नेभिगेशन
राजनीति

दानबहादुरको रिटमा आएन अन्तरिम आदेश

काठमाडौं । दानबहादुर कार्कीले प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि रिटमा उठेका कानुनी प्रश्नको निरूपण अन्तिम सुनुवाइबाटै हुने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । तर, मुद्दाको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै सात दिनभित्र पेसी तोक्न आदेश दिएको छ ।
सर्वोच्चले अन्तरिम आदेश नदिनुका तीन आधार उल्लेख गरेको छ । डा. मनोजकुमार केसीले १८ कात्तिकमै आईजीपीको नियुक्ति बुझेर कार्यभार सम्हालिसकेको, प्रहरी संगठनको नेतृत्व सार्वजनिक महŒव र शान्ति सुरक्षासँग जोडिएको संवेदनशील विषय भएको तथा रिटमा उठेका कानुनी प्रश्न अन्तिम सुनुवाइबाटै निरूपण गर्नुपर्ने इजलासको ठहर छ । तर सर्वोच्चले मुद्दाको छिटो निरूपण गर्नुपर्ने भन्दै विपक्षीहरूको लिखित जवाफ प्राप्त भएपछि वा जवाफ दिने म्याद सकिएको सात दिनभित्र पेसी तोक्न आदेश दिएको छ । पेसी तोकिएपछि दुवै पक्षले मुद्दा स्थगित गर्न नपाउने पनि आदेशमा उल्लेख छ ।
यसअघि कात्तिक २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेशबारे छलफल गर्न विपक्षीहरूलाई झिकाउँदै १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । 
कार्कीले आफूलाई गैरकानुनी रूपमा आईजीपीबाट हटाइएको सरकारको निर्णय बदर गरी पुनर्बहालीको मागसहित रिट दायर गरेका थिए । सरकारले कात्तिक १८ मा उनलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । उनको स्थानमा एआईजी डा. मनोजकुमार केसीलाई आईजीपी नियुक्त गरिएको थियो । अब सर्वोच्चको अन्तिम सुनुवाइले कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयको कानुनी वैधताबारे निरूपण गर्ने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्