नेभिगेशन
प्रदेश

वास्तविक भुटानको चित्र

विद्यार्थी जीवनमा मैले आफ्नो देशको इतिहास पढ्ने कुनै अवसर पाइनँ । सायद भारतीय इतिहास घोक्नुपर्ने बाध्यताले होला म सधैँ आफ्नै देशको इतिहास जान्न उत्सुक रहन्थेँ । जब म हुर्किएँ, मेरो देशको इतिहास लेखिएकै छैन भन्ने थाहा पाउँदा धेरै दुःख लाग्यो । जीवनको उत्तरार्धमा पनि देशको समग्र इतिहास पढ्ने मेरो धोको पूरा भएको छैन ।

हाम्रो बाल्यकालमा गाउँका बूढापाकाले राजधानीबाट प्रायशः गाउँमा आउने ‘जिङाप’ र चप्रासीहरूले अत्यन्त दुःख दिएको व्यथा सुनाउँथे । आवाससम्बन्धी महत्वपूर्ण कागजातहरू लुटपाट गरिएका, च्यातिएका र जलाइएकाजस्ता दर्दनाक पीडा पनि बताउँथे । यद्यपि हाम्रो बालमस्तिष्कमा ती पीडादायी कथाहरू केवल दन्त्यकथाजस्तो प्रतीत हुन्थ्यो ।

जब सन् १९९० मा भूटानी जनताको बढ्दो प्रजातान्त्रिक आवाजलाई दबाउनका लागि रोयल भूटान पुलिसका जवानहरू समूहगत रूपमा विद्यालय प्रवेश गरी नेपाली पाठ्यपुस्तक खोसेर विद्यार्थीका सामुन्ने आगो सल्काए, सर्वसाधारण जनताका घरबाट भूस्वामित्वसँग सम्बन्धित महत्त्वपूर्ण दस्तावेजहरू खोसेर च्याते, जलाए, तब मात्र हाम्रो पिँढीलाई पूर्वजहरूले भोगेका विगतका ती अत्याचारहरू कति दर्दनाक र त्रासदीपूर्ण थिए भन्ने अनुभूति भयो ।

५० को दशकसम्म भूटानले आधुनिक सभ्यतालाई अँगाल्न चाहेन । साठीको दशकपछि भारतीय सहयोगमा पञ्चवर्षीय योजनाको कार्यान्वयनले आधुनिक शिक्षा र स्वास्थ्य सेवामा आंशिक सुधार ल्यायो । गरिब जनताको अथक परिश्रमबाट राष्ट्रिय राजमार्गहरू निर्माण भएसँगै विकट गाउँ र जिल्लाहरू राजधानीसँग प्रत्यक्ष रूपमा जोडिए । जनताको श्रमदानका भरमा आधुनिक सुविधासम्पन्न विशाल भवनहरू र शासकका लागि आलिशान दरबारहरू खडा भए । देशवासीहरूको अनवरत प्रयासबाट मुलुकले नयाँ युगमा फड्को मार्ने सुअवसर प्राप्त गयो ।

सन् १९७१ मा संयुक्त राष्ट्रसङ्घको १२८ औं सदस्य राष्ट्र बनेर भूटानले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पहिचान स्थापित गर्न सफल भयो । तर विडम्बना राष्ट्रसङ्घको आदर्श र सिद्धान्तलाई आत्मसात् गर्दै मुलुकमा विविधतायुक्त समाजको सहअस्तित्व स्थापना गर्नुको सट्टा सरकारले नागरिकलाई डालोङ, सारछोप र ल्होछाम्पा समुदायमा विभाजन गरेर देशमा अस्थिरताको बीजारोपण गर्यो ।

संयुक्त राष्ट्रसङ्घमा आबद्ध भएको ३६ वर्षपछि जनताको लोकतान्त्रिक संघर्षको परिणामस्वरूप देशले अधुरो लिखित संविधान प्राप्त गर्‍यो । तर, फेरि पनि जनताबीच सहअस्तित्व कायम गर्ने संवैधानिक दायित्वप्रति बेवास्ता गर्दै उल्टो सरकार नै मुलुकमा जातीय तथा धार्मिक अतिक्रमण गर्ने दुष्कर्मतर्फ अग्रसर भयो ।

parda-pachhadi-Bhutan-1758416143.jpgअघिल्ला राजाहरूभन्दा अधिक उद्दण्ड र तानाशाही बनेका चौथो राजा जिग्मी सिङ्गे वाङ्चुकको उत्तरार्धकाल अत्यन्त निर्दयी, आक्रामक तथा जातीय दमनतर्फ केन्द्रित भयो । उनले ‘सुशासित राष्ट्रका सुखी जनता’ भन्ने नयाँ विचार लिएर विश्व रङ्गमञ्चमा प्रवेश गर्ने दुस्साहस गरे ।

