नेभिगेशन
अर्थतन्त्र

प्रौढावस्थाको सक्रियता र आत्मनिर्भरता

मानिसको जीवन बाल्यावस्था, किशोर, युवा, प्रौढ र वृद्धा अवस्था आदि विभिन्न चरणहरूमा विभाजित छ । सबै चरणहरूका आ–आफनै महत्व, विशेषता र निर्णायक मोड हुन्छन् । उमेरसँगै सीप, ज्ञान, अनुभव र जिम्मेवारी आदि स्वाभाविक रुपमा प्राप्त हुने विषय हुन् । अनुसन्धान, अध्ययन, अनुभव, सीप, विवेकआदिको संकलित र त्यसलाई समाज र देशको हितमा प्रयोग गर्ने इच्छाशक्ति मात्रै होइन हुटहुटी समेत भएको अवस्था भनेको प्रौढ अवस्था हो । 

प्रौढ अवस्थामा सक्रियता र आत्मनिर्भरता सुखी जीवनको महत्वपूर्ण पूर्वाधार हो । ज्ञान, सीप, अनुभवलाई समाजको हितमा प्रयोग गर्ने तत्परता उत्पन्न गर्ने कार्यले व्यक्तिलाई सक्रिय साथै आत्मनिर्भर बनाउँछ । परनिर्भरता असन्तुष्टिको कारक हो, आत्मनिर्भरताले व्यक्तिलाई सक्रिय र उत्पादनशील बनाउँछ । सक्रिय र आत्मनिर्भर प्रौढहरू परिवार, समाज र देशका लागि वरदान हुन् नकि बोझ । 

यदि प्रौढहरू सक्रिय भएनन् भने उनीहरू किमार्थ आत्मनिर्भर हुन सक्दैनन् । जहाँका प्रौढ सक्रिय र आत्मनिर्भर हुदैनन् त्यो समाजमा युवाहरूले सक्रिय र आत्मनिर्भर बन्नुपर्छ भन्ने मार्गनिर्देशन कसरी पाउने ? युवाहरूलाई क्रियाशील हुन उत्प्रेरित गर्न पनि प्रौढहरूको सक्रियता महत्वपूर्ण हुन्छ । प्रौढहरू सक्रिय भएको देखेपछि युवाहरूमा समेत रहनुपर्ने देखासिकी प्रभावको छुट्टै र विशेष महत्व हुन्छ ।

समाज र राष्ट्रलाई सक्रिय र आत्मनिर्भर बनाउने भरपर्दाे सूत्राधार प्रौढहमा भएको सक्रियता हो । देशलाई आत्मनिर्भर बनाउन र युवाहरूलाई सक्रिय बनाउन उत्प्रेरित गर्ने र सक्रियताका कारणले युवाहरूलाई आत्मनिर्भर बनाउने रामवाण हुन्, प्रौढपुस्ता । 

समयलाई सदुपयोग गर्न, सक्रिय हुन र देशलाई प्रगति र उन्नतिको सिखरमा लैजाने प्रौढ पुस्ताको सक्रियताले सबैलाई आत्मनिर्भर हुन दिशानिर्देश गर्छ । समयको सदुपयोग नगर्ने, परनिर्भर हुने र निष्क्रिय राख्ने प्रौढ राष्ट्रको विकास र समृद्धिका साधक नभए र यथार्थमा ती बाधक हुन् ।

त्यसैले प्रौढावस्थामा मात्रै होइन युवावस्थामा पनि सक्रियता, आत्मनिर्भरता व्यक्तिगतदेखि पारिवारिक जीवनका लागि अपरिहार्य हुन्छ । प्रौढा अवस्था जीवनको यस्तो सुनौलो समय हो जुनबेला व्यक्ति न त पूर्णतः युवा रहन्छ न त शारीरिक दृष्टिले अशक्त । यो अवस्था भनेको अनुभव, ज्ञान, सीप, कार्यक्षमता साथै सक्रियता र आत्मनिर्भरताको विचित्रको संगम हो ।व्यक्तिको सक्रियताको प्रभाव समाज र राष्ट्रमा अत्यन्तै सकारात्मक पर्छ । 

