नेभिगेशन
दृष्टिकोण

आन्दोलनपछिको तनाव व्यवस्थापन

जेनजीको आन्दोलनपछि राजनीतिक र आर्थिक तनाव नेपाली समाजमा छरपष्ट देखिन्छ । राजनीतिक दललाई निर्वाचनमा कसरी जित्ने भन्ने तनाव छ । जेनजीहरूलाई कसरी एकताबद्ध हुने; राजनीतिक पार्टी खोल्ने वा एलाइन्समा नै जुट्ने भन्ने तनाव छ । व्यवसायीहरू आन्दोलनमा जलेको नोक्सानी कसरी पुनःप्राप्ति गर्ने थप लगानी गर्ने कि नगर्ने भन्ने तनावमा छन् । सरकार समग्र आर्थिक राजनीतिक अस्तव्यस्ततालाई कसरी सम्हाल्ने भन्ने तनावमा छ । २०७२ सालमा भूकम्पमा होस् वा कोरोनाको समयमा होस् हामी अत्यन्त गम्भीर तनावमा रह्यौं ।

तनाव मानव जीवनको एक अवश्यम्भावी घटना हो । सामान्यतया व्यक्ति र सामाजिक, आर्थिक, राजनीतिक, प्राविधिक तथा प्रशासनिक वातावरणबीच सरोकारका विषयमा बरोबर अन्तरक्रिया हुने गर्दछ । मूलतः तनाव वातावरण र व्यक्तिबीच हुने अन्तरक्रियाको परिणाम हो ।

प्राज्ञिक अध्ययनअनुसार तनाव चिन्ता होइन, घटना पनि होइन, घटनाप्रति व्यक्ति व्यक्तिको मानसिक बुझाइ र प्रतिक्रिया हो । खासगरी तनाव एक मानसिक प्रतिक्रिया हो । एक प्रकारको संवेग हो; मनको तरंग र तर्कना हो । मनमा आउने उतारचढावले तनाव पैदा गर्दछ । कुनै व्यक्तिले कुनै घटनालाई सहज रूपमा लिन्छ भने कसैले घटनालाई असमान्य, संवेदनशील र तनावको रूपमा लिने गर्दछ । सामान्यतया तनाव क्षणिक हुन्छ । एउटै तनाव दीर्घकालसम्म रहँदैन । तर एकपछि अर्को तनाव भने आइरहन्छ । 

भागवत गीता अनुसार तनाव त्यतिबेला उत्पन्न हुन्छ जति बेला व्यक्ति कर्मको फल परिणाम प्राप्त गर्न लालायित हुन्छ, अर्थात परिणामप्रति अति आशक्त हुन्छ । अर्थात, जब व्यक्ति अति धेरै सफलता, सम्मान र भौतिक सुविधाप्रति आशक्त बन्छ र त्यो चाहना सोचेझैं प्राप्त हुँदैन तब व्यक्ति तनावमा पर्छ । बौद्ध दर्शनमा संसारमा दुःख छ, दुःखका कारण छन् भनिएको छ । शरीर, मन, भावनात्मक सम्बन्धहरू र चेतना तनावका कारणहरू हुन् । शरीर, मन, सम्बन्ध र चेतनालाई प्रकृतिस्थ राख्न सकिएन भने तनाव आउँछ ।

विश्व समाज अहिले कुनै न कुनै तनावले ग्रस्त भैरहेको देखिन्छ । हाम्रो कार्य जिम्मेवारी हाम्रा सम्बन्धहरू, हाम्रो भौतिक सुविधाको चाहना र निरन्तर भइरहने परिवर्तनले हाम्रो जीवनमा तनाव ल्याउने गर्दछन् । हाम्रा लक्ष्य, लक्ष्य प्राप्त गर्न गरिएका प्रयास, परिणाम प्राप्त गर्ने अनिश्चितता र परिणामको उच्च महत्वले हामीलाई तनावमा लिएर जान्छ । तनाव जिवात्माको जीवनमा निरन्तर चलिरहने अवस्था हो । 

