नेभिगेशन
शिक्षा

महेन्द्र ग्राम माविमा स्काउट शिक्षा

भक्तपुर  । भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालस्थित श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयमा स्काउट शिक्षाको औपचारिक शुभारम्भ गरिएको छ । आइतबार बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले स्काउट झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गरे ।

मुख्यमन्त्री थापाले प्रत्येक विद्यालयमा स्काउट शिक्षा आवश्यक रहेको बताउँदै यसले विद्यार्थीलाई अनुशासित, कर्तव्यनिष्ठ, साहसी र सेवाभावी नागरिक बनाउन सहयोग गर्ने बताए । उनले विद्यालयमा बास्केटबल कोर्टको ट्रस निर्माणका लागि प्रदेश सरकारले विनियोजन गरेको २५ लाख रुपैयाँ अपुग भए थप बजेट उपलब्ध गराउने घोषणा गरे ।

भक्तपुरलाई स्वास्थ्य, शिक्षा र पर्यटनको हबका रूपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताउँदै उनले जिल्लाका १७ अस्पतालको क्षमता विस्तार गरी उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्ने बताए । सामुदायिक तथा निजी विद्यालय र कलेजको गुणस्तर सुधार गर्दै भक्तपुरलाई शैक्षिक हब बनाउने तथा चाँगुनारायण, नगरकोट, रानीकोट र घ्याम्पेडाँडालगायत क्षेत्र समेटेर पर्यटनको बृहत् गुरुयोजना बनाउने योजना पनि उनले सुनाए ।

प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहमा रहेका सामुदायिक विद्यालयको स्तरोन्नतिलाई प्राथमिकता दिइने र विद्यार्थी कम तथा शिक्षक बढी भएका विद्यालयलाई गाभेर सुविधासम्पन्न आवासीय विद्यालय बनाउने उनले बताए । माध्यमिक तहको विद्यालय नर्स कार्यक्रमलाई प्रभावकारी बनाउँदै विद्यार्थीको मानसिक स्वास्थ्यका लागि मनोचिकित्सक र मनोवैज्ञानिक परिचालन गरिने उनको भनाइ थियो ।

कार्यक्रममा विद्यार्थीलाई स्काउट ताली, संकेत, प्रणाम, गाँठो बाँध्ने तथा उद्धारका आधारभूत सीप सिकाइएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार बुढाथोकीले विसं २०१५ मा स्थापित विद्यालयले लामो समयदेखि शैक्षिक सेवा दिँदै आएको बताए ।
कार्यक्रममा मुख्य न्यायाधिवक्ता शिवराज तिमल्सिनालाई चाँगुनारायण–८ का स्थानीय बासिन्दाका रूपमा समेत सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक सोमकुमार श्रेष्ठ र व्यवस्थापन समिति अध्यक्ष रामकुमार बुढाथोकीले माला र सम्मान पत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्