काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई छिमेकीसँगको सम्बन्ध सुधार र विकास सहकार्यको निरन्तरताका रूपमा लिनुपर्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देखाएको हार्दिकता, आर्थिक सहयोगको घोषणा र विभिन्न परियोजनामा भएका सहमतिले भ्रमणलाई अपेक्षाकृत सकारात्मक बनाएका छन् । तर, कूटनीति शिष्टाचार र प्रशंसाका शब्दमा मात्र यो भ्रमण सीमित हुुनु हुँदैन । आपसी जटिलता रहेका राष्ट्रिय हितका विषय उठाउने, आफ्नो पक्ष स्पष्ट राख्ने र छिमेकीलाई त्यसमा सहमत गराउने क्षमता पनि उत्तिकै महŒवपूर्ण हुन्छ । यहीँनेर बालेनको भ्रमणमाथि गम्भीर प्रश्न उठ्छ । नेपालले लामो समयदेखि उठाउँदै आएका कतिपय महŒवपूर्ण विषयमा ठोस प्रगति नहुनु एउटा पक्ष हो । ती विषयलाई राजनीतिक र कूटनीतिक प्राथमिकतामा राख्न आवश्यक तयारीसमेत नगर्नु अर्को गम्भीर पक्ष हो ।
तयारीमै देखिएको कमजोरी
भारत भ्रमणअघि प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेल, प्रमुख प्रतिपक्षी दलका नेता र पूर्वप्रधानमन्त्रीहरूसँग औपचारिक संवाद गरेनन् । आफ्नै दलका सभापतिसँग पनि प्रस्थानको अघिल्लो दिनमात्रै छलफल गरे । विगतका प्रधानमन्त्रीहरूले विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने र राष्ट्रिय सरोकारका विषयमा राजनीतिक दल तथा पूर्वप्रधानमन्त्रीसँग परामर्श गर्ने अभ्यास गरेका थिए । बालेनले यसलाई निरन्तरता दिएनन् । भारत भ्रमणको एजेन्डा र नेपालको प्राथमिकताबारे राष्ट्रपतिसमेत अनभिज्ञ रहेको समाचार सार्वजनिक भए । प्रमुख राजनीतिक दल र पूर्वप्रधानमन्त्रीहरूसँग पनि कुनै परामर्श भएन ।
यो औपचारिकता पु¥याउनुपर्ने विषय मात्रै थिएन । भारतसँगको सम्बन्ध कुनै एउटा सरकार वा दलको मात्र सरोकार होइन । यो नेपालको दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएको विषय हो । सीमा विवाद, सन् १९५० को सन्धि, ईपीजी प्रतिवेदन, जलस्रोतको उपयोग, ऊर्जा व्यापार, पारवहन र हवाई मार्गजस्ता मुद्दा सरकार परिवर्तनसँगै फेरिने विषय होइनन् । यी विषयमा विगतका सरकारले गरेका संवाद, सहमति र असफलताबारे जानकारी राख्नु नयाँ सरकारको जिम्मेवारी हो । त्यसका लागि पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीका अनुभव उपयोगी हुन सक्थे ।
सत्तारूढ दल र प्रतिपक्षबीच राजनीतिक प्रतिस्पर्धा हुनु स्वाभाविक हो । तर राष्ट्रिय हितका विषयमा उनीहरू एउटै ठाउँमा उभिन सक्छन्, उभिनुपर्छ पनि । भारतसँगको वार्तामा नेपालको साझा अडान बनाउन सके त्यसले प्रधानमन्त्रीको वार्ताक्षमता कमजोर होइन, बलियो बनाउँछ । प्रतिपक्षी दलहरूले भ्रमणअघि नै राष्ट्रिय सहमति बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए । उनीहरूले सीमा, व्यापार, जलस्रोत, सन्धि र हवाई मार्गका विषयमा साझा धारणा बनाउन आग्रह गरेका थिए । तर, सरकारका तर्फबाट त्यसलाई संस्थागत संवादमा रूपान्तरण गर्ने पहल भएन ।