बच्चादेखि बुढासम्म सबैलाई बिहानदेखि दिउँसो, साँझ बेलुकासम्म नै तनावले साथ छोडेको हुँदैन । जेनजीको आन्दोलनपछि उत्पन्न परिणाम ठूलो संख्यामा आन्दोलनकारी मारिनु, सिंहदरबार जल्नु, कर्पोरेट हाउस जल्नु, सरकारी कार्यालय र सवारी साधन जल्नु तथा सरकार ढल्नु, नयाँ अन्तरिम सरकार बन्नु र प्रतिनिधिसभा विधटन भई नयाँ निर्वाचनको मिति घोषणााजस्ता सबै घटनाहरूले नागरिकको अगाडि अनिश्चितता र तनाव एकसाथ सिर्जना गरेको देखिन्छ ।

व्यक्तिमा आउने तनाव व्यक्ति, परिवार, समाज, संगठन र राज्यसँग सम्बन्धित विषयमा हुन्छ । आँखाले देखेको र कानले सुनेको सूचनाबाट विचार पैदा हुन्छ । त्यो विचार तनावको स्रोत बन्न पुग्छ । क्षणिक सफलताको उत्तेजना र अकल्पनीय असफलताले पनि तनाव ल्याउँछ । तनावमा भएको व्यक्तिले दैनिक व्यवहारमा केही विशिष्ट चरित्र देखाउन थाल्दछ । 

काम गर्दा सुरुमा सक्रिय हुनु र विस्तारै झोक्किने, रिसाउने, दिक्क मान्ने संकेत आउनु तनावको पहिलो चरण हो । तनावमा रहेको व्यक्ति स्वयम्लाई आपूm तनावमा भएको पहिलो अनुभूती हुन्छ र ऊ आफैं तनावको प्रतिरोध गर्न थाल्दछ । यो तनावको दोस्रो चरण हो । 

तनावको प्रतिरोध गर्न नसकिँदा मानिस मानसिक एवं शारीरिक रूपमा गल्दै जान्छ । ऊ थकित हुन्छ, काममा जाँगर हुँदैन । काममा अनुपस्थित हुन्छ, उत्पादकत्व घट्छ । कुलतमा पर्न सक्छ । मनमा भय, इष्र्या, आक्रोश, हीनताबोध तथा असफलताको पीडा एकसाथ पैदा हुने गर्दछ । यसलाई तनावको तेस्रो चरण भनिन्छ । तनावको गहनता बढ्दै क्रोनिक भएपछि व्यक्तिले तनावबाट मुक्त हुन मानसिक उपचार गर्नुपर्ने हुन्छ ।

परम्परावादी विद्धानहरू तनावलाई राम्रो मान्दैनथे, बेवास्ता गर्दथे । आधुनिक विद्वानहरू तनाव खराब हुँदैन भन्छन् । उनीहरूका अनुसार तनावले व्यक्तिलाई सक्रिय बनाउँछ । जीवनमा आउने तनावले व्यक्तिलाई सक्षम हुन र सुरक्षित रहन उत्प्रेरित गर्दछ । संगठनमा आउने तनावले एक हदसम्म व्यक्तिलाई केही नवीन काम गर्न उत्साहित गर्दछ । 

तनाव र कार्यसम्पादन प्रभावकारिता बीच उल्टो अग्रेजी ‘यू’ को सम्बन्ध रहन्छ । तनाव सुरु हुँदा व्यक्ति सक्रिय हुन्छ र उसको उत्पादकत्व बढछ । सफलता प्राप्त हुन्छ । त्यही लोभमा व्यक्ति बढी काम र बढी कार्यसम्पादनमा तल्लिन हुन्छ ।