यो अवस्थामा शारीरिक, मानसिक र सामाजिक सक्रियता, आर्थिक, निर्णय क्षमता र आत्मसम्मान जस्तो आत्मनिर्भरता केवल व्यक्तिको हितमा मात्रै सीमित नरहेर यो प्रत्यक्षतः समाज र राष्ट्रको समृद्धिसँग सम्बन्धित हुन्छ । यो अवस्थाको सक्रियताले राष्ट्रको उत्पादनशीलता, सामाजिक संरचना र सांस्कृतिक निरन्तरतामा प्रौढ नागरिकको योगदान महत्त्वपूर्ण हुन्छ । जीवनमा सक्रियताको पाठ युवाहरूले यदि सिके भने समृद्धि र विकासको चरणमा देश अवश्यमेव प्रवेश गर्छ ।

यदि प्रौढहरू अस्वस्थ, निष्क्रिय र परनिर्भर भए भने उनीहरू वास्तवमा परिवार, समाज र राष्ट्रका लागि मात्रै होइन स्वयंका लागि बोझ हुन्छन् । तर प्रौढहरू सक्रिय र आत्मनिर्भर साथै नवप्रवर्तनमुखी भए भने राष्ट्रलाई ज्ञान, नीति, श्रम र उत्पादनमा पुर्‍याउने योगदानका कोणबाट उनीहरू वास्तवमा राष्ट्रका वरदान नै हुन्छन् । 

व्यक्तिगत स्तरमै प्रौढहरूको सक्रियता र आत्मनिर्भरताले राष्ट्रलाई पुग्ने लाभको लेखाजोखा अब नेपालले पनि गर्न शुरुआत गर्नुपर्छ । प्रौढहरूको सक्रियता र आत्मनिर्भर जीवनशैलीको राष्ट्रिय महत्व हुन्छ ।

प्रौढहरू उद्यम, कृषि, साना व्यवसाय, शिक्षा वा परामर्श जस्ता सेवाहरूमा सक्रिय रहँदा समग्र राष्ट्रको उत्पादनशीलता नै बढ्छ । सक्रिय र आत्मनिर्भर प्रौढहरू परिवारलाई आर्थिक नैतिक र समाजिक आधार मात्रै होइनन् भरोसाका विषय पनि हुन् । यसले समाजिक एकतालाई अवश्य पनि प्रवर्धन गर्छ । 

शिक्षा र अनुभवले ओतप्रोत प्रौढहरू लोकतान्त्रिक व्यवस्थामा जिम्मेवार मतदाता, नीति निर्माणमा सल्लाहकार साथै सामाजिक सचेतकको भूमिकामा रहँदा देशमा सुझबुझ र राजनीतिक परिपक्वताले शासकहरू समस्या नभएर समाधान बन्छन् । यस अतिरिक्त प्रौढ पुस्ताको आत्मनिर्भर र सक्रिय जीवनशैलीले परम्परा साथै समाजका मूल्य मान्यता, संस्कृति आदि विषयहरूलाई नयाँ पुस्तामा हस्तान्तरण मात्रै होइन पुस्तान्तरण समेत हुन्छ । 

यो कोणबाट प्रौढहरूको मूल्याङ्कन र सम्मान हुन सकेन भने त्यो देशले प्रौढहरूमा अन्तरनिहित ज्ञान, अनुभव आदि लिन सक्दैन । हाम्रो देशमा अहिलेसम्म नदीको पानीजस्तै प्रौढहरूको ज्ञान, अनुभव र सीप मृत्युपछि नष्ट हुँदै गएको छ । 

प्रौढहरूलाई सक्रिय बनाएर उनीहरूले जीवनभर प्राप्त गरेको ज्ञान, अनुभव र सीपलाई जीवित समयमा नै अभिलेखिकरणका साथै समाजमा हस्तान्तरण र पुस्तान्तरणका उपायहरू अवलम्बन गर्न अब ढिला गर्नु हुन्न । हाम्रो गरीबी, पछौटेपनको एउटा प्रमुख कारण प्रौढहरूको ज्ञान र अनुभवलाई अभिलेखिकीरण र पुस्तान्तरणको व्यवस्था गर्न नसक्नु पनि हो ।

