नेभिगेशन
प्रदेश

पालिका प्रमुखको हठले कर्मचारी पीडित

सप्तरी, ९ असोज - स्थानीय सरकारले असार १ गतेदेखि १० गतेसम्म सभा गरी बजेट ल्याउनुपर्ने कानुनी प्रावधान छ । सो बजेट असार मसान्तभित्र पारित गरेर त्यसको सात दिनभित्र पालिका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्चको लागि अख्तियारी दिनपर्ने व्यवस्था कानुनमै छ । तर सप्तरीका प्रायजसो पालिकाका जनप्रतिनिधिहरूले बजेट ल्याउनेदेखि पालिका प्रमुखले अख्तियारी दिने कानूनको उल्लंघन गर्दै आएको छ ।

स्थानीय सरकार संचालन ऐनको दफा ७३(१) मा पारित बजेटको सात दिनभित्र खर्चको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई पालिका प्रमुखले दिनुपर्ने प्रावधान छ । तर चालु आर्थिक वर्षको दुई महिना बितिसक्दा पनि सप्तरीका १८ स्थानीय तहमध्ये ८ पालिकाले मात्र कोष तथा लेखा नियन्त्रण कार्यालयमा रकम निकासाको प्रक्रिया थालेका छन् ।

दशैंमा समेत पालिकाले कर्मचारीलाई तलब दिने अवस्था नरहेपछि सप्तरीको खडक नगरपालिकाकामा शिक्षकहरू पालिका धाइरहेका छन् । नगरप्रमुख, उपप्रमुखदेखि प्रमुख प्रशासकीय अधिकृतलाई धाएको उनीहरूले बिहीबार समेत दिनभर पालिकामा बसे तर आश्वासनबाहेक केही पाएनन् । 

पटकपटक आश्वासन पाए पनि नगरप्रमुख जयप्रकाश चौधरीले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा तलब निकासा हुने अवस्था नरहेको शिक्षक मोतीलाल साहले बताए । तलब नपाएर चाडपर्वको बेला समस्या खेपिरहेका शिक्षकहरू तलबको लागि आन्दोलन नै गर्नुपर्ने तयारीमा छन् । 

आर्थिक कारोबार सुरु नहुँदा शाखाको काम पनि चलाउन गाह्रो भइरहेको पशु शाखाका प्रमुख चन्द्रप्रसाद चौधरीले बताए । आर्थिक कारोबार सुरु नहुँदा घरदेखि कार्यालयसम्म समस्या रहेको उनी बताउँछन् ।

नगरपालिकामा आर्थिक कारोबार सुरु नहुँदा शिक्षक तथा वडा, स्वास्थ्यकर्मी पालिकाका कर्मचारी गरी ५ सय भन्दा बढी जना अहिले तलबबाट वञ्चित रहेका छन् । कानूनअनुसार बजेट पारित भएको सात दिनभित्र खर्च गर्ने अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई दिनुपर्ने भए पनि नगरप्रमुखले अख्तियारी नदिइरहेको प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले बताए । 

‘कानुनमा पालिका प्रमुखले अख्तियारी नदिएसम्म त तलब दिन सक्ने अवस्था छैन, कानूनअनुसार बजेट पारित भएको सात दिनभित्रै दिनुपर्ने हो तर हालसम्म पनि दिएको छैन, नगरप्रमुखज्यू पालिका पनि आउनुभएको छैन,’ उनले भने, ‘यसको कानुनमा वैकल्पिक कुनै उपाय पनि छैन ।’

यस विषयमा खडक नगरपालिकाका प्रमुख चौधरीलाई सम्पर्क गर्दा उनी आफू घरमा रहेको र आज पालिकाले नआउने जवाफ फर्काए । यस्तै सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा पनि तलब नपाएर कर्मचारीहरू भौतारिरहेका छन् । हालै जसोतसो यस गाउँपालिकामा सभा सम्पन्न भए पनि आर्थिक कारोबार सुरु भएको छैन् ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत केशव झालाई यस पालिकामा सरुवा गरे पनि उनी हाजिर नहुँदै उनका विरोधमा स्थानीय आन्दोलनमा उत्रिए । 

उनी मालपोत कार्यालय प्रमुख हुँदा सो पालिकाको एक सार्वजनिक जग्गा व्यक्तिको नाममा गरेकोले उनलाई आफ्नो पालिकाको प्रमुख प्रशासकीय अधिकृत नस्वीकार्ने स्थानीयको अडान छ । यस्तोमा सातौं तहका कर्मचारी योगेन्द्रप्रसाद यादवलाई आर्थिक जिम्मेवारीको लागि संघीय मामिला मन्त्रालयलाई पत्राचार गर्ने कार्यपालिकाले निर्णय गरेको छ ।

यता पालिका प्रमुख दिनानाथ चौधरीले सो निर्णयलाई बदर गरिदिएका छन् । यही कारण अहिले कर्मचारीहरूले तलब समेत पाउन सकेका छैनन् । पालिका प्रमुख कार्यलय नआउँदा समस्या समाधान गर्ने अवस्था नरहेको पालिका उपाध्यक्ष कल्पना चौधरीले बताइन् । 

स्थानीयवासी तथा कर्मचारी स्रोतका अनुसार दिनभरि मदिराको नशामा रहने पालिका प्रमुख पालिकामा समेत हंगामा गर्ने गरेका छन् । अहिले उनी बिरामी रहेको बहाना बनाउँदै सम्पर्कविहीन बनेको शिक्षक दुखन यादवले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्