कामको बोझ र समयभावले विस्तारै उसको ऊर्जामा ह्रास आउन थाल्दछ । केहि समयपछि व्यक्ति त्यस्तो विन्दुमा पुग्छ जहाँ उसमा ऊर्जा शून्य हुन्छ । व्यक्तिको उत्पादकत्व घट्छ । शारीरिक बेचैनी सुरु हुन्छ । व्यक्ति तनावबाट मुक्त हुने प्रयास पनि गर्दछ । कतिपय व्यक्तिहरू तनावबाट मुक्त हुन्छन् भने कतिपय व्यक्तिहरू तनावग्रस्त रहिरहन्छन् ।

तनाव बिग्रँदै गएर उनीहरूलाई काउन्सिलिङ र उपचारको आवश्यकता पर्न जान्छ । यसकारण तनाव व्यवस्थापनको आवश्यकता पर्दछ । तनाव व्यवस्थापन भनेको तनाव र तनाव कारणहरूको पहिचान गरी तनाव कम गर्ने विभिन्न उपाय पहिल्याएर कार्यान्वयन गर्नु हो । तनाव व्यवस्थापनमा व्यक्तिको भूमिका अहम् हुन्छ ।

Laxmi-Bilas-Koirala-1758757705.png
लक्ष्मी विलास कोइराला

व्यक्ति आफै आफ्नो काउन्सिलर हो । संगठनले आफ्ना कर्मचारीहरूको तनाव पहिचान गरी तनाव व्यवस्थापनमा विभिन्न रणनीति पहिल्याएर कार्यान्वयन गर्दछ । परिवार र पारिवारिक सम्बन्धले तनावको व्यवस्थापन गर्ने होइन तनाव आउनै नदिने परिस्थितिको निर्माण गर्न सक्दछ ।

तनाव व्यवस्थापनमा व्यक्ति, परिवार र संगठनले के गर्नु उपलब्धिमूलक हुन्छ भन्ने सन्र्दभमा गीता ज्ञानलाई आधार मानिन्छ । गीतामा ज्ञानयोग, भक्तियोग, कर्मयोग र राजयोग अठार भाग सातसय श्लोकहरूमा विश्लेषण गरिएको छ । गीताले अनुकूल र प्रतिकूल परिस्थितिमा आफ्ना भावनाहरूलाई सन्तुलित राख्न र मानिसलाई तनावबाट मुक्त राख्न आदीकालदेखि अनन्तकालसम्म दिक्षा दिइरहेको छ । 

गीताको अध्ययन र व्यवहारिक सन्देशले मानिसको तनावलाई शमन गर्दै शान्ति दिँदै आएको छ । गीताको आध्यात्मिक शिक्षाले जे भयो राम्रोको लागि भयो, जे भइरहेको सबै राम्रोको लागि भइरहेको छ, जे हुने छ त्यो पनि राम्रोको लागि हुनेछ भन्ने आध्यात्मिक दर्शनले दुःखको पीडाबाट राहत दिने र मन शान्त पार्ने गर्दछ ।

भागवत गीताको भाग दुई, श्लोक ४७ मा ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन, मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोकस्त्वकर्मणि’ भनिएको छ । यसको अर्थ तिमिलाई दिइएको कर्म पुरा गर्ने अधिकार तिमिलाई छ, विधि र प्रक्रिया पुर्‍याएर कर्म गर्नु तिम्रो कर्तव्य हो तर कर्मको फल अर्थात् परिणाम प्राप्त गर्ने लालसा राख्नु हुँदैन । यसर्थ फलको आश नगर्दा र परिणामप्रतिको लालसा छोड्नाले तनावरहित शान्ति प्राप्त हुन्छ । 

गीताको भाग दुई, ४८ श्लोकमा ‘योगस्थः कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय, सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते’ भनिएको छ । यस श्लोकको सारले मानव जीवनमा उतार चढाव आइरहन्छ । बाह्य वातावरणबाट मनलाई प्रभावित हुन नदिई धैर्य गरी मनलाई सन्तुलनमा राख्नु पर्दछ । सफलता असफलताप्रतिको अति आशक्ति नै तनावको कारण हो । परिणामप्रतिको आशक्ति परित्याग गरेर इमान्दार एवम् लगनशील भएर कर्म गर्नाले तनाव हटेर जान्छ र मन शान्त हुन्छ ।

