नेभिगेशन
नेपाल

साढे दुई महिनामा १५ अर्बको विद्युत् निर्यात

काठमाडौं, २१ असोज - नेपालबाट चालू आर्थिक वर्ष २०८२-८३ को साढे दुई महिनामा १५ अर्ब रुपैयाँ बढीको विद्युत् निर्यात भएको छ । साउनदेखि असोज मध्यसम्म भारत र बंगलादेशमा सो मूल्य बराबरको विद्युत् निर्यात भएको हो ।

देशभित्र खपत हुन नसकेर बढी भएको विद्युत् दैनिक अन्तरदेशीय बजारमा निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । अहिले भारतीय बजारमा एक हजार १२५ मेगावाट विद्युत् दैनिकरूपमा विभिन्न प्रसारण विन्दुबाट निर्यात भइरहेको छ । बंगलादेशमा पनि भारतकै प्रसारण प्रणालीमार्फत ४० मेगावाट निर्यात भइरहेको उनले बताए ।

‘हाम्रो प्रसारण प्रणालीबाट अहिले दैनिकरूपमा भारत र बंगलादेशमा गरी एक हजार १६५ मेगावाट विद्युत् निर्यात हुँदै आएको छ,’ उनले भने, ‘यसरी निर्यात हुने विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को ‘डे अहेड’ तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र भारतसँग भएको द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता अनुसार हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको छ ।’

विद्युत् प्राधिकरणका अनुसार भारतीय बजारमा निर्यात हुने विद्युत्ले भारतीय रुपैयाँमा भुक्तानी पाइरहेको छ । बंगलादेशले खरिद गर्ने विद्युत्को भुक्तानी भने अमेरिकी डलरमा हुने गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ ।

प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गर्दै आइरहेको छ । एनभिएनले नेपालसँग खरिद गरेको विद्युत् हरियाणा र बिहार राज्यमा बिक्री गर्दै आएको छ ।

नेपालबाट सबैभन्दा बढी विद्युत् ४०० केभी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत निर्यात हुन्छ । यसबाहेकका १३२ केभी परवानीपुर–रक्सौल, कुशाहा–कटैया, महेन्द्रनगर–टनकपुर प्रसारण लाइनमार्फत निर्यात हुँदै आएको छ ।

नेपालले गत आर्थिक वर्षमा पनि १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत अन्तरदेशीय बजारमा निर्यात गरेको थियो । सुख्खा याममा विद्युत् आयात गरेपनि साढे ४ अर्ब रुपैयाँ मुनाफा आर्जन भएको थियो । यो वर्ष थप २ सय मेगावाटका आयोजनाले विद्युत् निर्यातको अनुमति पाएकाले अन्तरदेशीय विद्युत् व्यापारबाट हुने मुनाफा बढ्ने प्राधिकरणको दाबी छ ।

नेपालले बर्खामा खपत हुन नसकेर बढी भएको विद्युत् भारतीय बजारमा निर्यात गर्दै आएको छ भने सुख्खा याममा नदी प्रवाही जलविद्युतगृहको उत्पादनमा गिरावट आउँदा भारतबाट आयात गरेर विद्युत्को माग र आपूर्ति व्यवस्थापन गर्ने गर्दछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्