नेभिगेशन
स्वास्थ्य

स्वास्थ्य सुधारको सस्तो, सरल र वैज्ञानिक उपाय

स्वस्थ जीवनशैली अपनाउने क्रममा हामीमध्ये धेरैले दिनमा कम्तीमा १० हजार पाइला हिँड्नु पर्ने सोच राख्छौँ । यो धारणा लामो समयदेखि प्रचलित छ र एक किसिमको स्वास्थ्य मानकका रूपमा स्थापित भएको छ । तर, पछिल्ला वैज्ञानिक अनुसन्धानहरूले देखाए अनुसार यति धेरै हिँड्न नसक्नेहरूका लागि पनि निराश हुनुपर्दैन । अध्ययनले भन्छ कि केवल ७ हजार पाइला हिँड्दा पनि हाम्रो स्वास्थ्यमा उल्लेखनीय सुधार आउन सक्छ ।

१० हजार पाइलासम्बन्धी यो अवधारणा सन् १९६० को दशकतिर जापानबाट सुरु भएको हो । त्यतिबेला ‘म्यानपो केई’ नामक पेडोमिटर (पाइला गन्ने यन्त्र) प्रवद्र्धन गर्न एक कम्पनीले १० हजार पाइला हिँड्ने विचारलाई प्रचारको साधन बनायो । त्यसयता, यो लक्ष्य विश्वव्यापी रूपमा ‘स्वस्थ जीवनशैलीको प्रतीक’ बनेको छ । यद्यपि, यसको पछाडि कुनै गहिरो वैज्ञानिक आधार थिएन भन्ने आज पुष्टि भइरहेको छ ।

यस सन्दर्भमा, अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयकी प्रमुख अनुसन्धानकर्ता डा. मेलोडी डिङ र उनको टोलीले सन् २०१४ देखि २०२५ सम्म प्रकाशित भएका ५७ वटा अन्तर्राष्ट्रिय अध्ययनहरूको समग्र विश्लेषण गरे । ती अध्ययनहरूमा सयौँ हजारौँ स्वस्थ वयस्क सहभागी थिए, जसलाई अध्ययन सुरु हुँदा कुनै दीर्घ रोग थिएन । यस विस्तृत समीक्षाले यस्तो तथ्य प्रस्तुत ग¥यो कि पुरानो धारणा चुनौतीमा पर्‍यो ।

उक्त अनुसन्धानले देखाएको निष्कर्ष निकै प्रेरणादायी छ । दिनमा औसत ७ हजार पाइला हिँड्ने व्यक्तिहरूमा, कुनै पनि कारणले मृत्यु हुने जोखिम ४७ प्रतिशतले कम भएको पाइयो । मुटु रोग लाग्ने सम्भावना २५ प्रतिशतले घट्ने, मुटु रोगकै कारण मृत्यु हुने सम्भावना पुनः ४७ प्रतिशतले घट्ने, क्यान्सरबाट मृत्यु हुने जोखिम ३७ प्रतिशतले कम हुने र डिमेन्सिया (स्मृतिभ्रंश) हुने सम्भावना पनि ३८ प्रतिशतले घट्ने निष्कर्ष अनुसन्धानबाट निकालिएको द लान्सेन्ट पब्लिक हेल्थले जनाएको छ ।

डा. डिङ भन्छिन्, ‘हामी सबैलाई सकेसम्म बढी हिँड्न प्रेरित गर्न चाहन्छौं, तर सबैका लागि १० हजार पाइला हिँड्नु सम्भव नहुन सक्छ । त्यसैले, ७ हजार पाइला धेरैका लागि व्यवहारिक र सुलभ विकल्प हो ।’

वास्तवमा, यस अध्ययनले हामीलाई जीवनशैलीका स–साना परिवर्तनमार्फत पनि ठूलो स्वास्थ्य लाभ लिन सकिन्छ भन्ने महत्वपूर्ण सन्देश दिन्छ । पैसा तिरेर जिम, विशेष उपकरण, वा अत्यधिक समयको खाँचो बिना नै हामी स्वस्थ रहन सक्छौं । केवल नियमित हिँडडुल र सक्रिय जीवनशैलीले पनि पर्याप्त फाइदा दिन सक्छ ।

व्यवहारिक रूपमा, हाम्रो दैनिकीमा केही सरल बानीहरू अपनाउन सकिन्छ । जस्तै सवारीसाधनको सट्टा पैदल यात्रा, लिफ्टको सट्टा भ¥याङ प्रयोग, कार्यालय वा घर वरिपरि हिँडडुल गर्ने, टेलिफोनमा कुरा गर्दा उभिएर वा हिँड्दै गर्नु, यी र यस्ता स–साना बानीहरूले दीर्घकालीन रूपमा तपाईंको स्वास्थ्यमा सकारात्मक असर पार्न सक्छन् ।

अन्ततः स्वस्थ रहनका लागि ठूला र महँगा प्रयास गर्नु आवश्यक छैन । केवल ७ हजार पाइला हिड्नुहोस् र हरेक दिन अघिल्लो दिनभन्दा अलिकति बढी हिँड्नुहोस् । किनभने प्रत्येक पाइला तपाईंको स्वास्थ्यको लागि अमूल्य लगानी हो । त्यसैले आजैबाट स–साना कदम चाल्न सुरु गरौं, दीर्घकालीन स्वास्थ्य लाभ पाऔं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
अटिजम बिरामीलाई सेन्टरभित्रै कुटपिट

अटिजम बिरामीलाई सेन्टरभित्रै कुटपिट

सुनसरीको इटहरीमा अटिजम बिरामी भएका बालकमाथि केयर सेन्टरकै कर्मचारीबाट कुटपिट भएको छ । इटहरी उपमहानगरपालिका वडा नं. २ स्थित प्रेरणा केयर सेन्टर प्रालिमा भर्ना भएका इटहरी ५ का...