राष्ट्रपति, प्रतिपक्ष र पूर्वप्रधानमन्त्रीसँग संवाद नगर्नु तथा त्यसको आवश्यकता नै नदेखेजस्तो व्यवहार गर्नुले नयाँपनको सन्देश दिँदैन । बरु राज्य सञ्चालनमा आवश्यक संस्थागत अभ्यासप्रतिको अपरिपक्वता देखाउँछ । पुरानो राजनीतिक संस्कारभन्दा फरक काम गर्ने चाहना आफैंमा नराम्रो होइन । तर फरक देखिनकै लागि आवश्यक राजनीतिक संवाद र राष्ट्रिय सहमतिको अभ्यासबाट टाढिनु परिपक्व कूटनीतिक सोच हुन सक्दैन । प्रधानमन्त्रीको विदेश भ्रमण व्यक्तिगत राजनीतिक यात्रा होइन, राज्यको प्रतिनिधित्व हो ।
प्रशंसाभन्दा महत्वपूर्ण राष्ट्रिय एजेन्डा
भारतीय प्रधानमन्त्री मोदीले शाहलाई गरेको स्वागत र प्रशंसाले दुई नेताबीच सकारात्मक सम्बन्धको संकेत गरेको छ । मोदीले शाहको नेतृत्व, युवापुस्ताको आकांक्षा र नेपालको विकासप्रतिको प्रतिबद्धताको प्रशंसा गरे । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछि भारतले तत्काल राहत तथा प्राविधिक सहयोग उपलब्ध गराएको विषयलाई नेपालले पनि कृतज्ञतापूर्वक स्मरण ग¥यो । यस्तो सद्भाव र सहकार्यलाई सकारात्मक रूपमा लिनुपर्छ । तर कूटनीतिक सम्बन्धमा व्यक्तिगत आत्मीयता र राष्ट्रिय हितबीच स्पष्ट सीमा हुनुपर्छ ।
मोदी भारतीय राष्ट्रिय हित र रणनीतिक प्राथमिकता अघि सार्ने प्रभावशाली नेता हुन् । उनले नेपालका विभिन्न राजनीतिक नेतृत्वसँग काम गरिसकेका छन् । शाहको राजनीतिक अनुभव तुलनात्मक रूपमा नयाँ छ । तर त्यसले नेपालको राष्ट्रिय एजेन्डा कमजोर बनाउनुपर्ने कारण छैन । भारतसँगको वार्तामा नेपालले आफ्नो आवश्यकता र अडान स्पष्ट राख्न सक्नुपर्छ । भारतीय पक्षले आफ्नो हितका लागि प्राथमिकता तय गर्दा नेपालले पनि त्यही स्तरको तयारी गर्नुपर्ने हो ।
भ्रमणबाट भारतले नेपाललाई २४ हजार करोड रुपैयाँ बराबरको विकास सहायता घोषणा गरेको छ । यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान हो भने १८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका आयोजनाका लागि सहुलियतपूर्ण ऋण अर्थात् ऋण सुविधा हो । यो सहयोगको आकार महŒवपूर्ण छ । तर अनुदान र ऋणलाई एउटै अर्थमा बुझ्नु हुँदैन । ऋण लिएपछि त्यसको साँवा र ब्याज तिर्नुपर्छ । त्यसैले घोषणाको ठूलो रकमलाई निःसर्त आर्थिक उपहारका रूपमा प्रस्तुत गर्नु उचित हुँदैन । कुन आयोजनामा लगानी गर्ने, ऋणको सर्त कस्तो हुने र त्यसबाट कति प्रतिफल प्राप्त हुने भन्ने विषय महŒवपूर्ण हुन्छ । नेपालले आफ्ना प्राथमिकताका आयोजना छनोट गर्ने अधिकार सुनिश्चित गर्नुपर्छ ।
ऊर्जा सहकार्यमा पनि नेपालको चासो पूर्ण रूपमा सम्बोधन भएको छैन । भारतले नेपालबाट विद्युत् खरिद गर्दा आयोजना र लगानीको स्रोतलाई आधार बनाउँदै आएको छ । विशेषगरी चिनियाँ लगानी वा चिनियाँ निर्माण कम्पनी संलग्न आयोजनाको विद्युत् खरिद भारतले गर्दै गर्दैन । यसले नेपालको जलविद्युत् विकासमा लगानीको स्रोत र निर्माण कम्पनी छनोट गर्ने स्वतन्त्रतालाई प्रभावित पारेको छ । नेपालले आफ्नो जलस्रोतको विकास गर्दा कुनै एउटा मुलुकको रणनीतिक प्राथमिकताअनुसार लगानीकर्ता छनोट गर्नुपर्ने अवस्था स्वीकार गर्न सक्दैन । भारतको ऊर्जा सुरक्षा चासो आफ्नो ठाउँमा छ तर नेपालको ऊर्जा उत्पादन र बजार सुनिश्चितताको प्रश्न पनि उत्तिकै महŒवपूर्ण छ । यस विषयमा प्रधानमन्त्री तहमा स्पष्ट संवाद हुनुपर्ने थियो ।
हवाई मार्गमा सहमति, कार्यान्वयन अनिश्चित
