रौतहट, ११ असोज - जेनजी आन्दोलनको क्रममा भदौ २४ गते रौतहटको गौरस्थित जिल्ला कारागारबाट फरार भएका एक सय ५४ जना कैदीबन्दीहरू अझै पक्राउ परेका छैनन् । उक्त दिन दुई सय ९१ कैदीमध्ये दुई सय ६४ जना कारागारबाट भागेका थिए । तीमध्ये हालसम्म एक सय १० जनालाई मात्रै पक्राउ गर्न सकिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीका अनुसार सो दिन नभागेका २७ जनामध्ये एक जनाले सजाय पूरा गरी छुटेका छन् भने भागेका एक जना पनि छुटिसकेका छन् । बाँकी फरार एक ५४ जनाको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
‘हामी फरार कैदीबन्दीलाई पक्राउ गर्न विशेष योजना बनाएर अहोरात्र खटिरहेका छौं,’ डीएसपी कार्कीले भने, ‘चाँडै नै सबैलाई नियन्त्रणमा लिने पूर्ण विश्वास छ ।’ हाल जिल्ला कारागार रौतहटमा पूर्पक्षका १६ नयाँ कैदीसहित कुल एक सय ५५ जना कैदीबन्दी रहेका छन् ।
असोज २० सम्मको समय दिएर सरकारको चेतावनी
नेपाल सरकारले भदौ २४ को घटनापछि फरार भएका सबै कैदीलाई असोज २० गतेसम्म आफैं कारागारमा फर्किन निर्देशन दिइसकेको छ । यस समयसीमाभित्र नफर्किए थप कडा कारबाही हुने सरकारले चेतावनी दिएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले भने, ‘असोज २० पछि प्रहरीले थप आक्रामक ढंगमा खोजी कार्य अघि बढाउनेछ । कोही पनि उम्कन पाउने छैन ।’
फर्किएन भने थप पाँच वर्ष कैद र एक लाख जरिवाना
प्रजिअ खड्काका अनुसार, तोकिएको म्यादभित्र फर्किए सजायमा कुनै थप नहुने तर त्यसपछि पक्राउ परेमा कारागार ऐन, २०७९ अन्तर्गत थप पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको सजाय लाग्नेछ । ‘त्यसैले सबै फरार कैदीबन्दीले आफैं फर्कनु नै बुद्धिमानी हुनेछ,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय रौतहटले पनि कारागारबाट फरार रहेका कैदीबन्दीहरूलाई नजिकको प्रहरी कार्यालय वा जिल्ला कारागार कार्यालय गौरमा तुरुन्त सम्पर्क राख्न आग्रह गरेको छ । साथै सम्पर्कमा नआई फरार रहेमा कानुनी कारबाहीका लागि तयार रहन चेतावनी दिँदै सार्वजनिक सूचना जारी गरिएको छ ।