नेभिगेशन
मनोरञ्जन

कमाइ १ अर्ब २७ करोड

भारतीय चलचित्र इतिहासकै सबैभन्दा ठूलो बजेटमा निर्माण भएको रणवीर कपुर अभिनित ‘रामायण’ले प्रदर्शनको पहिलो दिन विश्वभर १ अर्ब २७ करोड ५० लाख भारु कमाएको छ । निर्देशक नितेश तिवारीको यो बहुप्रतीक्षित फिल्मको सुरुवाती कमाइ यसको बजेट र व्यापक प्रचारको तुलनामा कमजोर देखिएको छ । पहिलो दिनको व्यापारमा यो फिल्म ‘जवान’ (१२९ करोड) र ‘आदिपुरुष’ (१२८ करोड) भन्दा पनि पछि पर्दै भारतीय फिल्मको ओपनिङ कमाइको सूचीमा १६औँ स्थानमा खुम्चिएको छ ।
सोनी पिक्चर्सले विश्वभरका ७० हजार पर्दामा रिलिज गरेको यस फिल्मले भारतमा पहिलो दिन ६४ करोड ८५ लाख भारु खुद र विदेशमा ५५ लाख डलर हाराहारीमा कमाइ गरेको छ । जसमा कन्नड संस्करणको कमाइ ७ करोड ५० लाख भारु मात्र छ । अपेक्षित व्यापार गर्न नसकेको यस फिल्मको व्यावसायिक भविष्य अब चार दिन लामो दीपावली बिदामा दर्शकबाट प्राप्त हुने ‘माउथ पब्लिसिटी’मा निर्भर रहनेछ ।
फिल्मले समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । रामको भूमिकामा रणवीर, रावणको भूमिकामा यश र सीताको भूमिकामा साई पल्लवीको अभिनय तथा हिन्दी सिनेमामै पहिलोपटक देखिएको उत्कृष्ट भिएफएक्स (दृश्य प्रभाव) को धेरैले प्रशंसा गरेका छन् । तर, छरिएको पटकथा, सुस्त कथावाचन र कमजोर सङ्गीतलाई लिएर फिल्मको आलोचना भइरहेको छ । यद्यपि, चर्चित निर्देशक एसएस राजामौलीले भने फिल्मको भव्यता र कलाकारको अभिनयको खुलेर तारिफ गरेका छन् । दुई भागमा निर्माण हुने यस फिल्मको दोस्रो शृंखला सन् २०२८ को दीपावलीमा ल्याउने तयारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्