सप्तरी, २६ असोज - सप्तरीको सुरुंगा नगरपालिका वडा नम्बर १० थलहामा दुई वर्षदेखि प्रेममा रहेका एक युवक–युवतीलाई स्थानीयले जबरजस्ती विवाह गराएपछि युवतीको जीवन संकटमा परेको छ । विवाहपश्चात् युवक सम्पर्कविहीन भएपछि युवती सामाजिक बहिष्कारमा परेकी छिन् ।
स्थानीयले एकै स्थानमा देखेपछि प्रियंका यादव र नागेन्द्र यादवलाई जबरजस्ती मन्दिरमा लगेर बिहे गराइदिए । विवाहपछिको अवस्था भने दयनीय बनेको छ । युवक नागेन्द्र गाउँबाट फरार छन् भने परिवारले समेत प्रियंकालाई स्वीकार नगरेपछि प्रियंका एक छिमेकीको घरमा आश्रित जीवन बिताइरहेकी छन् ।
प्रियंकाका अनुसार, उनीहरूबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो । ‘सानैदेखि एकै विद्यालयमा पढेका थियौँ । ६ वर्ष अघि दश कक्षा पास गरेपछि उनी भेटेरिनरी पढ्न गएका थिए, म भने गाउँमै बसेँ,’ उनले भनिन्, ‘दुई वर्ष अघि उसले प्रेम प्रस्ताव राखेको थियो, म सहमत भएँ । त्यसपछि उसैले मोबाइल र सिम कार्ड समेत उपलब्ध गराएको थियो ।’
प्रेम सम्बन्ध गहिरिएपछि भागेर बिहे गर्ने योजना भएपनि प्रियंकाले परिवारलाई विश्वासमा लिएर विवाह गर्ने प्रस्ताव राखेकी थिइन् । तर, भदौ १५ गते कृष्णजन्माष्टमीको मेलामा एकसाथ देखिएपछि गाउँलेले नागेन्द्रलाई कुटपिट गर्दै मन्दिरमा लगेर जबरजस्ती विवाह गराए ।
‘हामी बिहेका लागि तयार थिएनौँ, तर गाउँलेको दबाबमा विवाह भयो । पछि दुबैका परिवार आएका थिए तर नागेन्द्रको परिवारले मलाई अपनाएन,’ प्रियंकाले भनिन् । इलाका प्रहरी कार्यालय कडरबोनामा भएको छलफलमा वडाध्यक्ष, पूर्ववडाध्यक्ष र दुबै पक्षका प्रतिनिधिहरूले मिलेर नौ सदस्यीय समिति बनाएर गाउँमै समाधान खोज्ने प्रयास भए पनि समाधान नभएको वडाध्यक्ष चन्द्र नारायण यादवले बताए ।
वडाध्यक्षका अनुसार छलफलमा नागेन्द्रले दुई वर्ष प्रेम सम्बन्ध रहेको स्वीकारे पनि प्रियंकालाई घरमा राख्न नसक्ने बताएका थिए । गाउँलेको दबाबमा उनले ‘६ महिनापछि घरमा ल्याउने’ भनेका थिए । तर, त्यसयता उनी सम्पर्कविहीन छन् । प्रियंका हाल नागेन्द्रको घरमै बसेकी छन् ।
उनका अनुसार, सासु–ससुरा घर छाडेर गएका छन् र उनीमाथि व्यवहारिक दुव्र्यवहार भइरहेको छ । ‘माइतीबाट भाइले खाना ल्याइदिन्छन् । बत्ती बाल्न दिइँदैन, चपाकल बिग्रेको छ, कसैले केही सुनुवाइ गर्दैन,’ प्रियंकाले भनिन् ।
नागेन्द्रको परिवारले भने उनीहरूलाई जबरजस्ती विवाह गराइएको दाबी गर्दै छोराले प्रेमवश नभई दबाबमा विवाह गरेकाले स्वीकार नगरेको स्पष्ट पारेका छन् । उनका बुबा बमभोला यादवले छोरालाई भगाएको आरोप अस्वीकार गर्दै भने, ‘हाम्रो आपत्ति छैन, तर जबरजस्ती विवाह भएकाले उसले मानिरहेको छैन ।’
प्रेम सम्बन्धमा रहेर विवाह गरेका तर अब पति सम्पर्कविहीन भएका कारण प्रियंका अहिले न्यायको खोजीमा छिन् । ‘मलाई यस्तै अवस्थामा छोड्न पाइँदैन । हाम्रो विवाह भइसकेको छ, अब उहाँसँगै बस्न पाउनुपर्छ,’ प्रियंकाको आग्रह छ ।