नेभिगेशन
दृष्टिकोण

पुँजी बजारमा लगानीका रणनीति

पुँजी बजार लगानीमा सफलताका लागि लगानीकर्ताले आ–आफ्नो रणनीति बनाउने गर्दछन् । कोही लगानीकर्ता छोटो समयका लागि लगानी गर्छन्, केही लगानीकर्ताले लामो समयका लागि लगानी गर्छन् । लगानीकर्ताको आफ्नो आवश्यकता, क्षमता, योग्यता र उपलब्ध समयको आधारमा लगानीमा फरक रणनीति रहने गर्दछ । एकथरी लगानीकर्ता नियमित लाभांश प्राप्तिका लागि पुँजी लगाई रहेका हुन्छन्, यी भन्दा फरक थरी लगानीकर्ता लाभांश र पुँजीगत लाभका लागि लगानी गर्छन् ।
 अर्काथरी लगानीकर्ता व्यवसाय र कम्पनीको नेतृत्वमा जानका लागि लगानी बढाई रहेका हुन्छन् । यी सबैका रणनीति र आकाङ्क्षा आफ्नो लगानीलाई सफलतापूर्वक वृद्धि र विस्तार गर्नु हो । यसका लागि आफू अनुकूलको लगानी सिद्धान्त प्रयोग गर्नु हरेक सफल लगानीकर्ताको रणनीतिक सुझबुझ बन्न जान्छ । लगानीमा एकै किसिमको रणनीतिले सफलताको शिखरमा पुग्न दिँदैन । यसका लागि परिस्थितिअनुसार उपयुक्त सिद्धान्तलाई हतियार बनाउन सक्नु नै लगानी कुशलताको साँचो हुन जान्छ ।     
के हो पैरेटो सिद्धान्त ?     
अर्थशास्त्री विल्फ्रेडो पैरेटोले सन् १८९५ मा यस सिद्धान्तको बारेमा पहिलो पटक लेखेका थिए । समाजमा मानिस स्वभाविक रुपले दुई भागमा बाँडिएका हुन्छन् । पहिलो महत्वपूर्ण अल्पमत हो, जो पैसा र प्रभावको सन्दर्भमा शीर्षस्थ २० प्रतिशतभित्र रहन्छन् । दोस्रो तुच्छ बहुमत हो, जो ८० प्रतिशतमा रहेका हुन्छन् । यही सिद्धान्त लगभग सारा आर्थिक गतिविधिको वास्तविकता हो । तपार्ईँको २० प्रतिशत प्रयासले ८० प्रतिशत परिणाम दिलाउँछ, तपार्ईँको २० प्रतिशत उत्पादनले ८० प्रतिशत आम्दानी दिन सक्छ । तपार्ईँसँग भएको २० प्रतिशत ग्राहकले नै ८० प्रतिशत वस्तु तथा सेवा खरिद गरिरहेका हुन्छन् । तपार्ईँको कम्पनीको २० प्रतिशत कर्मचारीले ८० प्रतिशत कामको व्यवस्थापन गरिरहेका हुन्छन् ।     
पैरेटो सिद्धान्तको असली अर्थ थोरैले धेरै परिणाम दिन्छ भन्ने बुझाई हो । त्यो धेरै परिणाम दिने काम, लगानी बिक्री, ग्राहक, कर्मचारी, वस्तु वा सेवा पहिचान गर्न सक्नु नै सफलताको मूल आधार हो । पैरेटो सिद्धान्तलाई ८०÷२० को सिद्धान्तले चिनिन्छ । यसको अर्थ तपार्ईँले गर्ने २० प्रतिशत कामले ८० प्रतिशत परिणाम दिन्छ । बाँकी ८० प्रतिशत कामले २० प्रतिशत मात्रै परिणाम दिने गर्छ । यस सिद्धान्त जीवनका हरेक क्षेत्रमा प्रयोग गरेर हेर्न सकिन्छ । तपार्ईँले खर्च गरिरहेको समयमध्ये ८० प्रतिशत समय आलटाल र परिणामुखी काममा खेर गइरहेको हुन सक्छ बाँकी २० प्रतिशत समय मात्रै परिणाममुखी कार्यमा खर्च भएको हुन सक्छ । यसलाई पहिचान गरेर बचाउन सक्ने हो भने उक्त समयलाई उपलब्धिमूलक कार्यमा प्रयोग गर्न सकिन्छ । तपार्ईँ ले गरेको २० प्रतिशत लगानीको कारण ८० प्रतिशत प्रतिफल पाइरहनु भएको हुन्छ । अनि ८० प्रतिशत लगानीले केवल २० प्रतिशत आम्दानी गरिरहेको हुन्छ । 
लगानीमा पैरेटो सिद्धान्तले कसरी काम गर्छ ?     
