नेभिगेशन
नेपाल

राष्ट्रपति–प्रधानमन्त्री दलसँग छलफल, चुनाव हुनेमा दलहरूको आशंका

काठमाडौं, २४ असोज - निर्वाचनमा सहभागी हुने दलहरूले हालको शान्ति सुरक्षाको अवस्थामा निर्वाचन हुन नसक्ने आशंका व्यक्त गरेका छन् । यही अवस्था रहिरहे चुनावमा सुरक्षा अवस्था निकै जटिल हुने दलका प्रतिनिधिले व्यक्त गरे । 

जेनजी प्रदर्शनपछि बनेको अन्तरिम सरकार राजनीतिक दलहरूसँग संवादहीनता तोड्दै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक समन्वय गरी प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलका प्रतिनिधि एकैठाउँमा छलफल गराएका छन् । जेनजी प्रदर्शनपछि बनेको अन्तरिम सरकारसँग राजनीतिक दलहरूको यो पहिलो छलफल हो ।

शितलनिवासमा भएको सर्वदलीय वैठकमा दलका प्रमुख नेताहरू भने उपस्थिति थिएनन् । सबै दलले दोस्रो तहका नेताहरूलाई बैठकमा सहभागी गराएका थिए ।

फागुन २१ मा चुनाव गर्नेगरी ६ महिनाको समय तोकेर अन्तरिम सरकार बनेको करिब महिना दिन पुग्न लाग्दा प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग राष्ट्रपतिमार्फत छलफल गरेकी हुन् । गृह मन्त्रालयले जेनजी प्रदर्शनको क्रममा पक्राउ नगर्न र पक्राउ परेकालाई छोडेर दण्डहीनता निम्त्याउन खोजेको नेताहरूले बताए । 

निर्वाचनको वातावरण बनाउन दलहरूले शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई सुझाएको नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताए । ‘सरकारले शान्ति सुरक्षाको व्यवस्था मिलाओस्, निर्वाचन हुन्छ भन्ने दल र मतदातालाई विश्वास दिलाओस्,’ उनले भने, ‘अहिलेकै अवस्थामा निर्वाचन सम्भव छैन ।’ 

चुनावका बारेमा नेपाली कांग्रेस र नेकपा एमालेले निर्णय गरी नसकेको धारणा राखेका थिए । निर्वाचनका प्रमुख हिस्सेदार दल नै भएकाले कुनै पनि दललाई निषेध गर्ने खालको वातावरण बनाउनमा सरकार लागेको सहभागी नेताहरूले टिप्पणी गरेका थिए । 

सरकारकै मन्त्रीहरूले पनि चुनाव हुनेमा निश्चिन्त हुन नसकेको बैठकमा सहभागी अर्का नेताले बताए । दलहरूसँग प्रधानमन्त्रीले नै संवाद गर्नुपर्नेमा अहिलेसम्म कुनै परामर्श नगरेकोमा सहभागी नेताहरूले असन्तुष्टि व्यक्त गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री कार्कीले विभिन्न कारणले गर्दा व्यस्त भएको र राष्ट्रपतिको समन्वयमा सर्वदलीय बैठक बोलाइएको बताएकी थिइन् ।

गृह मन्त्री ओमप्रकाश अर्यालले भदौ २४ को विध्वंशका आरोपितलाई हाजिर जमानीमा छोडिएको र कार्वाही नगर्ने मनशाय नभएको जवाफ दिएका थिए । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई गलत व्याख्या गरिएको टिप्पणी गर्दै अन्य विज्ञप्ति आयोगको क्षेत्राधिकारको विषय भएको स्पष्टीकरण दिएका थिए ।

सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले आफूहरू लोकतन्त्रमा विश्वास गर्ने भएकाले निर्वाचनमा जान सधैं तयार रहेको बताएका छन् । तर अहिलेको सरकारको गतिविधि र सुरक्षा व्यवस्थामा निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुने विषयमा आशंका व्यक्त गरेका छन् ।