अन्तर्राष्ट्रिय परिवेश र अवस्थाको अध्ययन गर्ने हो भने जापान जहाँ ६५ वर्षभन्दा माथिका उमेर समूहको जनसंख्या २८ प्रतिशतभन्दा बढी छ । यद्यपि उनीहरू सक्रिय र आत्मनिर्भर जीवनशैलीका कारण सबै नागरिकहरू श्रम बजारमा विभिन्न जिम्मेवारी निर्वाह गर्ने गर्छन् । 

जापान सरकारले वृद्ध नागरिकहरूलाई पुनः रोजगारी, स्वयं सेवा र सामुदायिक काममा सहभागी गराउने नियम बनाएको मात्रै छैन कार्यान्वयनमा समेत ल्याएको छ । यो योजनाले जापान सरकारको वृद्धहरूमा हुने स्वास्थ्य खर्चलाई कटौती गरेको छ भने यसले राष्ट्रिय उत्पादकत्व वृद्धिमा योगदान दिएको छ ।

त्यस्तै जर्मनीमा लाइफलङ्ग लर्निङ कार्यक्रमका माध्यमले प्रौढ नागरिकहरूलाई दिइने निरन्तर शिक्षा, सीप र उद्यमशीलताले प्रौढहरूलाई सक्रिय हुन र आत्मनिर्भर हुन प्रोत्साहन र प्रवद्र्धन गरेको छ । 

Debi-bhakta-dhakal-1756437486.jpg
देवीभक्त ढकाल

प्रौढ पुस्ता नयाँ सीप सिकेर रोजगारी वा समाजसेवामा सक्रिय छ । परिणामस्वरूप यस्तो कार्यक्रमले राष्ट्रलाई प्रतिस्पर्धी बनाएका कारण दिगो विकास र समृद्धिको आधार तैयार भएको छ । त्यस्तै अमेरिकामा प्रौढ र वृद्ध नागरिकहरूले स्वयं सेवा, सामुदायिक नेतृत्व र दानशील कार्यमा उनीहरूबाट उल्लेखनीय योगदान हुँदै आएको छ । 

यस्ता कार्यक्रमहरूले ५५ वर्षभन्दा माथिका नागरिकलाई समाजसेवा र सामुदायिक विकासमा सक्रिय बनाएको छ । यसले सामाजिक पुँजी वृद्धिका अतिरिक्त राष्ट्रिय एकतालाई मजुबुत गर्न खेलेको भूमिका प्रशंसनीय छ । 

स्विडेन, नर्वे र डेनमार्कजस्ता स्केन्डेनेभियन देशहरूले सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ गर्दै प्रौढ नागरिकहरूलाई आत्मनिर्भर गर्दै सम्मानजनक जीवनयापनको वातावरण बनाएका छन् । स्वास्थ्य, शिक्षा रोजगारी र सामाजिक सहभागितामा सन्तुलन कायम गरेका कारण यहाँ प्रौढ पुस्ता राष्ट्रका लागि सक्रिय श्रमशक्ति मात्रै नभएर सामाजिक नेतृत्वकर्ताको भूमिकामा पनि अग्रस्थानमा छन् ।

नेपालको सन्दर्भमा पनि प्रौढ अवस्थामा प्रवेश गर्ने जनसंख्या तीब्र गतिमा बढ्दै छ । ग्रामीण क्षेत्रमा अझै पनि प्रौढ पुस्ता कृषि, पशुपालन, हस्तकला र ससाना व्यवसायमा सक्रिय छन् । तर शहरी क्षेत्रमा प्रायः प्रौढ पुस्ता सामाजिक निष्क्रियता, आर्थिक निर्भरता साथै स्वास्थ्य समस्याहरूमा जकडिएका छन् । 

नेपालले आफ्नो प्रौढ नागरिक पुस्तालाई सक्रिय र आत्मनिर्भर बनाउनका लागि जीवनभर सिकाइका अवसर प्रदान गर्ने संस्थागत प्रयास जरुरी छ । यसका लागि सामाजिक सुरक्षा र स्वास्थ्य बिमा आदि अनिवार्य शर्तहरू हुन् । साथ साथै आफ्नो जाँगर, सीप र अनुभवलाई प्रयोग गर्ने राज्य नियन्त्रित संस्थागत प्लेटफर्मको निर्माण र व्यवस्थित सञ्चालनको प्रबन्ध अनिवार्य शर्तहरू हुन् ।

