देहि मे दयां देवी सौन्दर्यं सर्वम·लम् ।
भक्तानां अभयां कुरु दुर्गे देवि नमोऽस्तु ते ।।
विगतका वर्षमा जस्तो यस वर्षको नवरात्री र बडादशैंको त्यति आत्मिक चहलपहल र खुसीको वातावरण बन्न सकेको छैन । किनभने जेनजी विद्रोहले नेपाल आमा लगायत धेरै आमाको कोख रित्तो भएको छ । सुशासनको जागरणका लागि होमिएका जेनजी युवाहरूले अनाहकमा ज्यान गुमाउनु परेको पीडाले असंख्य नेपाली मन रोएको छ ।
जेनजीको पवित्र भावको आन्दोलनका नाममा अनेक अनुहारको घुसपैठ भयो । निर्दोष मानिसले अनाहकमा ज्यान गुमाउनु पर्यो । राष्ट्रिय र व्यक्तिगत सम्पत्ति खरानी भए । कयौं रात कतिको निद्रा परेन । राष्ट्र जागा रह्यो, राष्ट्रिय धरोहरहरू रातभर जलिरहे । सारा नेपालीको मन त्यो भन्दा गहिराईसम्म जलिरह्यो ।
यसैबीचमा अन्तरिम मन्त्रीमण्डलको गठन भएको छ र सबैको आशा फेरि नेपाललाई नयाँ सिराबाट जगाउने र भ्रष्टाचार अनि अराजकतालाई जरैबाट उखेलेर फाली समृद्ध राष्ट्र नेपाल बनाउने रहेको छ । संयोग पनि मिलेको छ अन्तरिम सरकारको प्रधानमन्त्री महिला हुनुहुन्छ, देवी शक्ति, दुर्गाशक्ति, मातृशक्ति राष्ट्रले अगुवाको रूपमा पाएको छ र माता दुर्गाको आशिर्वादले सर्वमंगलता फैलिनेछ ।
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
सबै प्राणीमा शक्ति स्वरूप स्थापना भएकी देवीलाई बारम्बार नमस्कार छ । नवरात्रिको सार नै देवी केवल मन्दिरमा मात्र नभई प्रत्येक प्राणी, प्रत्येक जीव र प्रत्येक चेतनामा शक्ति स्वरूपमा विद्यमान छिन् ।
नवरात्रि पर्वको आध्यात्मिक महत्व
नेपाल विविध धर्मसंस्कृति र परम्पराहरूले समृद्ध राष्ट्र हो । हाम्रा प्रत्येक पर्वले आध्यात्मिक मात्र नभई सामाजिक, सांस्कृतिक र पारिवारिक ऊर्जा पनि प्रवाह गर्दछन् । तीमध्ये नवरात्रि पर्व, जसलाई दशैं वा दुर्गापूजा पनि भनिन्छ अति महत्वपूर्ण मानिन्छ । नवरथाभरी देवी नवदुर्गाका नौ रूपहरूको आराधना गरिन्छ । जसले मानव जीवनलाई शक्ति, ज्ञान, साहस र शान्तिको मार्गमा अघि बढाउँछन् । ‘नवरात्रि’ शब्द नै ‘नव’ अर्थात् नौ र ‘रात्रि’ अर्थात् रात्री मिलेर बनेको हो ।
नौ रात्री र दश दिनसम्म देवीको पूजाअर्चना, साधना र आराधना गरिन्छ । प्रत्येक दिन देवीका नौ रूपहरूको विशेष विधि र मन्त्रोच्चारणसहित आराधना हुन्छ । यसलाई आध्यात्मिक साधना र आत्मशुद्धिको पर्व पनि मानिन्छ । त्यसैले हामीले मनाउने नवरात्री, नवरथा आत्मिक शुद्धि र सर्वमंगलमयको लागि हुनुपर्दछ र आजको समयमा अरू जरूरी छ । आज नेपाल आमाको लागि र सम्पूर्ण मातृशक्तिको सम्मान गर्ने आयाम नै आत्म सचेतना र सर्वमंगल हुनुपर्नेछ । मपाई, मेरो लागि भन्ने स्वार्थ र एक अर्काबिच प्रतिशोधको भावनाले कसरी आफ्नै चिज नाश हुन्छन् त्यो हामीले आजको परिवेशमा आफ्नै नजरले देखेका छौं ।
देवी नवदुर्गाका नौ रूप र ऊर्जा शक्ति
