काठमाडौं, २० असोज - लगातार परेको भीषण वर्षा र त्यससँगै आएको बाढीका कारण देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका जलविद्युत् आयोजना प्रभावित भएका छन् । राष्ट्रिय प्रसारण प्रणालीबाट करिब १८० मेगावाट विद्युत् आपूर्ति अवरुद्ध भएको छ । असोज १७ देखि १९ गतेसम्मको अवीरल वर्षा र बाढीका कारण केही जलविद्युत् आयोजना पूर्णरुपमा प्रभावित भएका छन् । जसको परिणामस्वरुप सो विद्युत् प्रसारण प्रणालीबाट विच्छेद हुन पुगेको हो ।
बाढीले सबैभन्दा बढी प्रभावित इलाम र पाँचथर जिल्लामा सञ्चालित अधिकांश जलविद्युत् आयोजनाको उत्पादन गएको ३ दिनदेखि बन्द छ । बाढीले केही जलविद्युत् आयोजनाको संरचनामा क्षति पुर्याएको छ भने केही आयोजना पूर्णरूपमा प्रभावित भएका छन् । बाढीले नदी तथा खोलाको पानीमा लेदो बगाएर ल्याएपछि केही आयोजना विद्युत् उत्पादन बन्द गरिएको छ ।
सोमबार दिउँसोसम्मको प्रारम्भिक तथ्यांकअनुसार सञ्चालनमा रहेका १७ वटा जलविद्युत् आयोजना बाढीबाट बढी प्रभावित बनेका छन् । विद्युत् उत्पादन बन्द भएका १७ मध्ये १५ आयोजना इलाम जिल्लाका रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ ।
इप्पानका अनुसार इलाममा सञ्चालनमा रहेका ४.५ मेगावाटको माईखोला, ८ मेगावाटको माईखोला क्यासकेड, २२ मेगावाटको माईखोला (सानिमा माई), ७ मेगावाटको माई क्यासकेड, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ‘ए’, ३ मेगावाटको सुपरमाई ‘ए’ क्यासकेड, ७.६ मेगावाटको जोगमाई खोला, ५.२ मेगावाटको जोगमाई क्यासकेड आयोजनाको उत्पादन बन्द छ ।
बाढीले सानिमा हाइड्रो समूहको लगानी रहेको माई खोला र माई क्यासकेड आयोजनामा क्षति पुर्याएको सानिमा माई हाइड्रो पावर कम्पनीका सञ्चालक सुवर्णदास श्रेष्ठले बताए । उनका अनुसार बाढीले आयोजना स्थलमा ८ वटा कल्भर्टमा क्षति पुर्याएको छ । बाढी बढ्दै गएपछि शनिबार रातिदेखि नै दुवै आयोजनाको उत्पादन बन्द गरिएको उनले बताए ।
‘अहिलेसम्म बाह्य संरचनाहरूमा क्षति पुगेको प्रारम्भिक जानकारी मात्रै आएको छ,’ उनले भने, ‘मंगलबार प्राविधिक सहितको विज्ञ टोली आयोजना स्थलमा पुग्दैछ । स्थलगत अध्ययन गरेपछि मात्रै क्षतिको पूर्ण विवरण आउनेछ ।’
यस्तै, ६.२ मेगावाटको तल्लो जोगमाई, ९.५ मेगावाटको माईबेनी, ९.९ मेगावाटको माथिल्लो माई, ५.१ मेगावाटको माई सी क्यासकेड, ४.९६ मेगावाटको पुवा २ र ३ मेगावाटको अपर पुवा–१ जलविद्युत् आयोजनाको पनि उत्पादन बन्द हुन पुगेको छ ।
पाँचथरस्थित १४.९ मेगावाटको हेवाखोला ‘ए’ र रामेछापस्थित ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजना बाढीबाट प्रभावित हुन पुगेको इप्पानले जनाएको छ । खोलाको पानीमा काठ, हिलो र लेदो मिसिएर आएपछि उत्पादन बन्द गरिएको हेवाखोला ‘ए’ का प्रवर्द्धक पुष्पज्योति ढुंगानाले बताए । उनका अनुसार शनिबार रातिदेखि नै हेवाखोला ‘ए’ को उत्पादन बन्द छ ।
