मानव जीवन केवल शारीरिक अस्तित्व मात्र होइन । जीवन चक्र चलाउनु, हुर्किनु, बढ्नु, शिक्षा, पद, सम्पन्नता र सम्मान हासिल गर्नु मात्र होइन । यो मानसिक, भावनात्मक र आध्यात्मिक तहमा फैलिएको अनन्त यात्रा हो ।
यो अनन्त यात्रालाई पलपलमा महसुस गर्नको लागि सोच, अनुभव र सम्बन्धहरूले हामीलाई कुन बाटोतर्फ लागिरहेछ भन्ने कुराले निर्धारित गर्छ । हाम्रो जीवनका हरेक क्रियाकलापसँग हाम्रो सम्बन्ध जोडिएको हुन्छ । त्यो सम्बन्ध र दिशानिर्देश सही र गलत कुन बाटोमा भइरहेछ कहिलेकाहिँ अनभिज्ञ रूपमा भइरहेको हुन्छ ।
जीवनमा सही सम्बन्ध बनाउनु भनेको दिशानिर्देश प्राप्त गर्नु हो, र गलत सम्बन्ध भनेको अन्धकारमा अलमलिनु हो । सुखका विभिन्न आयाम हुन्छन् भने दुखका पनि । वास्तवमा कुनै चिज प्राप्त भएर सुखानुभूति हुने नभई त्यो चिजप्रतिको, त्यो प्राप्तिप्रतिको सुख भाव सुख हो ।
र, अभाव या कुनै चिज प्राप्त नहुनु दुःख नभएर, अभावप्रति दुःख भाव उत्पन्न हुनु दुःख हो । त्यसैले हामीलाई चाहिएको सुख हो भने, सत्य सुख के हो, त्यसलाई कसरी पाउन सकिन्छ, र ध्यान कसरी आत्मसम्मिलनको यात्रा बन्न सक्छ भन्ने बोध गर्नु उपयुक्त हुनेछ ।
सम्बन्धहरूको शक्ति
“तिमीले जोसँग जस्तो संगत गर्छौ, तिम्रो भविष्य त्यस्तै बन्छ ।” (उपनिषद्) मानिसको स्वभाव र मनको काम हो सम्बन्ध बनाउनु । बिना सम्बन्ध यो संसारमा कोही पनि बाँच्न चाहँदैन र सक्दैन पनि ।
जीवन सम्बन्धले बन्छ अनि जीवनमा आउने हरेक घटना वा वस्तुसँग हाम्रो अनुभवले सम्बन्ध जोड्छ । यदि हामीले गलत सम्बन्ध बनायौं भने जीवन गलत दिशातर्फ डोरिन्छ । जस्तै, हामीलाई लाग्छ धन भयो भने सर्वत्र सुख प्राप्त हुन्छ । अर्थात् कसैले सुखलाई धनसँग मात्र जोड्छ भने उसले धनको दौडमा जीवन बिताउँछ ।
तर अन्ततः भौतिक सुख मात्रले पूर्णता दिँदैन । अब उसलाई सबै किसिमको सम्बन्धको अभाव खट्किन थाल्दछ । अभाव खट्किनु नै दुःखको महसुस हो भने यहाँनेर धन पनि दुःखको मध्यम बन्न सक्यो । भोकाएको मानिसलाई एउटा स्याउले अस्थायी तृप्ति दिन्छ । तर भोक मेट्दा मात्र जीवनको सम्पूर्ण प्रश्न समाधान हुँदैन ।
यस्तै, धन, मान, प्रतिष्ठा वा सम्बन्धहरूले पनि क्षणिक आनन्द दिन सक्छन् तर सत्य सुख भने भित्रै लुकेको हुन्छ । हाम्रा पुर्खाहरूको जीवनशैली स्वस्थ र भाइचाराको थियो । दुःखका, अभावका र गुनासाका कथा धेरै सुन्नुपर्दैनथ्यो, यो हामीले अनुभव गरेको पक्ष हो ।