भागवत गीताले तनावको मुख्य कारण चञ्चल मनलाई मानेको छ । चञ्चल मन स्थीर नभएसम्म तनावलाई कम गर्न सकिदैन । मन आसक्ती, चाहना, रहर, वासना, लोभ, इष्र्या र भयले चञ्चल हुन्छ । व्यक्तिको मन चञ्चल बनाउन व्यक्ति स्वयं वढी जिम्मेवार छ । साथै व्यक्तिको परिवार र काम गर्ने संगठन पनि समान रूपमा जिम्मेवार हुन्छन् ।

मनलाई नियन्त्रण गर्न ध्यान र शरीरलाई शुद्ध गर्न भगवानको भक्ति पनि आवश्यक हुन्छ । अनुशासित जीवन नै सफलता र तनाव न्यूनीकरणको प्रमुख आधार हो । गीताको सन्देशलाई आत्मसात गर्दै व्यक्तिले आफ्नो व्यवहारलाई निर्देशित गर्ने, परिवारले परिवारको सदस्यलाई सहयोग गर्ने र संगठनले पनि सोही अनुरुप तनाव व्यवस्थापनका रणनीतिहरू बनाई कार्यान्वयनमा ल्याउने हो भने निश्चित रूपमा समाजमा तनाव कम भएर जान्छ ।

बौद्ध दर्शनअनुसार दुखका कारण शरीर मन, भावना र चेतना हुन् । शरीर, मन, सम्बन्ध र चेतनालाई शुद्ध राखिएन भने व्यक्तिमा तनाव उत्पन्न हुन्छ । पहिलो, शरीरलाई स्वस्थ र क्रियाशील राखिएन भने तनाव हुन्छ । शरिरसँग सम्बन्धित तनाव हटाउन योगाभ्यास तथा व्यायाम गरेर शरीरलाई क्रियाशील राख्नु पर्दछ भने शरीरको लागि सन्तुलित भोजन ठिक्क खानुपर्दछ र कहिल्यै पनि डकार्ने गरी धेरै खानु हुँदैन । 

शरीरलाई जाँगरिलो र स्फूर्त राख्न पानी पर्याप्त पिउने गर्नु पर्दछ । दोस्रो, चञ्चल मनको व्यवस्थापन हो । जीवनशैली र जीवन कार्यलाई व्यवस्थित, अनुशासित र क्रियाशील बनाउने हो भने मन चञ्चल हुँदैन, व्यवस्थित हुन्छ र ऊर्जाशील हुन्छ । सकारात्मक काम गर्‍यो भने मनले काम पाउँछ र नकारात्मक सोच्ने समय पाउँदैन । तेस्रो हो भावना अर्थात आत्मिक सम्बन्ध कायम गर्नु हो ।

आफ्ना नगिचका सबै प्रति सकारात्मक प्रेमपूर्ण भावना वा सम्बन्ध कायम गर्नु हो । भावना शुद्ध र सम्बन्ध सुमधुर बनाएको खण्डमा तनाव आफैं हराएर जान्छ । चेतना भनेको ज्ञान हो । ध्यानले चेतनालाई सुन्दर बनाउँछ र चेतना राम्रो छ भने सधैं सुख हुन्छ । आफ्नो जीवनको मात्र चिन्तन गर्नु र असल, नैतिक, पारदर्शी काम गर्नु हो । गलत सोच आउन नदिने, लक्ष्ययुक्त काम गर्नेु र नैतिक काम गर्ने मनसायले मात्र पनि तनाव आउन पाउँदैन ।

- कोइराला सूचना विभागका पूर्वमहानिर्देशक हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
प्राकृतिक चिकित्साको राजमार्ग

प्राकृतिक चिकित्साको राजमार्ग

महिनावारीसँग जोडिएको स्वास्थ्य

महिनावारीसँग जोडिएको स्वास्थ्य

गुलियो कति खानुभयो ?

गुलियो कति खानुभयो ?