नेभिगेशन
दृष्टिकोण

लुटिएका हतियार, भागेका कैदी, आतंकित समाज र निष्पक्ष निर्वाचन

नेपालको राजनीतिमा जेनजी आन्दोलनले एकैदिनमा आँधी बेहरी सिर्जना गरिदियो । मिसन ८४ भनेर ढुक्कसँग घाममा ढाड सेकेर बसेका दलहरू अहिले नै निर्वाचनमा धकेलिन बाध्य भए । भ्रष्टाचार अनाचार दुराचार नातावाद कृपावादको अन्त्य हुने आशाको दियो नेपाली जनताका मनमा फेरि सल्कियो । 

यी र यस्ता कतिपय कुरा जेनजी आन्दोलनका राम्रा पक्ष थिए भने केही नराम्रा र दीर्घकालीन रूपमा देशलाई हानी हुने पक्ष पनि देखिए । यसक्रममा युवा र किशोरहरूको ज्यान जानु, सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायत राज्यका विभिन्न निकाय र निजी सम्पत्तिमा गरिएको तोडफोड आगजनीबाट पुगेको खति कुनै कोणबाट पनि सही ठहर्दैन । 

यत्रो क्षति भोगेर पनि दलका नेता कार्यकर्ता मात्र होइन दलसम्बद्ध बौद्धिक पक्षले पनि जेनजी आन्दोलनले दिएको सन्देशलाई अझै आत्मसात् गर्न नसक्नु आश्चर्यको विषय मान्नुपर्छ । अर्कोतर्फ यसले तथ्यपरक र वस्तुनिष्ठ विश्लेषण गर्न नसकेको यथार्थ पनि जगजाहेर गरेको छ । यस्तो अवस्थामा मुख्य दलका मुख्य नेताको कुरा गर्नु पनि अप्रशांगिक देखिन सक्छ ।

जनताले आफ्नो तर्फबाट मत दिएर सरकार निर्माणको आदेश दिएपछि प्रजातान्त्रिक व्यवस्थामा एउटा सशक्त प्रतिपक्षको व्यवस्था हुनुपर्ने प्रावधान र अभ्यासको धज्जी उडाउँदै पालैपालो सरकारमा जाने जुन ‘म्युजिकल चेयर’को खेलझैं सत्ता लोलुपतामा दल र तिनका नेता लिप्त भए त्यसले नेपाली समाजलाई दिएको प्रताडनाबाट उन्मुक्ति दिने श्रेय जेनजी आन्दोलनलाई नै जान्छ । 

यो आन्दोलनका क्रममा सरकारले अनपेक्षित रूपमा क्रूर दमन गर्‍यो भने अर्कोतिर जेनजीका युवा तथा जेनजी युवाको आवरणमा भएको घुसपैठका कारण सरकारी भवन र निकायबाहेक प्रहरी चौकी तोडफोड मात्र भएन हतियार नै लुटियो ।

आन्दोलनका क्रममा भएको लुटपाटमा काठमाडौंसहित देशभरका विभिन्न ठाउँका प्रहरीका ब्यारेक र कार्यालयबाट ११ सय थान हतियार लुटपाट भएको जनाइएको छ । आन्दोलन भड्किँदा काठमाडौं उपत्यका प्रहरी कार्यालयसहित देशभरका ४ सय ५५ वटा ब्यारेक तथा कार्यालय आगजनी र लुटपाटमा परेका थिए । 

त्यो क्रममा १ सय ९७ कार्यालय पूर्णरूपमा र २ सय ५८ कार्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका थिए । सुरक्षा निकायबाट लुटिएका हतियारले समाजमा सन्त्रासको वातावरण सिर्जना भएको छ । यसै क्रममा शनिबार झापाको कमल गाउँपालिका–७ रंगपुरस्थित केराबारीबाट ५५ राउण्ड गोली फेलापरेको घटना सार्वजनिक भएको छ । झापाबाटै प्रहरीले लुटिएको हतियारसहित आठ जनालाई पक्राउ गरेका खबर पनि आएको छ । 

सोचनीय कुरा के छ भने सो हतियार दमक नगरपालिका–३ मा रहेको भुटानी शरणार्थी शिविरबाट बरामद भएको छ । यसले नेपालबाट लुटिएका हतियार कतै सीमापारका आतंकवादी गतिविधिमा समेत उपयोग हुने र त्यसै निहुँमा सीमा क्षेत्रमा समेत असहज वातावरण उत्पन्न हुने डर पनि देखिएको छ ।

प्रहरीका हतियार अहिले तराईका विभिन्न जिल्लाबाट बरामद भइरहेको देखिँदा त्यस्तो आशंका बढेको हो । कैलाली र झापामा लागूऔषध कारोबारीसँग हतियार फेला परेका घटनाले हतियार लागूऔषध कारोबारीको हातमा पुगेको आंशका प्रहरीको छ । प्रहरीले बनाएको छानबिन समितिले देशभरबाट १२ सय ८१ हतियार लुटिएको जनाएको छ । 

त्यसमध्ये काठमाडौंबाट मात्रै एकहजार १७ थान हातियार लुटिएका थिए । लुटिएकामध्ये सबैभन्दा धेरै साना हतियार छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सटगन १ सय १७ थान, पेस्तोल ३ सय ४६ थान, रिभल्बर ७५ थान लुटिएका थिए । त्यसबाहेक राइफल ५ सय ५४, ग्याँस गन १ सय ५९, टेजर गन ३० वटा लुटिएका थिए । लुटिएकामध्ये करिब तीन सय हतियार मात्र प्रहरीले विभिन्न ठाउँबाट बरामद भएको अवस्था छ ।

अर्कातिर जेनजी आन्दोलनका क्रममा भागेका हजारौं कैदीबन्दी पनि पक्राउ नपरेको अवस्थाले समाज आतंकित भएको छ । जेनजी प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागारबाट भागेका पन्ध्र हजार कैदीबन्दीमध्ये पाँच हजार ५ सय ३७ जना अझै फिर्ता नआएको अवस्था छ । 

यो अवस्था किन संवेदनशील छ भने अन्तरिम सरकारले निर्वाचन गराउन पाएको ६ महिनाको समयमा एक महिना बितिसकेको र अब शान्तिपूर्णरूपमा चुनाव गराउन पाँच महिना मात्र बाँकी छ । यस्तो अवस्थामा भगौडा कैदीबन्दी र लुटिएका हतियारले सुरक्षा संवेदनशीलताको प्रश्नलाई कायमै राखेको छ । जुन प्रश्नका प्रष्ट उत्तर नआएसम्म मतपत्रमा भयरहित छाप नलाग्ने कुरा छर्लंग छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्