नेपालले लामो समयदेखि माग गर्दै आएका थप हवाई प्रवेश मार्गको विषयमा पनि भ्रमणले अपेक्षित उपलब्धि दिन सकेन । संयुक्त वक्तव्यमा काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ । यो सकारात्मक कदम हो । तर यसको कार्यान्वयनका लागि प्राविधिक परामर्श र आवश्यक प्रक्रिया बाँकी छन् । थप हवाई मार्गसम्बन्धी अन्य प्रस्तावमा पनि छलफल जारी राख्ने सहमति मात्र भएको छ ।
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठूलो लगानी भएको छ । तर अन्तर्राष्ट्रिय उडान विस्तार हुन नसक्नुमा भारतीय आकाश हुँदै प्रवेश गर्ने हवाई मार्गको सीमितता पनि एउटा कारण हो । विमानस्थल बनाउनु र त्यसलाई व्यावसायिक रूपमा सञ्चालन गर्न आवश्यक अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउनु फरक कुरा हुन् । नेपालले विमानस्थल निर्माणमा लगानी गरिसकेपछि त्यसको प्रतिफल प्राप्त गर्न आवश्यक कूटनीतिक पहल पनि गर्नुपर्छ । लखनउ मार्गलाई दुईतर्फी बनाउने सहमतिले केही सहजता थप्न सक्छ, तर त्यसले महेन्द्रनगर, नेपालगञ्ज वा अन्य प्रस्तावित मार्गको आवश्यकता पूरा गर्दैन । सहमति कहिले कार्यान्वयन हुन्छ र उडान सञ्चालनका प्राविधिक सर्त के हुन्छन् भन्ने प्रश्न अझै बाँकी छन् ।
सीमा, व्यापार र जलस्रोतका पुरानै प्रश्न
नेपाल र भारतबीचका सीमा विवाद समाधानको विषय पनि भ्रमणबाट ठोस निष्कर्षमा पुगेन । संयुक्त वक्तव्यमा सीमा स्तम्भको मर्मतसम्भार र बाँकी सीमा समस्यामा परराष्ट्र सचिवहरूलाई काम गर्न निर्देशन दिने उल्लेख छ । यो प्रक्रियागत प्रगति हो, समाधान होइन । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका सीमा सरोकारमा नेपालले आफ्नो अडान स्पष्ट राख्नुपर्ने आवश्यकता यथावत् छ । ईपीजी प्रतिवेदन बुझ्ने र त्यसका सिफारिसबारे छलफल गर्ने विषय पनि वर्षौंदेखि अल्झिएको छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन टुंग्याउने विषयमा पनि पुरानै प्रतिबद्धता दोहोरिएको छ । यस्ता विषयमा समयसीमा र कार्ययोजना तय हुन नसक्नु निराशाजनक हो ।
व्यापारमा पनि नेपालको अपेक्षा पूरा भएको देखिँदैन । नेपाली चिया, अदुवा, जुट, प्लाइवुडलगायतका उत्पादनले भारतीय बजारमा गुणस्तर परीक्षण, भन्सार प्रक्रिया र अन्य प्रशासनिक अवरोध झेल्दै आएका छन् । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । तर व्यापारिक सम्बन्धमा नेपालले ठूलो घाटा बेहोर्दै आएको छ । नेपाली उत्पादनको सहज बजार पहुँच, गैरभन्सार अवरोध हटाउने र व्यापार असन्तुलन घटाउने विषयमा स्पष्ट सहमति आवश्यक थियो । भ्रमणका क्रममा व्यापार तथा लगानीका ढाँचा पुनरावलोकन गर्ने र सहजीकरण गर्ने विषय समेटिए पनि नेपाली उत्पादनले तत्काल भोगिरहेका समस्याको ठोस समाधान सार्वजनिक भएन ।
यसको अर्थ भ्रमणबाट कुनै उपलब्धि भएन भन्ने होइन । जनकपुर–अयोध्या रेल सेवा, दार्चुला–धार्चुला मोटरेबल पुल, मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण, सीमापार पूर्वाधार, ऊर्जा आयोजना र बन्दरगाह पहुँचका विषयमा भएका सहमति महŒवपूर्ण छन् । आठवटा समझदारीले शिक्षा, स्वास्थ्य, सुरक्षा, अनुसन्धान र प्रविधिसहितका क्षेत्रमा सहकार्य विस्तार गर्ने आधार तयार गरेका छन् । तर परियोजनाको घोषणा र कार्यान्वयनबीच ठूलो दूरी हुन सक्छ । त्यसैले उपलब्धिको मूल्यांकन घोषणाको सूचीबाट मात्र गर्न मिल्दैन ।
