नेभिगेशन
प्रदेश

चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना

पर्सा, १२ असोज - वडादशैँको सुरुआतसँगै पर्सा प्रहरीले हिन्दुहरूको महान चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । भारतसँगको खुला सीमा, विगतमा कारागारबाट फरार कैदीहरूको गतिविधि तथा चाडपर्वको भिडभाडलाई ध्यानमा राख्दै यस वर्षको सुरक्षा व्यवस्था थप कडा बनाइएको पर्सा प्रहरीले जनाएको छ ।

पर्साको भारतसँग १०७ किलोमिटर खुला सिमाना रहेकाले आपराधिक गतिविधि नियन्त्रणका लागि सशस्त सुरक्षा आवश्यक पर्ने देखिएको हो । वीरगञ्ज नाका हुँदै दैनिक हजारौं नागरिक ओहोरदोहोर गर्ने तथा चाडपर्वको समयमा भिडभाड अत्यधिक हुने भएकाले सीमामा कडा निगरानीसहित तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार विशेष सुरक्षा योजना २०८२ लागू गर्दै हाल जिल्लामा ७२ वटा प्रहरी युनिटमार्फत १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् । वीरगञ्ज बजार तथा प्रमुख मठ–मन्दिर, बैँक, सुनचाँदी पसलमा सुरक्षा बढाइएको छ भने राति मोबाइल गस्ती, सहायता कक्ष स्थापना र सडक ट्राफिक व्यवस्थापनमा समेत कडाइ गरिएको छ ।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी किशोर लाम्सालका अनुसार, चाडपर्वमा चोरी, लुटपाटजस्ता घटनाको सम्भावना रहेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त गस्ती जारी छ । 

मुलुकका विभिन्न कारागारबाट फरार रहेका कैदीहरू अझै नपक्राउ परेको अवस्थामा उनीहरू सीमाबाट बाहिरिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता थपिएको हो । शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्