नेभिगेशन
राजनीति
कांग्रेस कलह चुलिँदै, एकातिर धम्की अर्कातिर घुर्की

के इतरपक्षमाथि कारबाही हुन्छ ?

गगनको चेतावनीपछि शशांकको जवाफ – ‘कारबाही गरे हामी आफ्नै बाटो हिँड्छौँ’

काठमाडौं । पार्टीमा संस्थापन हुँदाहुँदै समानान्तर गतिविधि छ । नाम उही, झण्डा उही, नेता–कार्यकर्ता पनि उही । वडा, जिल्ला र प्रदेश गर्दै राष्ट्रिय महाधिवेशनकै तयारी छ । तर, अहिलेसम्म चुप देखिएको कांग्रेसको संस्थापन पक्ष अब इतरपक्षलाई छुट नदिने मनशायमा देखिएको छ । 
कांग्रेसभित्र संस्थापन र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षबीचको विवाद थप चर्किएको छ । सभापति गगन थापाले देउवा पक्षले गर्न लागेको समानान्तर महाधिवेशनमा सक्रिय जनप्रतिनिधिलाई पदबाट राजीनामा दिन वा कारबाही भोग्न तयार रहन चेतावनी दिएका छन् । देउवा पक्षमा लागेका जनप्रतिनिधिले पनि कारवाही गरेर देखाउन चुनौती दिएका छन् । 
सभापति थापाले मंगलबार केन्द्रीय समिति बैठकमा देउवा पक्षको महाधिवेशनलाई नयाँ पार्टीको महाधिवेशनको संज्ञा दिएका थिए । कांग्रेसले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन सम्पम्म गरिसकेकाले अहिले अर्को महाधिवेशन कांग्रेसको नहुने बताएका छन् । 
एउटा पार्टीको दुईवटा महाधिवेशन हुन नसक्ने भन्दै इतरपक्षमा लागेका जनप्रतिनिधिलाई राजीनामा दिन, अन्यथा कारवाही भोग्न तयार रहन थापाको चेतावनी छ । ‘तपाईं राष्ट्रियसभामा हुनुहुन्छ, तपाईं प्रतिनिधिसभामा हुुनुहुन्छ, तपाईं प्रदेशसभामा हुनुहुन्छ, तपाईं स्थानीय तहको मेयर, उपमेयर, वडाध्यक्ष हुनुहुन्छ, म जान्दिनँ,’ मंगलबार केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै उनले भने, ‘हिजो राष्ट्रिय महाधिवेशनमा भाग लिनुभयो, लिनु भएन, मेरो बारेमा प्रेमका शब्द भन्नुभयो, आलोचना गर्नुभयो, केही फरक पर्दैन । तर, तपाईंले कांग्रेसको सदस्यता छाडेर अर्काे कुनै पार्टीको सदस्यता लिन जानुभयो भने, अहिलेको पदबाट राजीनामा गर्नुहोला, जुन सभामा हुनुहुन्छ, राजीनामा गर्नुहोला ।’ थापा निकट एक पदाधिकारीका अनुसार जारी केन्द्रीय समिति बैठक सकिँदा कार्बाहीको निर्णय पनि गर्ने तयारी छ ।
अहिलेसम्म संयमित देखिएको संस्थापन पक्ष अब सुरुमा चेतावनी दिने, त्यसबाट नसच्चिनेलाई कार्बाही गर्ने मनस्थितिमा पुगेको छ । पार्टी स्ंस्थापनले यसअघि कडा प्रतिक्रिया नदिँदा देउवा पक्षका भेलामा सक्रियता देखाउनेहरुको संख्या बढिरहेको थियो ।
पूर्वसभापति देउवा पक्षले यही मंसिर २१–२३ मा १५औँ महाधिवेशन गर्दैछ । कांग्रेसका प्रदेश, राष्ट्रियसभा र स्थानीय तहका केही जनप्रतिनिधि उक्त महाधिवेशनमा खुलेर लागेका छन् । थापाको यस्तो चेतावनीबारे बुधबार इतरपक्षको चुनदेवी पुगेका जनप्रतिनिधिले कुनै अर्थ नरहेको बताए । इतरपक्षमा सक्रिय राष्ट्रिय सभा सदस्य जीतजंग बस्नेतले आफूहरु आधिकारिक कांग्रेस भएको भन्दै थापाको चेतावनी नयाँ स्टन्ट भएको बताए । उनले हिम्मत भए कारवाही गर्न चुनौती पनि दिए । ‘उहाँले कारबाही गर्ने सवाल नै छैन । नियमित १५औँ महाधिवेशन हुने यही कांग्रेस नै आधिकारिकता हो,’ बस्नेतले भने, ‘दास र लासको पार्टी होइन । उहाँसँग हिम्मत, तागत भए कारबाही गरेर देखाए हुन्छ ।’
इतरपक्षमा खुलेका कांग्रेस प्रदेश महामन्त्री समेत रहेका कोशीका सांसद भूपेन्द्र राईले पनि थापाको चेतावनीले आफूहरु नलत्रले प्रतिक्रिया दिए । ‘पार्टीको नियमित महाधिवेशनमा सक्रिय सहभागिता गर्ने गराउने एउटा अनुशासित कार्यकर्ताको कर्तव्य र दायित्व हो । थर्काउँदा थर्किने र लोभ देखाउँदा लोभिने लास र दासहरु तपाईको पासमा आईसके । अब बुझ्नुहोस ! चारतारे झण्डाको अर्थ बुझेकाहरु, नेपाली कांग्रेसको इतिहास पढेकाहरूलाई लतार्न सकिँदैन,’ उनले भनेका छन् । 
