नेभिगेशन
नेपाल

पूर्वमन्त्री गुप्ता र श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं (संवाददाता) – सत्तामा रहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि प्रभावशाली सहयोगीका रुपमा देखिएका दुई पूर्वमन्त्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगानको जग्गा घोटाला प्रकरणमा पूर्वमन्त्री एवं एमालेका नेता राजकुमार गुप्ता र पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध छुट्टाछुट्टै बिगो, जरिवाना माग गर्दै बुधबार मुद्दा दायर गरेको हो । निकै विवाद भएपछि ओलीले गुप्तालाई पदबाट राजीनामा गर्न लगाए पनि कार्बाहीबाट जोगाएका थिए भने सहयोगी भएकाले श्रेष्ठमाथि पनि कार्वाही अघि बढेको थिएन ।

जेनजी प्रदर्शनका नाउँमा भएको सरकारी संरचना ध्वंसका क्रममा आगो लगाइएको विशेष अदालतमा पहिलो पटक बुधबार भ्रष्टाचार मुद्दा दर्ता भएको हो । गुप्ता र श्रेष्ठ दुवै हाल विघटित प्रतिनिधिसभाका सदस्य पनि हुन् । गुप्ता केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए ।

रञ्जिता पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी थिइन् । पूर्वमन्त्री गुप्ताले पोखराको जग्गाका विषयमा विचौलियाहरूसँग घुसका बारेमा कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । अडियो बाहिरिएपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

गुप्ताले कास्की जिल्लास्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौती गरिदिन्छु भनी घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ लिएको र घरजग्गा व्यवसायीबाट मन्त्री गुप्ताले भूमि आयोगको सदस्य बनाउनका लागि २५ लाख रुपैयाँ घुस डिल गरेको अडियो कुराकानी बाहिरिएको हो ।

रञ्जिताले पनि पटकपटक रकम लिएको खुलेको अख्तियारको दाबी छ । उनले म्यासेज गरेरै ‘मलाई क्यास चाहियो, ड्राइभर पठाइदिन्छु’ भनेका विवरण अख्तियारमा पेस भएका थिए । मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेलले समेत रकम लिएको, पोखराबाट नै कालिज मगाएको विवरण पनि सार्वजनिक भएका थिए ।

भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्षमा नियुक्तिका लागि भूमि व्यवस्था मन्त्रालयबाट निर्णय हुने क्रममा थियो । त्यसमै भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्ष पदमा खमबहादुर पुनलाई नियुक्त गराउन सहजीकरणको भूमिकामा रञ्जिता र राजकुमारको मिलेमतो देखिएको अख्तियारले आरोपपत्रमा जनाएको छ । त्यसबेला घर जग्गा व्यवसायी तथा सुकुम्वासी भनी चिनाउने विचौलिया सुजनकुमार तामाङसमेतको मिलेमतो देखिएको भन्दै अख्तियारले उनीहरूविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।

अख्तियारले यामकुमारी गुरुङ, तुल्सीराम बुढा मगर र खमबहादुर पुनसँगको मिलेमतोमा अध्यक्ष पदमा आफू अनुकूल खमबहादुरलाई नियुक्तसमेत गराउन २५ लाख रुपैयाँ घुस रकम लेनदेन भएको अख्तियारको आरोप छ ।

अख्तियारले राजकुमार गुप्ता, रन्जिता श्रेष्ठ, रामचन्द्र अधिकारी, सुजनकुमार तामाङ, यामकुमारी गुरुङ, तुल्सीराम बूढा मगर, खमबहादुर पुनविरुद्ध मुद्दा दर्ता गरेको हो । मालपोत कार्यालय पोखराका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई ५३ लाख रुपैयाँ, विचौलिया सुजनकुमार लामालाई ७८ लाख रुपैयाँ, खमबहादुर पुनलाई २५ लाख रुपैयाँ, यामकुमारी गुरुङ, तुलसीराम बूढालाई जनही ७८ लाख रुपैयाँ बिगोसहित जरिवाना मागदाबी अख्तियारले गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्