अहिलेका हामीसँग त्यो भाव किन छैन ? भौतिकता, उपलब्धता, पहुँच र सुविधाको आधारमा त आजका मानिस धेरै सुखी र खुसी हुनुपर्ने हो तर त्यो छैन । आजका मानिसमा अरू निराशा, कुण्ठा, इष्र्या र तनावपूर्ण देख्न सकिन्छ । यसको कारण हो आजका मानिसलाई एक अर्कोसँग प्रतिस्पर्धा गर्नको लागि धेरै चिज सहज रूपमा उपलब्ध छन् ।
अरूको घर, गाडी, बैंक ब्यालेन्स, राजनीतिक प्रतिष्ठा, व्यापार व्यवसाय, विदेश यात्रा आदि आदि । मसँग के छ होइन, अरूसँग के छ त्यसले दुख दिन्छ आजका मानिसलाई ।
आफूसँग भएका चिजप्रतिको, आफ्नो संघर्ष र सफलताप्रतिको हेक्का छैन र स्वयंप्रति धन्यवाद भाव पनि छैन । भौतिक उपलब्धता सबैभन्दा ठूलो चिज हो भन्ने मान्यताले नै मानिसहरू आफूलाई अरूभन्दा बढी देखाउनका लागि नवीनतम सामान, विलासी वस्तु, आधुनिक प्रविधि, महंगो ब्रान्ड वा सजावटमा ध्यान दिन्छन् ।
अरूले जे पाएक छन्, मैले पनि पाउनुपर्छ भन्ने मानसिकता फैलिएको छ । यसले मानिसलाई क्षणिक सन्तुष्टि दिन सक्छ तर स्थायी शान्ति दिन सक्दैन । भौतिक सम्पत्ति मात्र सफलता र सम्मानको मापदण्ड मानिन्छ । जसले बढी भौतिक सम्पत्ति संकलन गर्छ, उसलाई समाजले सफल भनेर चिन्छ र सम्मान दिन्छ ।
मानिसलाई बाह्य चमकधमकको दौडतर्फ तान्छ, तर भित्री चेतना, मनको शान्ति र आत्मसन्तुष्टि भने पछाडी पर्छ । त्यसैले आज धेरै मानिसहरू बाहिर हेर्दा सम्पन्न देखिए पनि भित्रभित्रै अशान्ति र असन्तुष्टिमा डुबिरहेका छन् ।
जीवनको वास्तविक सम्पन्नता भने आत्मज्ञान, मूल्य, सम्बन्ध र मनको शान्तिबाट प्राप्त हुन्छ । बाह्य र आन्तरिक खुसीको अनुपात हेर्ने हो भने, सुख बाहिर होइन, भित्र छ । बाह्य कुरा केवल चाबी हुन्, ढोका खोल्ने शक्ति त हाम्रो चेतनामा छ । त्यसैले हामीले बाहिर महसुस गर्ने सुख आन्तरिक सुखको तुलनामा कम नै हुन्छ ।
बाह्य सुख भनेको धन, शिक्षा, पद, सुविधा, वातावरण, सहजता आदि यी केवल २५ प्रतिशतभित्र पर्दछन् किनभने कुनै क्षणमा यी सब चिज क्षणिक लाग्न थाल्दछ र फेरि आन्तरिक सुखको खोजी महसुस हुन थाल्दछ ।
आन्तरिक सुख, सत्य, स्थायी र गहिरो खुसी जुन आत्मचेतनाबाट उत्पन्न हुन्छ । जब मन शान्त हुन्छ, जब हामीले आफूलाई बुझ्छौं, तब जीवन आनन्दमय हुन्छ । यसरी हेर्दा, बाह्य कुरा केवल उत्प्रेरक हुन्, तर स्थायी समाधान भने आत्मभित्रै हुन्छ । आन्तरिक खुसीको अनुपात ७५ प्रतिशत हुन सकेमा मात्र हामी वास्तविक सत्य, सुख र सन्तोषको तहमा पुग्न सक्दछौं ।
