नेभिगेशन
खेलकुद

आजदेखि अझ रोचक बन्दै एनपीएल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लगातार भएका खेलपछि हिजो विश्राम रह्यो । विश्रामपछि खेल आज बिहीबारबाट पुनः सुरु हुँदैछ ।

मंगलबार भएका दुई खेलमध्ये पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले हराउँदा जनकपुर स्तब्ध बन्न पुगेको थियो । विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो भने जनकपुर ७ विकेट गुमाएर १७२ रनमै सीमित भयो । आन्द्रे रसेलले लिएको चार विकेट विराटनगरको जितमा निर्णायक बन्न पुगेको थियो । यसैगरी दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले सहज जित निकाल्यो । पोखरा ९ विकेट गुमाएर ९७ रनमा सीमित भएपछि लुम्बिनीले ११.४ ओभरमै २ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
तीन खेलबाट दुई जित र एक रद्द खेलको एक अंकसहित लुम्बिनी ५ अंकमा शीर्ष स्थानमा छ । उसको नेट रन रेट +४.०५१ छ । विराटनगर, कर्णाली याक्स, जनकपुर र सुदूरपश्चिम रोयल्स चारै टोली ४÷४ अंकमा बराबरी छन् । तीमध्ये विराटनगर (+०.४०८) दोस्रो स्थानमा छ । चितवन राइनोज ३ अंकसहित छैटौं, काठमाडौं गोर्खाज २ अंकसहित सातौं स्थानमा छन् । तीन खेल खेल्दा तीनै वटा खेलमा हार्ने पोखराले अझै अंकको खाता खोल्न सकेको छैन । शीर्ष चार टोली प्लेअफमा पुग्ने भएकाले दोस्रोदेखि पाँचौं स्थानसम्म चार टोली बराबरी अंकमा रहँदा होड रोचक बनेको छ ।
ब्याटिङतर्फ विराटनगरका लोकेश बम १८८ रनसहित शीर्ष स्थानमा छन् । उनकै टोलीका रसेल १४१ रनसहित दोस्रो र कर्णालीका अरिफुल इस्लाम ११९ रनसहित तेस्रो स्थानमा छन् । बलिङतर्फ जनकपुरका मोइन अली, विराटनगरका एन्जेलो म्याथ्युज र कर्णालीका कप्तान सोमपाल कामी ७÷७ विकेटसहित संयुक्त शीर्षमा छन् ।
दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर एनपीएलका लागि नेपाल आइपुगेका छन् ।
    उनी बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । मिलरलाई एनपीएल टोली कर्णाली याक्सका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए । उनी पहिलोपटक नेपाल आएका हुन् । कर्णाली याक्सले यस संस्करणका लागि विदेशी खेलाडीका रूपमा मिलरलाई टोलीमा अनुबन्ध गरेको हो । बायाँहाते ब्याटर मिलर सीमित ओभरको क्रिकेटमा आक्रामक ब्याटिङ र दबाबपूर्ण परिस्थितिमा खेललाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका लागि परिचित छन् । ३७ वर्षीय मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै दुई शतक र नौ अर्धशतकसहित दुई हजार ८०४ रन बनाएका छन् । 
त्यस्तै, उनले १८० एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा आठ शतक र २४ अर्धशतकसहित चार हजार ७६२ रन बनाएका छन् । समग्र टी–२० क्रिकेटमा उहाँको अनुभव अझ प्रभावशाली छ । मिलरले विभिन्न घरेलु तथा फ्रेन्चाइज प्रतियोगिताका ५८४ खेलमा चार शतक र ५३ अर्धशतकसहित १२ हजार ४३५ रन बनाएका छन् । 
इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्स, राजस्थान रोयल्स, गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सलगायत टोलीबाट खेलिसक्नुभएका मिलर सन् २०२२ मा गुजरात टाइटन्सले पहिलोपटक उपाधि जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए । सन् २०१७ मा बंगलादेशविरुद्ध मात्र ३५ बलमा टी–२० अन्तर्राष्ट्रिय शतक प्रहार गरेका मिलर विश्व क्रिकेटका अनुभवीमध्ये एक मानिन्छन् ।
अर्कातर्फ, भारतीय क्रिकेटर के.एस. भरतले व्यस्तताका कारण एनपीएल नखेल्ने भएका छन् । उनी काठमाडौं गोर्खाजको स्क्वाडमा सूचीकृत थिए । रसेलले भने एनपीएलमा थप एक खेल मात्र खेल्ने बताइएको छ ।
आज बिहीबार दुई खेल हुने बताइएको छ । दिउँसो १२ः३० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्नेछन् । यहाँ जित्न सके लुम्बिनीले शीर्ष स्थान सुदृढ गर्नेछ । त्यसैगरी साँझ ४ः३० बजे काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच खेल हुनेछ । गोर्खाजमा राशिद खान र डेभिड वार्नर छन् भने विराटनगरको नेतृत्व सन्दीप लामिछानेले गर्छन् । साथै रसेलको उपस्थिति पनि खेललाई रोमाञ्चक बनाउन पर्याप्त छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्