जनकपुरधाम, २२ साउन - मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि औपचारिक दाबी पेश गरिएको छ । बुधबार कांग्रेस, नेकपा एमाले र जनमत पार्टीको संयुक्त पहलमा प्रदेश प्रमुखको कार्यालयमा सरकार गठनको दाबी पेश गरिएको हो ।
नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार बन्ने प्रस्ताव गरिएको छ । गठबन्धनले हाल कार्यवाहक मुख्यमन्त्री रहेका सतीशकुमार सिंहले विश्वासको मत लिन असफल भएकाले नयाँ बहुमतको सरकार आवश्यक रहेको जनाएको छ ।
मुख्यमन्त्री सिंहले केही दिनअघि सामाजिक सञ्जालमार्फत राजीनामा दिएको जानकारी सार्वजनिक गरे पनि औपचारिक रूपमा राजीनामा नदिएपछि कांग्रेस, एमाले र जनमत पार्टी मिलेर सिधै प्रदेश प्रमुख समक्ष सरकार गठनको माग राखिएको हो । प्रदेश प्रमुख अनुपस्थित रहेकाले निमित्त प्रमुख सचिव सत्रुधन यादवलाई लिखित रूपमा सरकार गठनको प्रस्ताव बुझाइएको छ ।
मुख्यमन्त्री सिंहले राजीनामा दिन आनाकानीपछि जनमत पार्टीले उनलाई पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै कारबाही गरेको छ । साथै, पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सिंहसहित मन्त्रीहरूलाई फिर्ता बोलाएको हो ।
यससँगै, सरकारमा सहभागी कांग्रेस र एमालेले पनि आफ्ना मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । कांग्रेस, एमाले र जनमत पार्टीको गठबन्धनमा कुल ५८ सांसद छन् । प्रदेश सभामा १०७ सदस्य रहेका छन्, जसमा बहुमतको संख्या ५४ हो ।
गठबन्धनले दाबीपत्रमा लोसपा नेपालको समर्थन पनि रहेको उल्लेख गरे पनि पछिल्ला राजनीतिक घटनाक्रमअनुसार लोसपा मुख्यमन्त्रीको दाबी गर्दै आएकाले लोसपाको समर्थन अनिश्चित देखिएको छ ।
सरकारमा सहभागी एमालेका सबै मन्त्रीहरूले पहिल्यै पदबाट राजीनामा दिइसकेको एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए । उनले भने, ‘सरकार अल्पमतमा पुगेकाले हामीले समर्थन फिर्ता लिएको हो ।’
संविधानअनुसार मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ३० दिनभित्र प्रयास गर्न‘पर्ने हुन्छ । असोज २८ गतेसम्म विश्वासको मत लिन नसके, सिंह स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ । हाल २४ दिनदेखि अल्पमतमा सरकार सञ्चालन भइरहेको अवस्थामा सिंहको नेतृत्वमा सरकार टिक्न सक्ने सम्भावना कम हुँदै गएको छ ।