्रोनका कारण वडा नं १ मा राहत ढुवानी गर्न सम्भव भएको छ । धुन्चेबाट अझै टाढा रहेका वडा नं २, ३, ४ र ५ मा भने ड्रोनबाट पनि ढुवानी गर्न सम्भव भएन ।”
तामाङका अनुसार बाढीबाट प्रभावित परिवारलाई हालसम्म एक बोरा मात्र चामल उपलब्ध गराइएको छ । सडक तथा यातायात अवरुद्ध हुँदा अन्य उपभोक्ताले समेत दैनिक उपभोग्य वस्तु अत्यधिक महँगोमा खरिद गर्नुपरेको उनको भनाइ छ । रु दुई हजार सात सय पर्ने एक बोरा चामललाई रु ११ हजारसम्म तिर्नुपरेको भन्दै तामाङले महँगीले झन तनाव बढाएको बताउँछन् । “दैनिक उपभोग्य वस्तुको सहज ढुवानी हुन नसक्दा यहाँ सामान निकै महँगो भएको छ । प्रभावित परिवारको पीडा झन ठूलो छ । अन्य सर्वसाधारणलाई पनि गाह्रो भएको छ,” उनी भन्छन्, “ड्रोन पनि पुग्न नसक्ने क्षेत्रमा वडा नं १ बाट बोकेर लैजान पनि निकै गाह्रो छ । यहाँको पीडा बयान गरेर साध्य छैन ।”
तामाङका अनुसार ढुवानीको असहजताका कारण सामानको मूल्यभन्दा कैयौँ गुणा बढी रकम हवाई यातायातमा खर्च गर्नुपर्ने अवस्था छ । “रु २० हजारको सामान ल्याउन रु दुई लाखसम्म तिर्नुपर्ने अवस्था छ,” उनले  भने, “भोटेकोशी बाढीले दिएको महाविपत्तिले हाम्रो स्मृतिमा छाडेको घाउ भने लामो समयसम्म रहने भयो ।”
आमाछोदिङमोको भूगोल आफैँमा चुनौतीपूर्ण छ । गाउँपालिकामा वडा नं १ हाकु, वडा नं २ नेसिङ, वडा नं ३ गत्लाङ, वडा नं ४ गोल्जुङ र वडा नं ५ चिलिमे पर्छन् । सडक र पुल भत्किएका छन् । बाटो पहिरोले पुरिएको छ । कतिपय ठाउँमा उद्धारकर्मीसमेत पुग्न सक्ने अवस्था छैन । यस्तो बेला हेलिकप्टरलाई उद्धार र राहतको मुख्य साधन मानिन्छ । तर, हेलिकप्टर पुग्न नसक्ने ठाउँमा अत्यावश्यक सामग्री पु¥याउन अब ड्रोन पनि विपद् व्यवस्थापनको नयाँ सारथी बन्न थालेको छ ।
समयमा नै अत्यावश्यक सामग्री ढुवानीमा ड्रोनको प्रयोग
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले बाढीप्रभावित क्षेत्र नुवाकोटमा पनि हैजाविरुद्धको खोप अभियान सञ्चालनका लागि ड्रोनमार्फत खोप ढुवानी भएको जानकारी दिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले सडक सम्पर्क टुटेको र तत्काल पुनः सञ्चालन गर्न नसकिने अवस्थामा राहत सामग्री लैजान कठिन भएको अवस्थामा ड्रोन प्रविधि ढुवानीका लागि सहयोगी बनेको बताए ।
“भोटेकोशी बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पु¥याएपछि सडक तथा स्थलमार्गबाट प्रभावित बस्तीमा पुग्न कठिन भइरहेको थियो । कतिपय ठाउँमा हेलिकप्टरबाट समेत सामग्री पु¥याउन सहज छैन । यही अवस्थालाई ध्यानमा राख्दै प्राधिकरणले राहत सामग्री ढुवानीमा ड्रोनको प्रयोग थालेको हो,” उनले भने ।
एकपटकमा करिब ८० केजीसम्म बोक्न सक्ने क्षमता
