नेभिगेशन
प्रदेश

मेयरले प्रशासकीय अधिकृतलाई काम गर्न नदिँदा आर्थिक कारोबार ठप्प

सप्तरी, २३ असोज - सप्तरीको खडक नगरपालिकामा नगरप्रमुख जयप्रकाश चौधरीको हठका कारण कार्यालय ठप्प भएको छ । नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुलाई अहिलेसम्म काम गर्ने अधिकार (अख्तियारी) नदिँदा आर्थिक कारोबार अघि बढ्न सकेको छैन ।

स्थानीय विद्यालयका शिक्षकहरूले तलब नपाएको विरोधमा बुधबार नगरपालिका कार्यालयमा तालाबन्दी गरेपछि सेवा प्रवाह नै ठप्प भएको हो । नगर क्षेत्रका करिब चार सय शिक्षक र कर्मचारी तलब नपाएर समस्यामा परेका छन् ।

तीन महिनादेखि तलब नपाएपछि उनीहरूले पटक–पटक नगरप्रमुख र प्रशासनिक अधिकृतलाई जानकारी गराएका थिए । त्यसपछि प्रमुख जिल्ला अधिकारीमार्फत पनि समस्या समाधानको प्रयास भयो तर नगरप्रमुखले अटेरी गरेपछि तालाबन्दी गर्नु परेको शिक्षक दिनेशकुमार मण्डलले बताए ।

शिक्षक नीलम कुमारीका भन्छिन्, ‘दशैं जसोतसो मनाए पनि अब घर चलाउन गाह्रो परेको छ । हामी तलब र भत्ता मागिरहेका छौं, अरू केही होइन ।’ चालु आर्थिक वर्ष सुरु भएयता नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गर्न दिएका थिएनन् । पछि चौतर्फी आलोचना भएपछि हाजिर त गराए, तर अहिले पनि बजेट खर्च गर्न आवश्यक अख्तियारी नदिएका कारण काम अघि बढ्न सकेको छैन ।

प्रमुख प्रशासकीय अधिकृत सोनु भन्छन्, ‘नगरसभा सकिएको छ, बजेट तयार छ । तर नगरप्रमुखले हस्ताक्षर गरेर कोष तथा लेखा नियन्त्रण कार्यालयमा नपठाएसम्म कुनै काम गर्न सकिँदैन ।’ कानूनअनुसार नगरसभा सम्पन्न भएको सात दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिनुपर्ने हुन्छ । तर, सो समय नाघिसक्दा पनि नगरप्रमुखले अधिकार नदिँदा तीन महिना बित्न लाग्दासम्म विकासे काम ठप्प छ ।

शिक्षकहरूले तालाबन्दी गरेर दबाब दिएको भए पनि समस्या समाधान नहुँदा अब विद्यालय बन्द गरेरै धर्ना दिने चेतावनी दिएका छन् । नगरप्रमुखसँग सम्पर्क गर्न खोज्दा न उनी कार्यालयमा भेटिए न त फोन सम्पर्क नै हुन सक्यो । स्रोतका अनुसार नगरप्रमुखले आफूले चाहेको मान्छेलाई ल्याउन चाहेकाले हालका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराउन पटक–पटक मन्त्रालय धाउने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्