डा. नम्रता पाण्डे
आत्मसत्यतर्फको यात्रा
भनिन्छ, आत्मज्ञानभन्दा ठूलो मित्र छैन, आत्मविस्मृतिभन्दा ठूलो शत्रु छैन । यस भनाइमा जीवनको सबैभन्दा ठूलो सत्य समेटिएको छ । आत्मज्ञानले मानिसलाई मार्गदर्शन गर्छ, जीवनलाई अर्थ दिन्छ र सही बाटोतर्फ डोर्याउँछ । तर आत्मविस्मृति अर्थात् आफूलाई नचिन्ने अवस्थाले मानिसलाई अन्धकारमा पुर्याउँछ, जहाँ दुःख, भ्रम र असन्तोष मात्र भेटिन्छ ।
मानव जीवनको मूल उद्देश्य बाह्य उपलब्धि र आन्तरिक उपलब्धिको भिन्नतालाई छुट्याउन सक्नु हो । बाह्य सुख र सत्य अस्थायी हुन्, स्थायी उद्देश्य भनेको आत्मज्ञान हो । आत्मज्ञान प्राप्त नगरेसम्म मानिस अधुरो रहन्छ, जसरी फूलले सुगन्ध फैलाउन सकेन भने त्यो अपूर्ण हुन्छ । आजका अधिकांश मानिसहरू बाह्य प्रतिस्पर्धामा व्यस्त छन्, धन कमाउने, पद पाउने, नाम कमाउने । तर भित्री दृष्टि विकास नगरेसम्म यी सबै केवल खाली खोल मात्र हुन् ।
बाहिर कति सम्पन्न देखिए पनि, भित्रको खाली खोक्रोपनले जीवनमा शान्ति र आनन्द आउँदैन । त्यसैले आत्मसत्यतर्फको यात्रा भनेको भित्री संसारतर्फ फर्कनु हो । सजिलो छैन, तर सम्भव छ, यो यात्रा कुनै एक दिनमै पूरा हुने चमत्कार होइन । निरन्तर अभ्यास चाहिन्छ, मनन चाहिन्छ, ध्यान, योग, प्रार्थना वा आत्मचिन्तन जस्ता विधिमार्फत साधनाको जरूरत पर्दछ ।
साधना वृद्ध भएर, अवकाश प्राप्त गरेपछि शुरू गर्ने हो जस्तो लाग्न सक्छ र जब शुरू गर्यो तब परिणामको अपेक्षा पनि हुन्छ । त्यसैले धैर्यता आवश्यक हुन्छ किनकि मन छिट्टै भड्किन्छ, पुराना आदतले तान्छ । परिवर्तन स्वीकार्न सहजै दिँदैन मनले ।
त्यसैले त आत्मचिन्तन अनिवार्य हुन्छ, आफ्ना कमजोरी, आन्तरिक शक्ति, उद्देश्य र वास्तविक चाहनालाई ईमानदारीपूर्वक हेर्ने साहस वृद्धिको लागि ।
असीमित सुख र शान्ति
मानव जीवनमा जेजति अनुभव हुन्छन्, ती प्रायः बाह्य परिस्थितिहरूसँग गाँसिएका हुन्छन् । धनी वा गरिब हुनु, सफल वा असफल हुनु, प्रशंसा वा आलोचना भोग्नु, यी सबै क्षणिक अवस्था हुन् । यिनले मानिसको मनलाई हल्लाउँछन्, तर आत्मसत्यतर्फको यात्रा सफल भएपछि यी सबैले मूल शान्तिमा असर गर्न सक्दैनन् । जीवनमा चुनौती, दुःख, असफलता वा पीडा आउन सक्छन् ।