‘आयोजना स्थलसम्म पुग्ने पहुँच सडक ठाउँ ठाउँमा पहिरो खसेर अवरुद्ध भएको छ,’ उनले भने,‘खोलाको पानी धमिलो आउन थालेपछि विद्युत् गृहमा जडान भएका उपकरणमा क्षति नपुगोस भनेर उत्पादन बन्द गरेका हौं ।’ उनले हेवाखोलाको पानीको गुणस्तरमा सुधार भएपछि मात्रै उत्पादन सुरु गरिने बताए । बाढीले प्रभावित लिखु–४ आयोजना नदीमा पानीको बहाव कम हुँदै गएपछि सञ्चालनमा ल्याइएको छ ।
बाढीका कारण १८० मेगावाट विद्युत् प्रसारण प्रणालीबाट बिच्छेद भएपनि विद्युत् आपूर्ति अवरुद्ध हुने अवस्था नरहेको ऊर्जा मन्त्री कुलमान घिसिङले बताए । ‘इलाम र पाँचथरमा सञ्चालित जलविद्युत् आयोजनाको उत्पादन अहिले प्रसारण प्रणालीबाट बिच्छेद भएको छ,’ उनले भने, ‘अन्य जिल्लामा सञ्चालित सबै आयोजना पूर्ण क्षमतामा रहेकाले विद्युत् आपूर्ति अवरुद्ध हुने अवस्था छैन ।’
उनले केही स्थानमा विद्युतीय पोल बगाएकाले तथा केही स्थानमा डुबानका कारण अवरुद्ध भएको विद्युत् सेवा पनि वर्षा रोकिएपछि मर्मत गरेर सुचारु गरिसकेको बताए । यस्तै, बाढीले ३३८ मेगावाटका १५ वटा जलविद्युत् आयोजना पनि पूर्णरूपमा प्रभावित हुन पुगेका छन् । बाढीले केही जलविद्युत् आयोजनाको संरचनामा क्षति पुर्याएको छ भने अधिकांश आयोजनाको निर्माण स्थलमा पुग्ने पहुँचमार्गमा पनि क्षति पुगेको छ ।
बाढीले मनाङस्थित ४९.९५ मेगावाटको दाना खोला जलविद्युत् आयोजनाको १२ किलोमिटर पहुँच सडक बगाएको छ । भारी वर्षापछि आयोजनास्थलसम्म पुग्ने पहुँच सडकको ठाउँ ठाउँमा पहिरो खसेर आवागमन अवरुद्ध हुन पुगेको प्रवद्र्धक लालुपाते हाइड्रोपावर कम्पनीका सञ्चालक मोहनकुमार डाँगीले बताए ।
‘यही वर्षदेखि आयोजना निर्माण सुरु भएको थियो,’ उनले भने, ‘आयोजना स्थलसम्म पुग्ने पहुँच सडक सेट भइसकेको नै थिएन । अहिलेको बाढीले हलुका सडक धेरै ठाउँमा बगाएको छ ।’
यस्तै, इलाममा निर्माणाधीन १० मेगावाटको सिद्धिखोला जलविद्युत् आयोजनाको संरचनामा पनि बाढीले प्रभावित हुन पुगेको छ । विद्युत् उत्पादनको चरणमा पुगिसकेको यो आयोजना बाढीबाट प्रभावित हुँदा विद्युत् उत्पादन मिति धकेलिन पुगेको प्रवद्र्धक सिद्धि हाइड्रोपावर कम्पनीले जनाएको छ ।
यसैगरी, पाँचथरमा निर्माणाधीन २१.५ मेगावाटको सभाखोला ‘बी’ र ९.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना बाढीबाट प्रभावित हुन पुगेका छन् । यी आयोजना स्थलमा राखिएको निर्माण सामाग्री तथा निर्माण उपकरणहरू समेत बाढीले बगाएको छ ।
सिन्धुपाल्चोकमा पनि ३६.५१ मेगावाटको ब्रम्हायणी, १५.१५ मेगावाटको माथिल्लो ब्रम्हायणी, ४० मेगावाटको बलेफी र २२.५ मेगावाटको तल्लो बलेफी जलविद्युत् आयोजना बाढीबाट प्रभावित हुन पुगेका छन् । यी आयोजनासम्म पुग्ने पहुँचमार्ग पनि बाढीले बगाएको छ ।