नेभिगेशन
अर्थतन्त्र

घरजग्गा र निर्माण क्षेत्रलाई गति दिन भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो'

काठमाडौं । सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित गर्ने र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने लक्ष्यसहित चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ । नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा तीनदिने एक्स्पो सञ्चालन हुन लागेको हो ।
आइतवार काठमाडौंको आयोजित पत्रकार सम्मेलनमा नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीले एक्स्पोले सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई नयाँ गति दिने विश्वास व्यक्त गरे । घरजग्गा कारोबारमा आएको मन्दी, लगानीको अभाव र युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेका बेला स्वदेशमै लगानी तथा उद्यमशीलताको वातावरण निर्माण गर्नु एक्स्पोको प्रमुख उद्देश्य रहेको अध्यक्ष अधिकारीले बताए । उनका अनुसार ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ केवल घरजग्गा तथा निर्माण सामग्रीको प्रदर्शनी मात्र नभई सुरक्षित आवास, आधुनिक निर्माण प्रविधि, स्वदेशी लगानी, उद्यमशीलता र आर्थिक समृद्धिको सम्भावनालाई एउटै मञ्चमा जोड्ने अभियानका रूपमा अघि बढाइएको हो ।
त्यस्तै नेपाल जग्गा तथा आवास व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विष्णु घिमिरेले एक्स्पोले घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः लयमा फर्काउन, आधुनिक निर्माण प्रविधिको प्रवद्र्धन गर्न र सुरक्षित तथा गुणस्तरीय आवास निर्माणबारे उपभोक्तालाई जानकारी दिन महत्वपूर्ण भूमिका खेल्ने बताए । संघका अध्यक्ष अधिकारीले घरजग्गा तथा निर्माण क्षेत्र देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रलाई चलायमान बनाउन सामूहिक पहल आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘घरजग्गा तथा निर्माण क्षेत्रमा आएको सुस्तताले यससँग जोडिएका उद्योगी, व्यवसायी, निर्माण कम्पनी, श्रमिकदेखि सर्वसाधारणसम्म प्रभाव पारेको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्