काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणको ११ औं खेलमा चितवन राइनोजलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। चितवन राइनोजले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले १६.४ ओभरमा ५ विकेटको क्षतीमा १३१ रन सहित लक्ष्य पूरा गरेको हो।
सुदूरपश्चिम रोयल्सले पावरप्लेमा निकै राम्रो सुरुवात गरेको थियो। पावरप्लेमा २ विकेटको क्षतीमा २२ रन बनाएको सुदूरपश्चिमका लागि वान डाउन आएका ब्याटर ब्रान्डन म्याकमुलेनले सर्वाधिक ४३ रन बनाए। उनले २१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। कप्तान दिपेन्द्र सिंह ऐरी डकआउट हुँदा इशान पाण्डेले २९ बलमा २ चौकासहति २५ रन बनाए। आरिफ शेख २० र सेर्फान रुथरफोर्ड २१ रनमा अविजित रहे।
चितवनले पावरप्लेमा बलिङ राम्रो गर्न सकेन। विशेषतः कप्तान सिकन्दर राजाको बलिङ निकै कमजोर देखियो। तर यता नेपालका युवा स्पिनर रञ्जित कुमारले भने किफायती बलिङ गरे। रञ्जित कुमारले ३ विकेट लिँदा रिजन ढकाल र मौसम ढकालले १-१ विकेट लिए। बलिङमा खासै प्रभाव पार्न नसकेको चितवनले फिल्डिङमा ४ वटा क्याच मिस गर्यो। सुरुवातमा नै मध्यम लक्ष्य बनाएको चितवनले बलिङ र फिल्डिङ कमजोर गर्दा खेल सुदूरपश्चिमलाई सुम्पियो।
त्यसअघि, ब्याटिङ गरेको चितवन सोचेअनुरुप ब्याटिङ गर्न सकेन। पावरप्लेमा २ विकेटको क्षती ३९ रन मात्रै जोडेको चितवनको मध्यक्रम सुस्तायो । मध्यक्रममा आएर रबि बोपाराले क्रिज धानिदिए। उनले सर्वाधिक ४९ रन बनाए। उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे। १८.१ ओभरमा स्कट केग्गुलिनको बलमा दिपेन्द्र सिंह ऐरीको हातमा उनी क्याच भए।
चितवनले पहिलो विकेटको रूपमा ओपनर देव खनाललाई सस्तैमा गुमायो। त्यसपछि वान डाउन आएका अर्जुनले १५ रन बनाउँदा तेस्रो विकेटको रुपमा अर्का ओपनर डेविड मलान १६ रनमा पेभेलियन फर्किए। १३ रन बनाउँदा कप्तान सिकन्दर राजाले क्याच मिसको रुपमा जीवनदान पाए। तर १५ रन बनाएर सिकन्दर पेभेलियन फर्किए।
विवेक यादव १७ रनमा रनआउट हुँदा टम टेलर ६ रनमा अविजित रहे। सुदूरपश्चिम रोयल्सको लागि बलिङमा स्कट केग्गुलिनले २ विकेट लिँदा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले १औ१ विकेट लिए।
चितवनले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ८ रनको जित दर्ता गरेको थियो। दोस्रो खेल भने यो टोलीले वर्षाको कारण लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो।
सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो। तेस्रो खेलमा विराटनगरसँग ३५ रनको हार बेहोरेको थियो।
आजको पहिलो खेलमा काठमाडौंले कर्णाली याक्सविरुद्ध ४ विकेटको जित दर्ता गरेको थियो। मंगलबार एनपीएलमा २ खेल रहेका छन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सले खेल्नेछन्। दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सले खेल्नेछन्। पहिलो खेल दिउँसो १२:३० मा हुनेछ भने दोस्रो खेल अपरान्ह ५ बजे हुनेछ।