कूटनीति सरकारको एकल निर्णय होइन
बालेनको भारत भ्रमणलाई असफल भन्नु अतिशयोक्ति हुन्छ । छिमेकीसँग संवाद गर्नु, सम्बन्धलाई सहज बनाउनु र विकास सहकार्यका नयाँ ढोका खोल्नु आवश्यक थियो । भारतसँग नेपालको भौगोलिक, आर्थिक, सामाजिक र रणनीतिक सम्बन्ध विशिष्ट छ । खुला सीमा, व्यापार, पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धका कारण भारतसँगको सहकार्य नेपालको अपरिहार्य आवश्यकता हो । त्यसैले भ्रमण हुनु नै सकारात्मक पक्ष हो । तर सम्बन्ध सहज बनाउनु र राष्ट्रिय हित सुनिश्चित गर्नु एउटै कुरा होइनन् ।
प्रधानमन्त्रीले भारतसँग संवाद गर्दा देशभित्रको राजनीतिक शक्ति, संस्थागत अनुभव र कूटनीतिक संयन्त्रको सामूहिक क्षमता उपयोग गर्न सक्नुपर्छ । प्रतिपक्षसँग संवाद गर्नु भनेको सरकारको राजनीतिक हैसियत घटाउनु होइन । पूर्वप्रधानमन्त्रीसँग परामर्श गर्नु भनेको पुरानो पुस्ताको प्रभाव स्वीकार गर्नु पनि होइन । बरु विगतका अनुभवबाट सिकेर राष्ट्रिय अडान बलियो बनाउनु हो । राष्ट्रपति राष्ट्राध्यक्षका रूपमा संवैधानिक र संस्थागत संवादको महŒवपूर्ण पक्ष हुन् । भ्रमणअघि यस्ता संवाद नगर्दा प्रधानमन्त्रीले आफूलाई आवश्यक पर्ने राष्ट्रिय समर्थन र अनुभवबाट समेत टाढा राखे ।
भारतले आफ्नो राष्ट्रिय हितका विषयमा स्पष्ट प्राथमिकता राख्छ । चीनसँगको प्रतिस्पर्धा, क्षेत्रीय प्रभाव, ऊर्जा सुरक्षा र सीमापार पूर्वाधार उसका रणनीतिक चासो हुन् । नेपालले पनि आफ्नो भौगोलिक अवस्थिति र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर सन्तुलित कूटनीति सञ्चालन गर्नुपर्छ । भारतसँगको सम्बन्धमा अनावश्यक तनाव सिर्जना गर्नु नेपालको हितमा छैन । तर सम्बन्ध बिग्रने डरले आफ्ना जायज सरोकार नउठाउनु पनि उचित होइन । असल छिमेकी सम्बन्धको अर्थ एक पक्षको प्राथमिकता अर्को पक्षले स्वीकार गर्नु मात्र होइन, पारस्परिक सम्मान र हित सुनिश्चित गर्नु हो ।
बालेनको भ्रमणले संवादको ढोका खुला राखेको छ । अब त्यसलाई उपलब्धिमा बदल्ने जिम्मेवारी सरकारको हो । त्यसका लागि भ्रमणमा छुटेका विषयलाई कूटनीतिक संयन्त्रमार्फत अघि बढाउनुपर्छ । प्रतिपक्ष, पूर्वप्रधानमन्त्री, विज्ञ र सम्बन्धित संस्थासँग संवाद गरेर साझा राष्ट्रिय अडान बनाउनुपर्छ । भारतसँगको सम्बन्धलाई व्यक्तिगत आत्मीयता वा राजनीतिक लोकप्रियताको आधारमा होइन, राष्ट्रिय हितको स्पष्ट खाकामा अघि बढाउनुपर्छ ।
प्रधानमन्त्री शाहले फरक राजनीतिक शैली र कार्यशैलीको वाचा गरेर सत्ता सम्हालेका हुन् । तर नयाँपन देखाउने नाममा राज्यका स्थापित संस्थागत अभ्यास र राष्ट्रिय सहमतिको आवश्यकतालाई उपेक्षा गर्न मिल्दैन । छिमेकीसँग सहकार्यको संवाद निरन्तर राख्नु राम्रो हो, तर आफ्ना हितका मुद्दा उठाउन नसक्नु त्यसको उपलब्धि होइन । दिल्ली भ्रमणको वास्तविक परीक्षा अब घोषणाको प्रशंसा होइन, नेपालको पक्षमा छुटेका मुद्दा उठाउन र सहमति कार्यान्वयन गराउन सरकारले देखाउने तत्परता हुनेछ ।