नेभिगेशन
प्रदेश

सप्तरीमा सीमावर्ती क्षेत्रबाट तीन विदेशी पक्राउ

सप्तरी, ५ असोज - सप्तरी प्रहरीले दुईजना उज्जबेकिस्तानी महिलासहित तीनजना विदेशीलाई पक्राउ गरेको छ । भारततर्फ जान लागेका अवस्थामा शनिबार राति सीमावर्ती क्षेत्र बलानबिहुल गाउँपालिका–४ बेल्हीबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा उज्बेकिस्तानकी ३९ वर्षीया फेरूजा याख्शिमुरातोवा, ३९ वर्षीया शोखिस्ता अकबारोवा र उनीहरूसँगै भारत बिहारका २० वर्षीय नितिश कुमार बिन्दा छन् । भारतीय मोटरसाइकलमा सवार तीनजना भारत प्रवेश गर्न लागेको हेरेर प्रहरीले चेकजाँच गर्दा उनीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गौतम कुमार केसीले बताए ।

पक्राउ परेका दुवै उज्जबेकिस्तानी महिलासँग पासपोर्ट नभएको र बिन्दाले उनीहरूलाई लगिरहेकोले पक्राउ गरेको एसपी केसीले बताए ।

दुवै महिलाले काठमाडौंमा बसेको होटेलमा पासपोर्ट छुटेको र झुक्किएर बोर्डरमा आएको बयान दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । यद्यपी प्रहरीले उनीहरू नेपाल आएको उद्देश्यबारे अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्