विश्वमा आम्दानी र सम्पत्ति कसरी बाँडिएको छ भन्ने विषयमा तयार गरिएको विश्व असमानता प्रतिवेदन २०२५ को तथ्याङ्कलाई हेर्दा विश्वका माथिल्लो १० प्रतिशत मानिससँग ७५ प्रतिशत सम्पत्ति, बीचका ४० प्रतिशतसँग २३ प्रतिशत र तल्लो ५० प्रतिशतसँग केवल दुई प्रतिशत सम्पत्ति रहेको देखिन्छ । विश्वमा भएका सम्पत्तिलाई रु १०० र जम्मा जनसंख्या १०० बराबर मान्ने हो भने धनी दश जना (१० प्रतिशत) सँग रु ७५, बीचका ४० जना (४० प्रतिशत) सँग रु २३ र गरिब ५० जना (५० प्रतिशत) सँग रु दुई मात्र हुन्छ । तब यो कसरी सम्भव भयो भनेर धनसम्बन्धी अध्ययन गर्ने विश्वका महारथीहरुका अनुसन्धानले के निष्कर्ष निकाल्यो भने ५० प्रतिशत मानिससँग भन्दा १० प्रतिशत मानिससँग ३७ दशमलव पाँच गुणा बढी सम्पत्ति जम्मा हुनुको मूलकारण उनीहरुसँग ती कम्पनी र आयोजनाहरु छ, जसले ९० प्रतिशत मानिससँग भएको आयोजनाले भन्दा सयौँ गुणा बढी आम्दानी र मुनाफा दिन सक्छन् । यसैले धनी अझै धनी हँुदै धन जम्मा गर्न सफल भएका छन् ।     
तपार्ईँको धन वृद्धि तपार्ईँले छनोट गर्नुभएको व्यवसायमा निर्भर गर्छ । जब तपार्ईँले छनोट गर्नुभएको कम्पनीले अन्यले भन्दा कयौँ गुणा बढी लाभ दिनसक्ने क्षमता राख्छ, अरुसँग १०, २० वा ३० वटा परियोजना भए पनि तपार्ईँको एउटै व्यवसाय भारी पर्ने गर्छ । लगानी गर्दा सबै व्यवसाय एकै किसिमको हुँदैन, तपार्ईँसँग भएका १० व्यवसायमध्ये दुईवटाले दिने लाभ बाँकी आठवटाले दिनेभन्दा बढी हुन सक्छ । यस्तै बजारमा शेयर बिक्री गरेर नेप्सेमा दर्ता भएका कम्पनीहरुमध्ये २० प्रतिशतले जति प्रतिफल दिन सक्छन् ८० प्रतिशतले त्यो मुनाफा दिन सक्दैनन् । तपार्ईँले खरिद गरेका शेयरमध्ये २० प्रतिशतले जुन मुनाफा तपार्ईँलाई दिने गरेको छ बाँकी ८० प्रतिशतले सो बराबरको नाफा नदिन सक्छ । कयौँ परिस्थितिमा त नकारात्मक परिणामसमेत देखिने गर्छ । नेप्सेमा हेर्ने हो भने युनिलिभर नेपाल, राष्ट्रिय बीमा कम्पनी, बोटलर्स नेपाल (बालाजु) लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले दिएको प्रतिफल त्यही समयमा अन्य कम्पनीको तुलनामा सयौँ गुणा बढी हुने गर्छ ।     
