काठमाडौं, ११ असोज - भदौ २२–२३ को जेनजी आन्दोलनपछि प्रधानमन्त्री पद त्याग गर्दै गुप्तबासमा रहेका निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार सार्वजनिक समारोहमा सहभागी हुँदै आफू हल्ला र तोडफोडको आन्दोलनबाट नडग्ने र नभाग्ने उद्घोष गरेका छन् । राजीनामापछि करिब १० दिन सेना प्रहरीको सुरक्षामा बेखबर बसेर गत सातादेखि एमालेका युवा नेता महेश बस्नेतको संरक्षण र सेनाप्रहरीको कडा सुरक्षाघेराबीच भक्तपुरको गुण्डुमा बस्दै आएका ओलीले शनिबार सोही क्षेत्रमा आयोजित एमालेको युवाभेलामा सहभागी हुँदै सो उद्घोष गरेका हुन् ।
अत्यन्तै कडा सुरक्षाघेराबीच दलका युवालाई सम्बोधन गर्ने क्रममा निवर्तमान प्रधानमन्त्री ओलीले अहिलेको सरकार तोडफोड र आगजनीबाट बनेको आरोप लगाउँदै अहिलेको सरकार असंवैधानिक रहेको उनले तर्क गरे । उनले भने, ‘जेनजी सरकार भनिने यो सरकार, संवैधानिक बाटोबाट जनताको अभिमतबाट बनेको होइन । यो तोडफोड, आगजनीको माध्यमबाट बनेको हो ।’
उनले शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्न लागिएको भन्ने विषयमा पनि ओलीले सरकारको आलोचना गरे । उनले आफूहरू देश छाडेर कतै नजाने भन्दै थपे, ‘पासपोर्ट रोक्ने ? के ठानेको छ ? यहाँ उहाँहरूलाई यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौं ? के सोचेको ?’ उनले सरकारले आफ्नो सुरक्षाको सुनिश्चित गर्न नसकेको पनि बताए ।
सामाजिक सञ्जालमा आफ्नो घरको ठेगाना सार्वजनिक गररे फेरि हमलाको आह्वान हुँदा सरकार हेररे बसेकोमा आक्रोश पोखे । ‘यति मिनेटमा पैदल पुगिन्छ । यति मिनेटमा गाडीमा पुगिन्छ । सबै हमला गर्न जाऔं । घर तोकिएको छ । देखाइएको छ । सरकार के हेररे बसेको छ ? के गर्दैछ ? सरकारले त्यतिबेला सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु । यिनीहरूमाथि मुद्दा चलाउँछु। धाक् लगाएर बसेको छ,’ उनले भने ।
सरकारले आफ्नो कर्तव्य पूरा नगरेको उनले दाबी गर्दै भने, ‘सरकारको केही कर्तव्य हुन्छ कि हुँदैन ? सुविधा चाहिएन तर सुरक्षा दिनुपर्छ कि पर्दैन ? असुरक्षामा देश हाल्ने, असुरक्षाका माध्यमबाट सरकारमा पुग्ने, आतंक फिँजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा दिन्नँ भन्ने यो कुन तरिका हो ?’
अध्यक्ष औलीले अहिलेको अवस्था समाधान नभएको पनि बताए । संवैधानिक तरिकाले निकास निकाल्न उनले राजनीतिक दलदेखि सबैलाई आह्वान समेत गरेका छन् । ‘खासगरी राष्ट्रियतालाई जोगाउन राष्ट्रिय एकतालाई जोड दिन र त्यो एकता हाम्रो शान्तिपूर्ण, सामाजिक सद्भावपूर्ण एकताबाट मात्रै सम्भव छ । म फेरि नेपालीलाई आह्वान गर्न चाहन्छु एक ठाउँमा आऔं । बसौं छलफल गरौं, निकास निकालौं । समाधान खोजौं,’ उनले भने ।