काठमाडौं, २३ असोज एमालेले विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको माग अघि सार्दै सरकारलाई चेतावनी दिएको छ । जेनजी प्रदर्शनको ठीक एक महिनामा पार्टीको भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा ब्यूँताउने बताउँदै सरकारको गतिविधिविरुद्ध आक्रामक हुने संकेत गरेको हो । 
एमालेको यो अभिव्यक्तिले आगामी फागुनमा तोकिएको चुनाव गर्न सरकारलाई अप्ठेरो पर्ने देखिएको छ । चुनावमा भाग लिने भन्दा पनि सरकारले प्रतिशोध साँधेको भन्दै गलत क्रियाकलापविरुद्ध भिडेरै अघि बढ्ने एमालेले सन्देश दिएको छ । जेनजी प्रदर्शनपछि चुप लागेर बसेका राजनीतिक दलका नेता विस्तारै आफ्ना धारणा सार्वजनिक गर्ने र बैठक बस्ने प्रक्रिया थालेका छन् ।
संसद् विघटन गरी बनेको अन्तरिम सरकार एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नुपर्ने दबाबमा रहेका बेला एमालेले चुप लागेर नबस्ने बताएको छ । भदौ २३ मा सरकारले गरेको बर्बर दमनमा १९ जनाको ज्यान गएपछि त्यसको जिम्मा तत्कालीन प्रधानमन्त्री ओलीले लिनुपर्ने भन्दै तत्कालीन गृहमन्त्रीसमेतलाई पक्राउ गर्न जेनजी समूहले दबाब दिएका थिए ।
एमालेका अध्यक्ष ओलीले लोकतन्त्रको जग भत्काएर सुशीला कार्की प्रधानमन्त्री बनेको आरोप लगाएका छन् । ‘प्रतिनिधिसभा विघटन नगरी आफू प्रधानमन्त्री नबन्ने अडानपछि कार्कीको नेतृत्वमा सरकार बनेको थियो,’ उनले भने ।
एमालेको मुख्य एजेण्डा प्रतिनिधिसभा ब्यूँताउने रहेको घोषणा उनले गरेका छन् । जनताको सार्वभौम थलो प्रतिनिधिसभा विघटन हुनु संविधान विपरीत भएकाले पुनस्र्थापना हुनुपर्ने अडान राखेका छन् । भदौ २३ को जेनजी प्रदर्शनपछि २४ गते राजीनामा दिएर ओली बालुवाटारबाट सुरक्षा घेरामा बाहिरिएका थिए । त्यसपछि १० दिन सुरक्षा निकायको निगरानीमा बसेका ओलीको गुण्डुमा डेरा लिएर बसेका छन् । जेनजीको प्रदर्शनको क्रममा उनको बालकोटस्थित घरमा आगजनी भएको थियो । 
आन्दोलनकारीका रुपमा निस्किएको भीडले एमाले र कांग्रेसका धेरै जना नेताको घरमा आगजनी गरेको थियो । घरमा आगो लगाइएपछि अन्य राजनीतिक दलका नेताले आफूहरू कुन ठाउँमा कसरी बसिरहेका छन् भन्ने सार्वजनिक गरेका छैनन् । तर, ओलीले सार्वजनिक रुपमा बोलेर सरकारलाई कुनै पनि ‘पंगा’ नलिन चेतावनी दिएका हुन् । सरकारले ओली लगायतमाथि उपत्यका छोड्न नपाउनेगरी प्रतिबन्ध लगाइसकेको छ । 
सरकारले ओलीसहित पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा, पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई राहदानीसमेत रोक्का गर्दै उपत्यका छोड्न नपाउनेगरी जाँचबुझ आयोगले निर्णय गरिसकेको छ । जेनजी आन्दोलनमा अस्वाभाविक बल प्रयोग गरेका कारण अनुसन्धान गर्नुपर्ने भन्दै जाँचबुझ आयोगले पाँच जनाको यात्रामा रोक लगाएको हो । यदि उनीहरू उपत्यकाबाहिर जानु परेमा जाँचबुझ आयोगको अनुमति लिनुपर्ने निर्णय भइसकेको छ ।
आफूलाई उपत्यका छोड्न रोक लगाउनुलाई ओलीले सरकारको नाटक भएको कटाक्ष गरेका छन् । उनले देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरेको संसद् तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढ्नेबाहेक अर्को विकल्प नभएको ओलीको तर्क छ । कांग्रेस पनि पुर्नस्थापनाकै बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे । 
आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तोकिएको छ । निर्वाचन नभए मात्र संसद पुनस्र्थापनाको माग गर्नुपर्ने सुनिएको भन्दै चुनाव कुर्नै नपर्ने उनको तर्क छ । ‘संसद् विघटन असंवैधानिक, गलत छ । गैरकानुनी छ । अलोकतान्त्रिक छ, देशको हितको विरुद्धमा छ । हामीलाई थाहा छैन र ? फागुन २१ पर्खनु परेको छैन,’ उनले भने । आफूलाई उपत्यकाबाहिर रोक लगाएकोबारे ओलीले अहिलेको सरकार देखेर आफू नभाग्ने अड्डी कसे । ‘सुशीला कार्कीलाई देखेर ओली भाग्छ गुटुटु?’ उनले भने ।
सरकारले थुन्ने र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने भन्नेबारे उनले १० पटकसम्म आफ्नो सम्पत्ति छानबिन गर्न चुनौती दिएका छन् । ‘सम्पत्ति छानबिन गर्ने रे ! एकपटक होइन १० पटक गर सम्पत्ति छानबिन । म सोध्न चाहन्छु मन्त्रीज्यूहरू तपाईंहरूको पनि सम्पत्ति छानबिन गरौं । आँट गर्नुहुन्छ,’ उनको प्रश्न थियो । अहिले बनाएजस्तै पहिला ओलीलाई समाउनुपर्छ, थुन्नुपर्छ, मुद्दा लगाउनुपर्छ भन्नेहरूको आयोग बनाएर गज्जवको ड्रामा सरकारले गरेको टिप्पणी गरे ।
ओलीले आफू भ्रष्टाचार विरोधी भएको जेनजीको मागलाई सकारात्मक रुपमा लिइरहेका बेला राजिनामा दिनुपरेको बताएका छन् । आफूले भ्रष्टाचार नगरेको र थाहा पाएसम्म भ्रष्टाचार हुन नदिएको दाबी गरे । अहिलेसम्म राजनीतिक दलले गरेका आन्दोलनले कुनै पनि भौतिक क्षति नपुगेको र भदौ २४ मा देशका संरचना ध्वस्त भएकोमा एमालेले चिन्ता व्यक्त गरेको छ ।
जाँचबुझ आयोग मान्य छैन
एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्रममा भएका भौतिक र मानवीय क्षतिको बारेमा सत्यतथ्य जाँचबुझ गर्न बनेको आयोग आफ्नो दललाई मान्य नहुने घोषणा गरेका छन् । पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको तीन सदस्यीय जाँचबुझ आयोगले गरेको काम नमान्ने बिहिबार घोषणा गरेका हुन् ।
जाँचबुझ आयोगका अध्यक्ष बन्नु अघि नै केपी ओली समाउनुपर्छ, थुन्नुपर्छ भनेर उनलाई नै बनाइएको आरोप लगाएका छन् । ‘ओली थुन्नुपर्छ भन्ने मान्छेहरूको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्ने अनि त्यो प्रतिवेदनका आधारमा अगाडि बढ्यौं भन्ने यस्ता नाटक नेकपा एमालेलाई मञ्जुर छैन, स्वीकार्य छैन’ उनले भने, ‘मैले मसिनो भाषामा भनेको छु यो स्वीकार्य छैन भनेर । तर बुझ्नुस् एमालेलाई यो नक्कली आयोग मञ्जुर छैन ।’ 
आयोगले निष्पक्ष छानबिन गर्नेमा उनले आशंका व्यक्त गरेका छन् । ओलीले आयोगमा बस्नु अघि नै विभिन्न अभिव्यक्ति आएकाले सार्वजनिक रुपमै प्रश्न उठिसकेपछि सप्रमाण देखिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । ‘उहाँहरूले हामी निष्पक्ष छौं भन्न सक्नुभएको छैन । लुसुलुसु अघि बढ्नुभएको छ, बढ्नुस् । तपाईंहरूको प्रतिवेदन लेख्नुस् । बुझाउनुस्, फैसला गर्नुस् । एमालेलाई मान्य छैन, नेपाली जनतालाई मान्य छैन । मान्दैनौं हामी, गर्नुस्, के के गर्नुहुन्छ !’