नेभिगेशन
उपत्यका

काठमाडौंबाटै नागरिकताको प्रतिलिपि

काठमाडौं । देशका जुनसुकै जिल्लाबाट नागरिकता लिएका नेपाली नागरिकले अब काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार काठमाडौं, ललितपुर र भक्तपुरबाट अन्य जिल्लाका नागरिकले समेत नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था मिलाइएको हो ।
गृह मन्त्रालयको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौं संशोधन) नियमावली, २०८३ बमोजिम यो व्यवस्था कार्यान्वयनमा ल्याइएको सूचनामा उल्लेख छ । नागरिकता हराएको, आगो वा पानीले नष्ट भएको, च्यात्तिएर काम नलाग्ने भएको, हराएको वा नयाँ ढाँचामा आवश्यक परेको अवस्थामा सम्बन्धित व्यक्तिले प्रतिलिपिका लागि निवेदन दिन सक्नेछन् । व्यवस्थाअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकले सेवा लिन सक्नेछन् ।  ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोशी र मधेस प्रदेशका जिल्लाका नागरिकले सेवा पाउनेछन् ।
तर, नागरिकताको अभिलेख राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको विवरणसँग रुजु हुनुपर्नेछ । अभिलेख नभेटिएमा वा नाम, थर, जन्ममिति, ठेगानालगायत विवरणमा फरक देखिएमा सम्बन्धित जिल्लाबाटै प्रक्रिया अघि बढाउनुपर्ने हुनसक्छ ।
त्यसैगरी, अभिलेखमा उल्लेख भएको विवरणभन्दा फरक विवरण राखेर सच्याइएको नागरिकताको प्रतिलिपि लिन चाहने तथा पहिलो दृष्टिमै शंकास्पद देखिएका नागरिकता भएका व्यक्तिलाई नागरिकता जारी भएको जिल्लामै सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ । नयाँ व्यवस्थाले उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई नागरिकताको प्रतिलिपि लिन आफ्नै गृहजिल्ला पुग्नुपर्ने बाध्यता घटाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्