प्रौढहरूलाई उद्यमशीलता अभिवृद्धि कार्यक्रमहरूको सञ्चालन, साना व्यवसायहरूका लागि सहुलियतपूर्ण ऋणजस्ता कार्यक्रमहरूलाई प्राथमिकताको सूचिमा राख्नुपर्छ । नेपालमा विद्यमान बेरोजगारी र गरिबीले प्रौढ पुस्तालाई समेत आत्मनिर्भर हुन् धेरै कठिनाइ र व्यवधान उत्पन्न छन् । राजनीतिक अस्थिरताका कारण दीर्घकालीन सामाजिक सुरक्षा नीति तथा कार्यक्रम बनाउन र कार्यान्वयनमा समेत देखिएका समस्याहरूको निराकरण अत्यावश्यक हुन्छ । 

वृद्धाश्रम र प्रौढहरूको देखभाल केन्द्रहरूमा बढ्दो निर्भरताको परिणामस्वरूप प्रौढहरूको आत्मसम्मानमा चोट पुग्नु दुःखद पक्ष हो । अर्को प्रौढहरूलाई निष्क्रिय जीवनशैलीतर्फ धकल्ने कारकतत्व भनेको स्वस्थ्य सचेतनाको कमी र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाले पनि प्रौढहरूलाई सक्रिय हुन र आत्मनिर्भर हुन कठिनाइ उत्पन्न भएको छ ।

प्रौढावस्थामा सक्रियता, आत्मनिर्भरता केवल प्रौढहरूको व्यक्तिगत जीवनको उपलब्धी र आवश्यकता किमार्थ होइन, यो राष्ट्रको दिगो र सन्तुलित विकास, आर्थिक सुदृढीकरण र सामाजिक स्थिरताको मेरुदण्ड हो । अन्तर्राष्ट्रिय प्रयोग र उदाहरणहरू समेतले के पुष्टि गर्दछ भने सक्रिय र आत्मनिर्भर साथै स्वाभिमानी प्रौढ नागरिकहरू राष्ट्रका अमूल्य सम्पत्ति हुन् । 

नेपालमा पनि यदि राज्य, समाज र परिवारले प्रौढपुस्तालाई निष्क्रिय परनिर्भर जीवन होइन, सक्रिय र आत्मनिर्भर जीवनयापन गर्ने वातावरण सिर्जना गर्न सके राष्ट्रले दीर्घकालीन आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धि प्राप्त गर्नसक्छ । 

कुनै पनि देशको समृद्धिको आधाभूत विषय भनेको त्यहाँको प्राकृतिक सम्पदा र मानव सम्पदालाई उच्चतम परिचालन गर्ने नीति र रणनीति महत्वपूर्ण र निर्णायक हुन् भन्ने कुरा सम्बन्धित सबैले व्यवहारमा आत्मसात गर्नुपर्छ नकि फाइलमा र फोस्रा अभिव्यक्तिमा । 

हरेक देशमा प्रौढहरूको सक्रियता र आत्मनिर्भरता राष्ट्रको भाग्य र भविष्यसँग गाँसिएको विषय हो । आत्मनिर्भर नागरिक अझ विशेषतः प्रौढहरू राष्ट्रको दुर्लभ पुँजी हुन् । प्रौढहरू सक्रिय हुँदा युवाहरूलाई निष्क्रिय हुन लज्जाबोध हुन्छ ।

प्रौढहरू सक्रिय र आत्मनिर्भर हुँदा युवाहरूमा समेत सक्रियतामा वृद्धि हुन्छ । परिणामस्वरूप युवा प्रौढ सबै राष्ट्रलाई समृद्धि प्रदान गर्ने आधार बन्छन् । तसर्थ सक्रिय र आत्मनिर्भर प्रौढपुस्ता नेपालको सन्दर्भमा राष्ट्र निर्माणको मेरुदण्ड हुन् । प्रौढ पुस्ता सक्रिय र आत्मनिर्भर भयो भने उनीहरू समृद्ध नेपालका लागि अपरिहार्य शक्ति पनि हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र