आत्मज्ञान प्राप्त मानिस परिस्थिति अनुसार प्रतिक्रिया गर्छ, तर भित्रको शान्तिमा अडिग रहन्छ । हुनु र नहुनुको भेद बाँकि रहन्न । सत्य आत्मसम्मिलनमा पुगेको व्यक्तिले अभाव या अपूर्णतालाई बाह्य अवस्था मात्र ठान्छ । उसलाई थोरै भए पनि सन्तोष हुन्छ । धेरै भए पनि आसक्त हुँदैन । यसरी, हुनु र नहुनुको विभाजन केवल समाजका लागि हुन्छ, आत्मज्ञान प्राप्त मानिसका लागि होइन ।
सफलता वा असफलताले शान्ति खोस्दैन । सफलताले प्रायः मानिसलाई अहंकारी बनाएको पाइन्छ भने असफलताले निराश । तर आत्मज्ञान प्राप्त मानिस दुवैलाई समतामय ढंगले भोग्छ । सफलता आयो भने धन्यवाद दिन्छ । असफलता आयो भने शिक्षा लिन्छ । तर कुनै पनि अवस्थामा उसको मूल शान्ति डगमगाउँदैन । उसले आफ्नो वास्तविक स्वरूपसँगको सम्बन्ध राख्न जान्दछ ।
जब मानिस आफ्नो सत्य स्वरूपसँग जोडिन्छ, उसमा नयाँ गुणहरू स्वतः प्रकट हुन्छन् । सन्तोषमा रहन्छ, बाह्य इच्छा घट्छन्, भित्र आनन्द बढ्छ । आत्मज्ञानले अहंकारलाई गलाउँछ, जसले निःस्वार्थ प्रेम प्रवाहित हुन्छ । करुणा जागृत हुन्छ, अरूको पीडामा सहानुभूति जाग्छ, सेवा गर्न मन लाग्छ । यी गुणहरूले मात्र जीवनलाई प्रकाशमय र पूर्ण बनाउँछन् ।
ध्यान : आत्मसम्मिलनको बाटो
आजकल धेरैलाई ध्यान साधनाप्रतिको सचेतना जागृत भएको पाइन्छ र ध्यानको अभ्यासमा लागेको पाइन्छ । तर ध्यान के हो र यो कसरी आत्मसम्मिलनको मध्यम बन्न सक्दछ जानकारी हुन जरूरी छ । त्यसो त ध्यान परिभाषाबाट होइन अभ्यास र अनभूतिबाट थाहा लाग्छ । र पनि विभिन्न सन्तजनले ध्यानलाई कसरी सम्झाउनु भएको छ जान्नु राम्रो हुन्छ ।
ओशोको भनाइ छ, “ध्यान भनेको मनलाई आफ्नो घरभित्र फर्काउनु हो ।” ध्यान कुनै धर्म वा परम्परासँग मात्र जोडिएको अभ्यास होइन । यो त चेतना शुद्ध गर्ने सार्वभौमिक विधि हो । बुद्धको भनाइ छ, “शान्ति भित्रबाट आउँछ । यसलाई बाहिर खोजेर पाइन्न । भित्र खोज्ने मध्यम ध्यान हो ।” भागवद गीतामा उल्लेख छ, “ध्यानयोगमा लीन भएर, शान्त मनले आत्मालाई आत्मामै स्थिर पार्ने योगी सर्वोच्च शान्ति प्राप्त गर्छ ।”
ध्यानमार्फत अशान्त मनलाई शान्त बनाउन सकिन्छ । आन्तरिक बोधको वृद्धिमार्फत गलत सम्बन्धहरू र कार्यहरू हटाएर सही सम्बन्ध र असल कार्यप्रति लगाव बढाउन सकिन्छ । बाह्य अव्यवस्था बीच पनि आन्तरिक शान्ति अनुभव गर्न सकिन्छ । यो निरन्तरको अभ्यास, धैर्यता र आत्मअनुशासनले मात्र सम्भव हुन्छ । आत्मसत्यतर्फको यात्राको अन्तिम फल असीमित सुख र शान्ति हो, एक स्थायी अवस्था, जुन बाह्य परिस्थिति वा उपलब्धिले फरक पार्न सक्दैन ।