समग्र भूगोलको ध्यान आफूतर्फ केन्द्रित गराउने लक्ष्य लिई उनले विश्व अर्थ व्यवस्थाले अपनाएको ‘जिडिपी’ लाई आफ्नै ढाँचाभित्र लुकाएर देशमा ‘ग्रस नेशनल ह्यापीनेश’ (जिएनएच) को भ्रामक अवधारणा प्रस्तुत गरे । उनले भूटानी जनताको खुशी र प्रगतिशील विकासका लागि सुशासन कायम गर्ने, दिगो विकासको प्रवर्धन गर्ने, संस्कृतिको संरक्षण तथा विकास गर्ने, वातावरण संरक्षणमा सुधार गर्ने आदि आफ्नो ढाँचाको मुख्य उद्देश्य रहेको बताए । यससँगै उनले राष्ट्रको मौलिक पहिचानमाथि प्रत्यक्ष प्रहार गर्दै परम्परागत रूपमा निर्माण भएको जातीय, धार्मिक र सांस्कृतिक संरचनालाई ध्वस्त पार्ने योजनाका रूपमा ‘एक राष्ट्र, एक जनता’ को छद्म अवधारणा लागू गरे ।

सन् १९०७ मा प्रथम राजा सर उग्येन वाङ्चुकलाई राजतन्त्र स्थापना गर्न महत्त्वपूर्ण सहयोग पुयाएका नेपाली समुदायलाई दोस्रो राजा जिग्मी दोर्जी वाङ्गचुकको पालामा सीमा सुरक्षाका अतिरिक्त जिम्मेवारी दिएर देशको विकास अभियानमा समावेश गरिएको थियो । तर, यसको ३६ वर्षपछि चौथो राजा जिग्मी संरक्षण गर्छ । राष्ट्रियता भनेको आफ्नो माटो, संस्कृति र निश्चित भूगोलको अखण्डताप्रतिको भावनात्मक लगाव हो । राष्ट्रियताको सुदृढीकरणका लागि सांस्कृतिक तथा सामाजिक एकता साथै साझा मनोवैज्ञानिक सम्बन्ध आवश्यक छ। जनशक्ति र पूर्वाधारले राष्ट्र पुनर्निर्माणका लागि आवश्यक एक मजबुत आधार प्रदान गर्दछ ।

यस अर्थमा एक लाखभन्दा धेरै भूटानी नागरिकलाई देश निकाला गर्ने भूटानी शासकको घृणित कदमले निःसन्देह भूटानी राष्ट्रियतालाई कमजोर बनाएको छ । कुनै पनि राष्ट्रले आफ्ना नागरिकको एउटा महत्त्वपूर्ण हिस्सालाई सधैंभरि निर्वासनमा धकेलेर आफूलाई प्रतिष्ठित र सुरक्षित महसुस गर्न सक्दैन र भूटानमात्र अपवाद हुन सक्दैन।

निर्वासितहरूका लागि तीन दशकअघि देश छाड्नु पर्दाको पीडा अहिले पनि उस्तै छ । यद्यपि हरेक बादलमा चाँदीको अस्तर रहन्छ भनेझैँ निर्वासनमा बिताइएका सबैभन्दा कठिन दशकहरूले निश्चित रूपमा केही सकारात्मक परिणामहरू दिएका छन् । निर्वासितहरूको कारुणिक कथाले विश्वको ध्यानाकर्षण हुँदा वर्षौंदेखि पृथक् रहँदै आएको भूटान र यसको प्रशासनिक प्रणाली अहिले विश्वसामु परिचित भएको छ ।

वास्तवमा भूटानी जनताले वर्षौंदेखि गर्दैआएको प्रयास पनि लोकतन्त्रमार्फत देशलाई विश्वसामु परिचित गराउने नै हो। आज भूटानमाथि छिमेकीको थोरैमात्र हस्तक्षेप हुँदा पनि विश्व समुदायले चासो राख्न थालेको छ । भूटानी परिदृश्यमा आएको यो परिवर्तनले परोक्ष रूपमा राष्ट्रको अस्तित्वलाई थप सुरक्षित गरेको छ । विगत तीन दशकदेखि निर्वासित भूटानीहरूले स्वदेश फिर्तीका लागि गरेको निरन्तरको सङ्घर्षले पनि उनीहरूमा आफ्नो राष्ट्रप्रतिको अटल आस्था र माया रहेको प्रमाणित गरेको छ । तर यी परिणामहरूको अर्थ भूटानी शासकले आफ्ना नागरिकमाथि गरेको नृशंस अत्याचार जायज छन् र थिए भन्ने किमार्थ होइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्