१. शैलपुत्री – हिमालयकी कन्या, पर्वत जस्तै अटल विश्वास र धैर्यको प्रतीक; २. ब्रह्मचारिणी – तपस्या र आत्मसंयमको शक्ति, जो आत्मिक विकासका लागि प्रेरणा दिन्छिन्; ३. चन्द्रघण्टा – शान्ति र विजय दुवैको ऊर्जा दिने देवी; ४. कूष्माण्डा – ब्रह्माण्ड सृष्टिकर्ता, जीवन दिने दिव्य शक्ति; ५. स्कन्दमाता - मातृत्व, रक्षा र करुणाको प्रतीक; ६. कात्यायनी - साहस, न्याय र असत्यविरुद्ध लड्ने शक्ति; ७. कालरात्रि – अज्ञान र अन्धकार नाश गर्ने उग्र स्वरूप; ८. महागौरी – शुद्धता, आशीर्वाद र मोक्षदायिनी देवी; ९. सिद्धिदात्री – सिद्धि, ज्ञान र आत्मसाक्षात्कार दिने शक्ति ।
यी नवरूपको ध्यान गर्दा सम्पूर्ण भक्तजनमा भित्रैबाट जागरण र शक्ति प्राप्त हुने विश्वास गरिन्छ । त्यसैले हामी शक्तिपीठको दर्शन गर्दा, पूजा अर्चना र व्रत उपासना गर्दा आफू भित्रका यी नवगुणलाई याद गरेका हुन्छौं । हामी मन्दिर किन जान्छौं ? केवल बाहिरी दर्शन र पूजा अर्चनाले हामी भित्रको साहस, अन्याय विरुद्ध लड्ने शक्ति, अज्ञान र अन्धकारको नाश, आफूभित्रको शुद्धतम ज्ञान, सिद्धि र आत्मसाक्षात्कारको ज्ञान हुँदैन । हाम्रो साधनाले यी गुणहरूलाई अरु सशक्तरूपमा उजागर गर्न सक्नुपर्दछ । त्यसैले त हाम्रो शास्त्रमा भनिएको छः
हे सर्वमंगलमयी माता, हे गौरी, तपाईं कल्याण, धर्म र सफलता दिने शक्ति हुनुहुन्छ । तपाईंलाई नमस्कार छ । हामी भित्रको देवी शक्तिलाई धर्म र कल्याणकारीताको माध्यमबाट प्रष्फुटन हुन दिनुछ । तब मात्र हामीमा सर्व मंगलको भाव उजागर हुन्छ र व्यवहारमा पनि लागू गर्न सकिन्छ ।
डा. नम्रता पाण्डे
नवरात्रि पर्वको विशेष महत्व
हामी घटस्थापना मार्फत नवरात्रको आरम्भ गर्दछौं । घटस्थापना अर्थात् नव्रत्रको पहिलो दिन घरघरमा माटाको भाँडोमा या अन्य उपायद्वारा जमरा रोपिन्छ । यसलाई शक्ति र समृद्धिको प्रतीक मानिन्छ । शक्तिपीठ र मन्दिर दर्शन गरिन्छ । काठमाडौंको हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिर, भक्तपुरको नवदुर्गा नाच, गोरखाको गोरखकाली मन्दिर लगायत स्थानमा लाखौं भक्तजन पूजाआराधनामा सहभागी हुन्छन् ।
नवरात्रि साधनामा भक्तजनले व्रत, उपवास, मन्त्रजप, रात्रि भजन, तथा देवीको नामस्मरण गरी जीवनलाई अनुशासित बनाउने थप अभ्यास गर्छन् । विजया दशमी अर्थात् दशौं दिन असत्यमाथि सत्यको विजय स्वरूप टीकाजमरा लगाउने परम्परा छ । यसले परिवार र समाजमा आशिष, एकता र प्रेमको वातावरण बनाउँछ । आफूभन्दा ठूलासंग ग्रहण गरिने टीका र जमरा अर्थात् माता दुर्गाको प्रसादले जीवनमा आशिष र समृद्धिको विकास हुन्छ भन्ने विश्वास छ र यो यथार्थ पनि हो ।
नवरात्रिको सामाजिक र सांस्कृतिक मूल्य
महिला शक्ति प्रति श्रद्धा नेपालमा नवरात्रि पर्वलाई देवीपूजा मात्रै नभई महिलाको योगदानप्रति कृतज्ञता व्यक्त गर्ने पर्वका रूपमा पनि लिइन्छ । काठमाडौंको हनुमानढोका दरबारमा तलेजु भवानी पूजा विशेष श्रद्धाका साथ हुन्छ, जहाँ देवीलाई राजपरिवार र सम्पूर्ण राष्ट्रको शक्ति र संरक्षणदात्रीको रूपमा मानिन्छ । कन्या पूजा (कुमारिका पूजा) मार्फत यसलाई अरू गहन रूपमा जान्न सकिन्छ । यो प्रथा काठमाडौं, भक्तपुर, ललितपुर र गोरखामा विशेषरूपमा प्रचलित छ ।