समानान्तर महाधिवेशनमा लागेको यो समूहको महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले आफूहरूमाथि कारबाही भए आफ्नै बाटो हिँड्ने बताएका छन् । बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित बैठकपछि उनले भने, ‘कसले कारबाही गर्ने ? उहाँहरूले कारबाही गर्नुहुन्छ भने हामी के भन्न सक्छौँ यसमा ? हामी आफ्नो बाटो जान्छौँ ।’ सभापति थापा र इतर पक्षको पछिल्लो कडा अभिव्यक्तिले कांग्रेसभित्रको विवाद अब नेतृत्वको वैधानिकताको बहसबाट वारपारको अवस्थामा पुग्ने देखिन्छ । 
जनप्रतिनिधिमाथि कारबाहीको तयारी
कांग्रेसले देउवा पक्षको महाधिवेशनमा सक्रिय जनप्रतिनिधिहरूको सूचीसमेत तयार गरिरहेको छ । पार्टीले अनुशासन समिति गठन गरेर उनीहरूलाई स्पष्टीकरण सोध्ने र जवाफ चित्तबुझ्दो नभए पदमुक्तिका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने तयारी गरेको छ । प्रतिनिधिसभामा देउवा पक्षमा खुलेका हरिनादेवी कामी र सुशीला ढकाल आचार्य छन् । राष्ट्रिय सभामा कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, जितजंग बस्नेत, कृष्णप्रसाद पौडेल, खम्मबहादुर खाती, जगत तिमिल्सिना र नारायणदत्त भट्ट देउवा पक्षमा सक्रिय देखिएका छन् ।
त्यस्तै, कोशी प्रदेशसभाका ६, बागमतीका ९, गण्डकीका ३, लुम्बिनीका २ र सुदूरपश्चिमका ९ सांसद देउवा पक्षमा खुलेका छन् । मधेस र कर्णाली प्रदेशमा भने देउवा पक्षको महाधिवेशनमा प्रदेश सांसद सक्रिय देखिएका छैनन् । 
गगन नेतृत्वको कांग्रेस अद्यावधिक
निर्वाचन आयोगले बुधबार गगन थापा नेतृत्वको कांग्रेसको केन्द्रीय कार्यसमिति, संशोधित विधान र राजनीतिक दस्ताबेज अद्यावधिक गरेको छ । आयोगको निर्णयबारे सभापति थापाले बुधबार केन्द्रीय समिति बैठकलाई जानकारी गराए ।  गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित २३१ सदस्यीय केन्द्रीय कार्यसमितिको विवरण आयोगले अद्यावधिक गरेको हो । 
यसअघि विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई पनि आयोगले आधिकारिकता दिएको थियो । पछिल्लो निर्णयले पार्टीको संस्थागत अभिलेखमा गगन नेतृत्वको कार्यसमितिको हैसियत थप स्पष्ट पारेको छ ।
तर देउवा पक्षले पनि मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गरेर त्यसबाट निर्वाचित कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउने तयारी गरिरहेको छ । यो पक्षको निर्वाचन कार्यतालिका पनि आयोगले दर्ता गरेको छ । विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी मुद्दामाथिको पुनरावेदन सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आफूहरूमाथि कारबाही गर्न नमिल्ने देउवा पक्षको दाबी छ ।
देउवा पक्षका महाधिवेशन तयारी समिति सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले सांसदहरू कुन पक्षमा रहने भन्ने व्यक्तिगत राजनीतिक निर्णयको विषय भएको बताए । संविधानको धारा ८९ मा दल त्याग गरेको कुरा सम्बन्धित दलले संघीय कानुनबमोजिम सूचित गरेमा सांसदको पद रिक्त हुने व्यवस्था छ । देउवा पक्षले भने आफूहरू कांग्रेसकै झण्डामुनि महाधिवेशन गर्न लागेको भन्दै दल त्याग गरेको मान्न नसकिने तर्क गर्दै आएको छ । 
कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । अबको बैठकले अनुशासन समिति गठन, देउवा पक्षका जनप्रतिनिधिमाथि सम्भावित कारबाही र समानान्तर महाधिवेशनबारे थप निर्णय गर्ने तयारी छ । निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमिति अद्यावधिक गरिसकेको र देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी गरिरहेको अवस्थामा कांग्रेसको विवाद अब राजनीतिक मात्र नभई कानुनी र संस्थागत टकरावतर्फ अघि बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्