बैठकमा राष्ट्रपति पौडेलले दलहरूलाई देश, जनता, लोकतन्त्र र संविधान रक्षाका लागि चुनावमा लाग्न सुझाएका छन् । उनले निर्वाचन एक मात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन दलहरूलाई आग्रह गरेका छन् । ‘राजनीतिक दलहरूमा कुनै दुविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पुर्‍याउँछ भन्ने पनि सोच्नुपर्छ,’ उनले दलका प्रतिनिधिसँग भने, ‘पार्टीहरू दोधारमा नपरी जेनजीको माग पूरा गर्ने वाचासहित जनतामा जानुहोस् ।’ प्रधानमन्त्री कार्कीले दलहरूको सहभागिताविना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको बताइन् ।

उनले स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने दाबी गरिन् । ‘जेनजी हाम्रा छोरा नाति भएकाले उनीहरूको असन्तुष्टि बुझेर परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्छ,’ दलहरूलाई उनको सुझाव छ । निर्वाचित सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएसँगै संसद् विघटन गरी आगामी फागुन २१ मा चुनाव तोक्दै कार्कीले सरकारले नेतृत्व लिएकी थिइन् । प्रतिनिधिसभा विघटनसँगै चुनाव तोकिएपछि देश संक्रमणकालीन अवस्थामा छ । प्रधानमन्त्री बनेकी कार्कीले हालसम्म राजनीतिक दलसँग कुनै पनि परामर्श गर्न सकेकी थिइनन् ।

आगामी प्रतिनिधिसभाको निर्वाचन राजनीतिक दलको सहमति बिना चुनाव सहज पनि देखिँदैन । निर्वाचन आयोगले राजनीतिक दलसँग परामर्श नगरी चुनावी कार्यतालिका सार्वजनिक गरिसकेको छ । बिहीबार राष्ट्रपति निवास पुगेर प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई भेटेकी थिइन् । भेटमा राष्ट्रपति पौडेलले चुनावका लागि राजनीतिक दलसँग छलफल गरी वातावरण तय गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । 

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले चुनावको तयारी गरिरहेको र त्यसअनुसार सरकारले आवश्यक तयारी गरिरहेको जानकारी गराएकी थिइन् । जेनजीले राजनीतिक दलहरूलाई निषेध गरेरै जान सुझाइरहेका बेला कार्की आफूले सक्रिय रुपमा दलहरूसँग परामर्श गर्ने आँट नगरेको बालुवाटार स्रोत बताउँछ । यसैकारण उनले राष्ट्रपतिमार्फत राजनीतिक दलहरूसँग छलफलका लागि मौका मिलाएकी हुन् ।

चुनाव घोषणापछि सरकारले कुनै संवाद नगरेको दलहरूले गुनासो गर्दै आएका थिए । बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट नारायणकाजी र वर्षमान पुन बैठकमा उपस्थित भए । 

रास्वपाबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राप्रपाबाट ज्ञानेन्द्र शाही र बिना लामा, एकीकृत समाजवादीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल, जनमत पार्टीबाट सीके राउत लगायतको उपस्थिति सर्वदलीय बैठकमा उपस्थिति रहेको थियो । सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ, ओमप्रकाश आर्याल र जगदीश खरेल पनि सहभागी भएका थिए ।

भदौ २४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि भदौ २६ मा पूर्व प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा संसद् विघटन गर्दै अन्तरिम सरकार बनेको थियो । चुनावको मुख्य एजेण्डा बोकेर बनेको सरकारमा मन्त्रिमण्डलले पूर्णतासम्म पाइसकेको छैन । चुनावी कार्यतालिका कार्यान्वयनमा सरकार र राजनीतिक दलको सहयोग भएन भने निर्वाचन आयोगले सहज रुपमा चुनाव गर्न सक्दैन ।

आयोगले दलहरूसँग संवाद सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । आयोगले असोज ३० मा छलफल गर्ने जनाएको छ । मुख्य राजनीतिक दलका नेताहरू चुनावप्रति निर्धक्क भैसकेका छैनन् । सरकारले चुनावबारे दलहरूसँग हालसम्म कुनै परामर्श नगरेको गुनासो पनि गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्