सप्तरी, ६ असोज - नेपालीहरूको महान् चाड दशैं सुरु भएसँगै सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्तामा भक्तजनको घुइँचो लाग्ने गर्छ । अन्य समयमा पनि भक्तजनको घुँइचो हुने गरेको छिन्नमस्ता मन्दिरमा दशैंमा लाखौंको संख्यामा भक्तजन आउने गरेका छन् ।
सोमबार पालिका जनप्रतिनिधि, जिल्लाका सुरक्षा निकायक प्रमुख तथा मन्दिर समिति बैठक बसेर दशैंबारे कार्ययोजना तयार गरेका छन् । मन्दिर परिसरमा भक्तजनको सहज आवागमन र सुरक्षालाई ध्यान दिँदै सोमबार बसेको बैठकले विशेष योजना बनाएको छ।
भीड व्यवस्थापनका ठूलो संख्यामा प्रहरी परिचालन, मन्दिर क्षेत्रलाई सिसिटिभीको निगरानी र आवतजावतमा सहजीकरण गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए । जिल्लाको सदरमुकामबाट आउने बाटो संघ सरकारमार्फत ठेक्का लागे पनि अलपत्र रहेको हुँदा अवस्था जीर्ण रहेको छ। उक्त बाटो तथा मन्दिर पुग्ने अन्य बाटो पनि दशैंमा सहज बनाउन मर्मत गरिने गाउँपालिका अध्यक्ष चौधरीले बताए ।
विशेषगरी सप्तमी, अष्टमी र नवमीका दिन भक्तजनहरूको अत्याधिक भीड लाग्ने गरेकोले सो तीन दिन लक्षित गरेर विशेष तयारी थालिएको छ । यी तीन दिनमा नेपाल तथा भारतका करिब १० लाख भक्तजन पूजाआजाका लागि छिन्नमस्ता आउने गरेको छिन्नमस्ता शक्तिपीठका पिठाधिश महाकान्त ठाकुरले बताए । यस वर्ष भीड अझ बढने अनुमान गरिएको छ ।
सो अवधिमा करिब ४ हजार खसीबोकाको बलि दिइने मन्दिरको तथ्याङ्क छ । भाकल गरेका भक्तजनले विशेष पूजा गर्ने परम्परा यस वर्ष पनि निरन्तरता पाउनेछ । बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म अत्यधिक भीड हुने भएकाले भीआइपीलाई बिहान ८ बजेसम्म पास लिएर पूजा सम्पन्न गर्न मन्दिर समितिले आग्रह गरेको छ ।
मधेश प्रदेशकै पर्यटकीय स्थलको रुपमा छिन्नमस्ता भगवती मन्दिरमा सरकारले ध्यान दिनु आवश्यक रहेको अध्यक्ष चौधरीले बताए । संघ सरकारले ध्यान दिए छिन्नमस्ता मन्दिरलाई बाह्य पर्यटक भिœयाउने क्षेत्र बनाउन सकिने अवस्था रहेको उनको भनाइ छ ।