प्राधिकरणका उपसचिव रामबहादुर केसीले धुन्चेबाट हाकुबेँसीसम्म राहत सामग्री पु¥याउन चारवटा ड्रोन प्रयोगमा ल्याइएको र ड्रोनले एकपटकमा करिब ८० किलोग्रामसम्म सामग्री बोक्नसक्ने क्षमता राख्ने बताए । “विपद्को समयमा सामान्य यातायातका साधन चल्न नसक्ने अवस्थामा यस्तो क्षमताको ड्रोनले राहत वितरणलाई थप सहज बनाएको छ,” उनले भने, “जहाँ हेलिकप्टरबाट जान सम्भव हुँदैन, त्यहाँ ड्रोनबाट सामग्री पठाउन सहज भएको छ । ड्रोनमार्फत प्रभावित क्षेत्रमा खाद्यान्न, ग्यास, औषधिलगायतका अत्यावश्यक सामग्री पु-याउने काम भइरहेको छ ।”
ग्यास सिलिन्डर तुलनात्मक रूपमा भारी हुने भएकाले हेलिकप्टरबाट ढुवानी गर्दा पनि कठिनाइ भएकाले ड्रोनको प्रयोगबाट निश्चित परिमाणमा राहत सामग्री पु-याइएको प्राधिकरणको भनाइ छ । सामान्यतया ड्रोनलाई फोटो खिच्ने, निगरानी गर्ने वा विपद्को अवस्थाको दृश्य सङ्कलन गर्ने उपकरणका रूपमा बुझिन्छ तर पछिल्लो समय यसको प्रयोग राहत तथा उद्धारमा पनि विस्तार हुँदै गएको छ ।
प्राधिकरणले प्रयोग गरिरहेको ड्रोन भने सामान्य क्यामेरा ड्रोनभन्दा फरक क्षमताको हो । यसले करिब एक सय किलोग्रामसम्मको भार बोक्न सक्छ । प्राधिकरणका अनुसार विपद्का बेला एकैपटक ठूलो परिमाणमा सामग्री लैजान नसके पनि तत्काल आवश्यक पर्ने सामग्रीलाई चरणबद्ध रूपमा पु¥याउन सकिने भएकाले यसको उपयोगिता बढेको हो । ड्रोनका कारण दुवानीको समय बचत गर्नुका साथै मानवीय तथा आर्थिक जोखिमसमेत घटाउने प्राधिकरणको भनाइ छ । ठूलो परिमाणमा राहत सामग्री, घाइते तथा प्रभावित व्यक्तिको उद्धार वा लामो दूरीको ढुवानीका लागि अझै पनि हेलिकप्टर आवश्यक पर्ने प्राधिरकणले जनाएको छ ।
विपद् व्यवस्थापनमा नयाँ अभ्यास
नेपालमा विपद्का घटना बढ्दै जाँदा राहत र उद्धार प्रणालीलाई पनि समयअनुकूल बनाउनुपर्ने आवश्यकता बढेको छ । परम्परागत माध्यम मात्रमा निर्भर हुँदा दुर्गम तथा भौगोलिक रूपमा कठिन स्थानमा राहत पु¥याउन लामो समय लाग्न सक्छ । भविष्यका सम्भावित विपद् जोखिम व्यवस्थापनका लागि ड्रोनको प्रयोग बढाउन सकेमा छिटो र विकट बस्तीमा समयनै राहत तथा अत्यावश्यक समाग्री ढुवानी गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
विसं २०७२ को गोरखा भूकम्पपछि क्षतिको मूल्याङ्कन, सम्पदा अभिलेखीकरण, पहिरोको नक्साङ्कन तथा पुनर्निर्माणको योजना बनाउन ड्रोनको प्रयोग गरिएको थियो । हिमाल आरोहणका लागि डोरी टाँग्ने (बाटो बनाउने काम) र उच्च आधार शिविरबाट फोहोर ढुवानीमा ड्रोन प्रविधिको प्रयोग गर्न थालिएको छ । पछिल्लो समय ड्रोन प्रविधिले विश्वभर नै सम्भावनाको नयाँ मार्ग देखाएको छ । ड्रोनले खाद्यान्न ढुवानीदेखि लिएर पर्यटन प्रवर्द्धन, एरियल म्यापिङ, सीमा क्षेत्रको निगरानी, वन डढेलो नियन्त्रण, आपत्कालीन उद्धारदेखि एयर एम्बुलेन्ससम्मको काममा उपयोगी बनेको छ । रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्