यस दिन साना कन्याहरूलाई देवीको स्वरूप मानी पूजा गरिन्छ, जसले महिलालाई दैवीय शक्ति स्वरूप सम्मान गरिएको देखाउँछ । ग्रामीण भेगमा महिलाहरूले दशैंमा पूजाअर्चनामा प्रमुख भूमिका निर्वाह गर्दछन्, जसले परिवार र समाजमा उनीहरूको धार्मिक र आध्यात्मिक नेतृत्व झल्काउँछ । नवदुर्गा पर्वले महिलालाई केवल गृहिणी वा सहयोगी मात्र नभई सृष्टि र शक्ति प्रदान गर्ने देवी स्वरूपमा स्थापित गरेको छ । भनिन्छ जुन घरमा यसलाई आत्मसात गरिन्छ त्यो घरमा सधैं समृद्धि स्थापना हुन्छ ।
सामाजिक एकता– नेपालभर नवरात्रि अर्थात् दशैं सामाजिक मिलनको पर्वका रूपमा मनाइन्छ। टाढाटाढा रोजगारी वा अध्ययनमा रहेका आफन्तहरू दशैंमा घर फर्किन्छन्, जसले पारिवारिक पुनर्मिलनको वातावरण सिर्जना गर्छ ।
टीकाजमरा वितरणको परम्पराले सानोठूलो, गरीबधनी, जातजातिबिच कुनै भेदभाव नगरी समान भावले आशीर्वाद ग्रहण गर्ने संस्कारलाई बल दिन्छ । भक्तपुरमा प्रचलित नवदुर्गा नाच सामाजिक एकताको प्रतीक हो । यो नाचमा देवी नवरूपलाई अभिनय गरेर गाउाँगाउँमा लैजान्छन्, जसले स्थानीय समुदायलाई जोड्ने कार्य गर्छ । यसरी नवरात्रि पर्वले जातीय, भाषिक र सांस्कृतिक विविधतामध्ये पनि एकताको सूत्रमा बलियो बनाउँछ ।
आध्यात्मिक शुद्धि– नवरात्रिको नौ दिन उपवास, व्रत र साधनामा समर्पित हुन्छ । घरघरमा घटस्थापनासँगै जमरा रोप्ने परम्परा शरीर र आत्माको शुद्धीकरणको प्रतीक हो । भक्तजनले देवी मन्दिरमा गई मन्त्रजप, भजनकीर्तन, दीपदान र व्रत गर्छन् । धेरैजसोले मासु, मदिरा त्यागेर सात्विक भोजन मात्र गर्ने परम्परा पालना गर्छन् । यसरी नवरात्रि पर्वले आत्मिक अनुशासन र शुद्ध जीवनशैलीलाई प्रोत्साहन दिन्छ ।
सकारात्मक ऊर्जा– पर्वको आगमनसँगै घरआँगन र वरपरको सरसफाई, किनमेल र पारिवारिक भोज, जमघट, ठाउँ ठाउँमा बनाइने लिङ्गे पिङ्ग, चंगा चेट लगायतका कुराले मन सकारात्मक र ऊर्जावान महसुस हुन्छ । नवरात्रभरी हरेक क्षेत्रका देवी मन्दिरहरूमा नवरात्रिका बेला विशेष भीड लाग्छ । गोरखाको गोरखकाली मन्दिरमा भक्तजन देवीको दर्शन गर्न हजारौंको संख्यामा पुग्छन् ।
काठमाडौं उपत्यकामा आयोजित रात्रि भजनकीर्तन र देवी मेलाहरूले वातावरणलाई आध्यात्मिक र ऊर्जावान बनाउँछ । दशमीको दिन विजया दशमी पर्वलाई असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ । यसले मानिसलाई आशा, आत्मबल र उज्यालो भविष्यतर्फ अघि बढ्न प्रेरणा दिन्छ । यसरी नवरात्रिले सम्पूर्णमा धार्मिक ऊर्जा मात्र नभई सामाजिक साहस र व्यक्तिगत आत्मबल पनि प्रदान गर्छ ।
समग्रमा भन्नुपर्दा नवरात्रि केवल देवीपूजा मात्र नभई, मानव जीवनमा निहित शक्ति, मातृत्व, करुणा र न्यायको सम्मान गर्ने महान पर्व हो । देवी नवदुर्गाको पूजाअर्चना केवल धार्मिक संस्कार मात्र नभई जीवनलाई ऊर्जा, धैर्य र सकारात्मक चेतना दिने पर्व हो ।
नेपालमा नौ दिनसम्म धुमधामका साथ मनाइने नवरात्रि अर्थात् दशैं पर्वले समग्रतामा मंगलमयता, सामाजिक सद्भाव, धार्मिक आस्था, सांस्कृतिक पहिचान र आध्यात्मिक उत्थानलाई एकसाथ जोड्ने काम गरेको हुन्छ । नेपालको लागि अहिलेको यो विषम परिस्थितिमा देवी दुर्गाको आशिषले समग्रतामा सकारात्मकता देख्ने र खोज्नेको जरूरत छ । नकारात्मक टिकाटिप्पणी भन्दा सकारात्मक सोचको खाँचो छ जसले हामीलाई सत्मार्गमा डोर्याउन सकोस् ।