पैरेटो सिद्धान्तले लगानीकर्तालाई गराउने सजगता र सुझाव भनेकै तपार्ईँ त्यस्तो स्टकको खोजीमा लाग्नुहोस् जुन स्टक २० प्रतिशतभित्र परुन् । अर्थात् तपार्ईँसँग भएको ८० प्रतिशत शेयरले बराबर वा अझ बढी प्रतिफल २० प्रतिशत शेयरले दिइरहेको हुने गर्छ । तपार्ईँले त्यो २० प्रतिशतलाई चिनेर मात्रै आफ्नो लगानी गर्नु बढी बुद्धिमान हुने देखिन्छ । पैरेटोले भने जस्तै हामीले गर्ने लगानीको २० प्रतिशतले जुन लाभ दिन सक्छ ८० प्रतिशत लगानीले पनि नदिन सक्छ ।     
पैरेटोले भने जस्तै २० प्रतिशत गतिविधिले दिने परिणाम ८० प्रतिशत कामले दिनेभन्दा उच्च हुन सम्भव छ भने लगानीमा पनि कयौँ यस्ता अवसरहरु बजारमा हुने गर्छ, त्यसलाई पहिल्याउन जरुरत छ । चाहे व्यवसाय निमार्ण गर्ने कुरामा होस् वा पुँजी बजारमा लगानी गर्ने सवालमा हामीले त्यस्ता लाभदायक पारस पथर चिन्न सक्यौ भने आर्थिक सफलता सजिलै सम्भव देखिन्छ । 
पुँजी बजारमा ८०÷२० को नियम कसरी लागू गर्न सकिन्छ ?     
पैरेटो सिद्धान्तको मूल मर्म नै २० प्रतिशतबाट ८० प्रतिशत प्रतिफल आउने गर्छ भन्ने विश्वास हो । त्यसो हो भने हरेक लगानीकर्ताले यो सिद्धान्त थाहा पाएसँगै उसले लगानीमा बदल्नुपर्ने रणनीति भनेकै अब ८० प्रतिशतमा नभई २० प्रतिशतमा पर्ने कम्पनी र शेयरको खोजी गर्नु र त्यसैमा आफ्नो धन लगाउनु हो । ‘कमन स्टक अनकमन प्रोफिट’का लेखक फिलिप फिसरले भने जस्तै “शेयरहरु हेर्दा उस्तै देखिएता पनि त्यसले दिने प्रतिफल भने फरक हुने गर्दछ ।” मात्रै लगानीकर्ताले आफ्नो ज्ञान, योग्यता, क्षमता, पुँजी र समयमा सुहाउँदो शेयर खोज्न सक्ने हो भने मल्टिब्यागर स्टक पाउने निश्चित छ ।     
अन्त्यमा तपार्ईँको लगानीलाई बढी प्रतिफलमुखी र उच्च सम्पत्ति सिर्जना गर्ने बजाउन थप अध्ययन, अनुसन्धान, विश्लेषण र मूल्याङ्कन गरी अवसर खोज्ने बानीको विकास गर्न आवश्यक छ । आफ्नो लगानीलाई तुच्छ बहुमत ८० प्रतिशतबाट महत्वपूर्ण अल्पमत २० प्रतिशतमा सार्न सक्नु नै लगानी सफलताको मुख्य आधार हो । लगानीकर्ताले अब नअमल्ली पैरेटो सिद्धान्तले देखाएको प्रतिफलमुखी बाटोमा आफ्नो लगानीका पाइलालाई अगाडि बढाउन सक्नुपर्छ । यसबाट लगानीमा सफलता भेटाउन सकिन्छ । (रासस) 
(लेखक पुँजी बजारका अध्येता हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्