नेभिगेशन
नेपाल

चाडमा बाटो र बसको सुबिस्ता

देश संकटको वातावरणबाट भर्खरै त्राण पाउने अवस्थामा छ । जेनजी विद्रोहपछि नियुक्त प्रधानमन्त्रीद्वारा थप मन्त्री नियुक्त गरी शपथग्रहण पनि सम्पन्न भएको छ । मन्त्रीमण्डलका नयाँ अनुहारले जनतामा आशाको तरंग प्रवाहित गरेको छ । अर्कातिर महान् चाड दशैं नजिकिँदै गर्दा जनजीवनमा उत्साह सञ्चार भएको छ । दशैंको सम्झनामा गाउँदेखि शहरसम्मका मानिसहरू परिवारसँग भेटघाट, पूजाअर्चना र टीकाटालोको योजनामा जुटेका छन् । 

दशैं भनेकोपारिवारिक चाड हो र यो बेला सबैजना परिवारमा एकत्र हुन चाहन्छन् । पेसा व्यावसायलगायतका कारणले मानिस घरपरिवारबाट टाढा रहे पनि दशैंमा भने घरै जान चाहने मान्यवरको आशीर्वाद लिन चाहने परम्परागत प्रचलन नै हो । नेपालमा दशैं चाडपर्वको सुरुवाती चाड हो योसँगै तिहार र छठसम्मको निरन्तरता हुन्छ । तर, देशको सार्वजनिक यातायात र देशको राजर्मागको अवस्थाले दशैं धरैका लागि दशासरह हुन जाने गरेको नजिर छ ।

अहिले पनि देशका केही महत्त्वपूर्ण राजमार्गहरू बाढी, पहिरोलागायतका कारण अवरुद्ध छन् । यसैगरी, सार्वजनिक यातायात सेवा पनि यात्रुहरूको चाडपर्वमा यात्रा सहज बनाउनका लागि पर्याप्त नहुने गरेको अनुभव यो वर्ष पनि दोहोरिने हो कि भन्ने डर छ । सार्वजनिक बसहरूको टिकट व्यवस्थापनमा भएको अव्यवस्था र निर्धारित मूल्यभन्दा महँगोमा टिकट बिक्री हुनु परिपाटीले यात्रुहरू हैरान छन् ।

सार्वजनिक यातायातको नियमन गर्ने सरकारी निकायहरूले सार्वजनिक यातायातको सुशासन र यात्रु सुविधा व्यवस्थापनका लागि तत्काल गर्न सकिने काम के हो, त्यो गर्नुपर्ने देखिन्छ । अनुगमन प्रणालीलाई कडाइ गरिने हो भने टिकटको कालोबजारी रोकिनेछ । अनियमितता देखिएको खण्डमा कडा कारबाही र जरिवाना हुन्छ भन्ने सन्देश आमरूपमा फैल्याउन सक्नुपर्छ । सार्वजनिक हितका लागि कारबाहीको दह्रो निर्णय गर्न सम्बन्धित निकायले अग्रसरता देखाउनुपर्छ ।

यसका लागि यातायात मन्त्रालयअन्तर्गत देशभरि रहेका कार्यालय र शाखाहरूले समन्वय गरी कर्मचारीहरू परिचालन गराउनुपर्ने हुन्छ । प्रहरीसँग समन्वय गरी दोषीलाई नियमानुसार कानूनी कारबाही गर्ने कामलाई पनि सुचारु गर्नुपर्ने देखिन्छ । यातायात मन्त्रालयले चाडपर्वका समयमा मात्र नभई अरूबेला पनि टिकट बिक्री प्रणालीलाई प्रविधिमैत्री बनाउने, अनलाइन टिकटिङको माध्यम अपनाउने र सम्पूर्ण क्षेत्रहरूमा मोबाइल टिकटिङ प्रोत्साहन गर्न अब ढिलाइ गर्नुहुँदैन । यदि टिकट प्रणालीलाई प्रविधिमैत्री बनाउने हो भने मात्र पनि टिकटको कालोबजारी वा अनाश्यक हैरानीबाट यात्रुले धेरै मात्रामा राहत पाउनेछन् ।

राजमार्गको बिग्रदो अवस्थालाई ध्यान दिँदै सडक विभागले प्राथमिकताका आधारमा क्षतिग्रस्त भेगको पुनर्निर्माण, खाल्डाखुल्डी पुर्ने लेबल मिलाउने जस्ता साना कामलाई तदारुकता दिने हो भने समस्या धेरै हदमा न्यून हुनेछ । त्यो कामलाई पनि तत्काल गति दिनुपर्ने देखिन्छ । सडक पुनर्निर्माणमा स्थानीय तहको समन्वय र समुदायको साझेदारीलाई पनि जोड दिई राजमार्गहरू सहज र सुरक्षित बनाउन सकिनेतर्फ पनि ध्यान दिन जरुरी छ ।

देशले हाल नयाँ राजनीतिक मार्गमा अग्रसर छ र जनतामा स्वभाविकरूपमा आशा तथा अपेक्षाहरू उच्च छन् । दशैंका बेलामा जनताको त्यो आशा र अपेक्षाहरू सकारात्मक ऊर्जा र उत्साहका रूपमा देशभरी फैलिने वातावरण बनाउन सरोकारवाला निकायहरू गम्भीर होऊन् । त्यसको लागि सरकारका निकायले दशैंलाई जनता र शासनको बीचमा एकता र विश्वासको सन्देश फैलाउने माध्यमका रूपमा उपयोग गर्नका लागि पनि सार्वजनिक यातायातमा विद्यमान समस्या र राजमार्गको बिग्रँदो अवस्थालाई सम्बोधन गनुपर्ने हुन्छ । जनताले सुबिस्तासाथ दशैंमा घर जाने वातावरण पाए भने त्यो नै हालको सरकारले जनतालाई दिन सक्ने सान्त्वना हो ।

दशैंले नयाँ ऊर्जा र आशा भरोस् । त्यो कामका सरकारले होस्टेमा हैंसे गरोस् । सरोकारवाला अन्य निकायले पनि आ–आफ्ना ठाउँबाट गर्नुपर्ने र गर्न सक्ने कामलाई अघि बढाओस् । दशैंले देशमा नयाँ उत्साह र विश्वास जगाओस् । नयाँ सरकारसँगको जनताको आशालाई दशैंको सहजीकरणमार्फत सरकारले सान्त्वना देओस् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्